एमालेले माग्यो गेटा विश्वविद्यालय सम्बन्धी प्रदेश सरकारको धारणा
कैलाली । नेकपा एमालेका प्रदेश सभा सदस्य धर्मराज पाठकले शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने बिषयमा प्रदेश सरकारको स्पष्ट धारणा माग गरेका छन् । आजको प्रदेश सभा बैठकमा उनले अहिले सम्म पनि सरकारले आफ्नो आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै तत्काल यस बिषयमा प्रस्ट पार्न आग्रह गरेका हुन् ।
गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै आन्दोलन हुँदा पनि प्रदेश सरकार गम्भीर नभएको उनले आरोप लगाए ।
‘गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनुपर्ने माग गर्दै भइरहेका आन्दोलनमा नेकपा एमालेको ऐक्यबद्धता छ तर यसबारे प्रदेश सरकारको धारणा के हो ?’ पाठकले भने, ‘हामीले यसअघिको बैठकमा पनि सरकारको धारणा मागेका थियौँ तर अहिलेसम्म केही आएको छैन । सभामुख महोदय धारणा सार्वजनिक गर्न सरकारलाई निर्देशन गरियोस् ।’
संघीय सरकारको नीति तथा र बजेट समेतमा समेत फरक फरक ढंगले व्याख्या भएको भन्दै प्रदेश सरकारले यसमा चासो दिनु पर्ने पाठकले बताए ।
‘१०० शय्याको अस्पताल बनाउने हो त्यसलाई विश्वविद्यालय बनाउने हो त्यसको धारणा आउनु पर्छ’ उनले भने । नीति तथा कार्यक्रममा सरकारले गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने उल्लेख गरेको थियो तर, बजेट भाषणमा भने १०० शैश्याको मेडिकल कलेज सञ्चालन गर्ने बताएपछि यहाँ आन्दोलन सुरु भएको छ ।
शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन आज सुदूरपश्चिममा आम हड्तालको आह्वान गरिएको छ ।