पोखरामा ३ दिनदेखि सडकमै थुप्रियो फोहोर – Nepal Press

पोखरामा ३ दिनदेखि सडकमै थुप्रियो फोहोर

पोखरा । पोखरा महानगरपालिकामा ३ दिनदेखि फोहोर उठेको छैन । महानगरको बजार क्षेत्रको सडक छेउमा थुप्रिएको फोहोर शुक्रबारदेखि नउठेको हो ।

ल्यान्डफिल साइटमा फोहोर पुर्न महानगरले भाडामा लिएको एक्साभेटरको इन्धन मूल्य नपाएपछि फोहोर नउठेको सरसफाइ शाखा प्रमुख कल्पना बरालले जानकारी दिइन् । गत फागुन १५ देखि वैशाख १५ सम्मको रकम भुक्तानी गर्न बाँकी रहेको उनको भनाइ छ ।

महानगरले एक्साभेटरको मासिक ४ लाख रूपैयाँ भाडा तिर्ने र इन्धन घण्टाको आधारमा दिने सम्झौता भएको सरसफाइ शाखा प्रमुख बरालले बताइन् ।

‘दिनुपर्ने पहिला नै हो । आकस्मिक हिसाबमा काम गर्न पर्छ । खरिदको सिस्टम मिल्दैन । लेखाले दिन गाह्रो मान्छ,’ बरालले भनिन्, ‘नदिइ फोहोर उठ्दैन ।’

लामेआहालका बुद्धिमान गुरुङको एक्साभेटर भाडामा लिएर महानगरले फोहोर पुर्दै आइरहेको थियो । गत पुसदेखि महानगरपालिकाको फोहोर पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा फोहोरमैला व्यवस्थापन हुँदै आइरहेको छ ।

गत ३ दिनदेखि फोहोर नउठेसँगै पोखराका बजार क्षेत्रमा दुर्गन्धित बनेको छ । सडक छेउमा थुप्रिएको फोहोरले बजार क्षेत्रनै दुर्गन्धित बनाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर