हाइब्रिड मोडलमै हुने भयो एसिया कप, भारत र पाकिस्तानसँग भिड्दै नेपाल
काठमाडौं । लामो समयको अन्योल चिर्दै एसिया कप क्रिकेटको आयोजनास्थल निश्चित भएको छ । एसियन क्रिकेट काउन्सिलले पाकिस्तान र श्रीलङ्कामा प्रतियोगिता गर्ने लगभग टुंगो लगाएको हो ।
क्रिकइन्फोले जनाएअनुसार पाकिस्तानी क्रिकेट बोर्डले प्रस्ताव गरेको ‘हाइब्रिड मोडल’ लाई एसीसीले स्वीकृत गर्ने भएको छ । यसअनुसार प्रतियोगिताका १३ मध्ये ४ वा ५ वटा खेलहरू मात्र पाकिस्तानमा हुनेछन् । बाँकी खेलहरू श्रीलङ्कामा आयोजना हुने भएको छ ।
प्रतियोगितामा भारतले सबै खेल श्रीलङ्कामा खेल्नेछ । यदि भारत फाइनलमा पुगेको खण्डमा फाइनल पनि श्रीलंकामा नै हुनेछ ।
यो सप्ताहान्तपछि प्रतियोगिता आयोजनास्थलबारे एसीसीले आधिकारिक घोषणा गर्ने क्रिकइन्फोले जनाएको छ । प्रतियोगिताको आयोजना १ देखि १७ सेप्टेम्बरभित्र हुने जनाइएको छ । पाकिस्तानमा हुने खेलहरू लाहोरमा खेलाइनेछन् ।
पाकिस्तान र भारतबीचको राजनीतिक विवादले एसिया कप प्रभावित बनेको थियो । भारतले पाकिस्तानमा हुने प्रतियोगितामा आफ्नो टिम नपठाउने अडान लिएपछि प्रतियोगिता नै अन्योलमा परेको थियो । पाकिस्तानले गरेको हाइब्रिड मोडलमा एसीसीले रुचि देखाएको थिएन । पाकिस्तानले सुरुमा युएईलाई दोस्रो आयोजनास्थलका रूपमा अघि सारेकोमा बंगलादेशले त्यहाँको उच्च तापक्रमलाई देखाएर असहमति जनाएको थियो ।
पाकिस्तानी क्रिकेट बोर्डका प्रमुख नजाम सेठीले दुई साताअघि एसीसीका उपाध्यक्ष तथा ओमान क्रिकेटका प्रमुख पंकज खिमजीलाई हाइब्रिड मोडलको विस्तृत प्रस्ताव पेश गरेका थिए ।
नेपालले पनि एसिया कपमा पहिलो पटक भाग लिँदैछ । यो प्रतियोगितामा नेपालले समूह चरणमा भारत र पाकिस्तानसँग भिड्ने छ । अर्को समूहमा श्रीलङ्का, बंगलादेश र अफगानिस्तान छन् । दुवै समूहबाट दुई वटा टोली सुपर फोरमा जानेछन् । सुपर फोरबाट टप २ टिम फाइनलमा प्रवेश गर्नेछन् ।
भारत फाइनल नपुगेको खण्डमा फाइनल खेल कहाँ हुनेछ