अख्तियारको क्षेत्राधिकार र प्रेम राईविरुद्ध मिडिया प्रोपोगाण्डा
सञ्चार जगत जनतामा प्रोपोगाण्डा फैलाउन र समाजलाई बहकाउन सफल साधनसिद्ध भएको देखिन्छ । अझै नकारात्मकताले गाँजेको नेपाली समाजको चरित्रअनुसार नेपाली मिडिया जगतले खुराक पस्कँदै समाजलाई आपराधिक मार्गमा डोर्याउन सफल भएको देखिन्छ । सफलताका गाथाभन्दा नकारात्मक असफलताका कथा बिक्ने नेपाली समाजमा मिडिया व्यवसाय दिन दुई गुणा रात चौगुना फस्टाएको छ । समाजको जगदेखि शासन व्यवस्थाको टुप्पोसम्म सकारात्मक सोच भएको कोही देखिँदैन । नकारात्मक सोचको सैतानले डेरा जमाएको समाजका उपज मिडियाकर्मी पनि सकारात्मक हुने, अध्ययन गरेर सत्यतथ्य कुरा पस्कनेभन्दा झूट र कपोकल्पित सूचनामै रमेको देखिन्छ ।
कसलाई सिध्याउने र कसलाई सफल बनाउने भनेर मिडिया जगतले राम्रो गृहकार्य गरेको देखिन्छ । ‘दूधको रङ्ग कालो हुन्छ’ सम्म भनेर ढाँट्न सक्ने क्षमता नेपाली मिडियासँग छ । छद्म भेषको वैदेशिक लगानीले दिने खुराकले नेपाली जनताले सत्य समाचारभन्दा मिडियाले दिने गलत तथ्याङ्कले आफ्नो धारणा बनाउनाले समाज विखण्डित हुँदै गइरहेको छ । सत्य जान्न र बुझ्न नखोज्ने, अध्ययन नगर्ने, अनुसन्धान नगरी लहडीहरूको भीड जम्मा गरी समाजको नै हुर्मत लिने नकारात्मक चेतका नाइके मिडियाले राष्ट्रलाई दिशानिर्देश गर्न सक्दैनन् ।
पछिल्लो समय भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि नेपाली केही मिडियाको वास्तविक रूप उदांगो भएको छ । अध्ययन र अनुसन्धानविना ती मिडियाले गोदी मिडियाको सिको कसरी गरिरहेका छन् छर्लङ्ग भएको छ । दलाल, बिचौलियाका हल्काराका रूपमा स्थापित नेपाली मिडिया न्याय र कानूनको गहिराइमा समेत नपुगी कसैले दशकौं लगाएर बनाएको नैतिकताको धरातल सिध्याउन लागिपरेको देखिन्छ ।
वर्तमान समयमा मिडिया प्रोपोगाण्डाको शिकार भइरहेका एक पात्र हुन् अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख तथा तत्कालीन गृह सचिव प्रेमकुमार राई । राई नेपाली कर्मचारीतन्त्रमा आदर्श पात्र हुन् । नवआगन्तुक नेपाली युवा प्रशासकमा प्रेम राई जस्तो बन्ने भूत सवार छ । त्यसलाई खण्डित गर्ने गरी नेपाली मिडिया कसैको निर्देशनमा नेपालमा कोही पनि नैतिकवान छैनन् भन्ने भाष्य निर्माण गरी नेपाली प्रशासन क्षेत्रको हुर्मत लिन तल्लीन छ ।
पत्रकारिताको नाममा अकुत असुली गर्ने के‘सुकुलगुण्डा’मा रूपान्तरित हुँदै गरेको केही समूहको प्रवृत्तिले नेपाली सञ्चार जगतमा विश्वासको खडेरी लागेको छ । अरूका कुरै छोडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट सुशासनको क्षेत्रमा राम्रो काम गरेको भनेर पुरस्कृत हुने पत्रकारले समेत अहिलेसम्म भ्रष्टाचार के हो र संगठित अपराध के हो बुझेको देखिएन या ती कतैबाट परिचालित गोटीमात्र हुन् ? नेपालको संविधान र कानूनले अपराधमा कसको कार्य क्षेत्र के हो भन्ने परिभाषित गरेको अवस्थामा समेत संगठित अपराध अख्तियारले हेरेन भनेर प्रेम राईको बदनाम गर्न भ्याएका छन् केही सञ्चारकर्मी र सञ्चारमाध्यमले ।
पछिल्लो समय भुटानी शरणार्थी प्रकरण बाहिरिएपछि नेपाली केही मिडियाको वास्तविक रूप उदांगो भएको छ । अध्ययन र अनुसन्धानविना ती मिडियाले गोदी मिडियाको सिको कसरी गरिरहेका छन् छर्लङ्ग भएको छ ।
तर, सबै खालका अपराध अख्तियारले हेर्ने भए अरू सबै सरकारी संयन्त्र खारेज गरौं भन्न सकेको चाहिँ देखिएन । संगठित अपराध, ठगी जस्ता प्रहरीले अनुसन्धान गर्ने खालका अपराध पनि अख्तियारकै क्षेत्र हुने हो भने राज्यले अर्बौं बजेट खर्च गरेर सुरक्षा निकाय, अनुसन्धान गर्ने अन्य निकाय किन खडा गर्ने ? बन्द गरौं । प्रहरीले समेत सस्तो लोकप्रियताका लागि अनुसन्धानका सूचना चुहाउने, कुनै व्यक्तिको बदनाम गराउने र हिरासतमा भएका आरोपितलाई जबरजस्ती बयान गर्न लाउने जुन हर्कत गरेको देखियो, यसले समेत नेपालमा अपराध अनुसन्धानमा कतिसम्म चलखेल हुन्छ भन्ने प्रस्ट पारेको छ ।
शरणार्थी प्रकरणमा जुनसुकै विषय भ्रष्टाचार हो, अख्तियारले किन हेरेन भन्ने भ्रामक समाचार बनाइ अपूरो भाष्य निर्माण गरी अख्तियार र त्यसको नेतृत्वको बदनाम गराउन खोजेको देखिन्छ । नेपालको संविधान र कानून केलाउने हो भने भुटानी शरणार्थीको मुद्दा अख्तियारको कार्यक्षेत्रको क्षितिजमा कहींकतै देखिँदैन । संविधान र कानूनको व्यवस्थालाई हेरौं त एक पटक के लेखिएको छ ।
नेपालको संविधानको भाग २१ धारा २३९ (१) मा कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरूपयोग गरेको सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कानूनबमोजिम अनुसन्धान गर्न वा गराउन सक्नेछ । तर, यस संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारी र अन्य कानूनले छुट्टै विशेष व्यवस्था गरेको पदाधिकारीको हकमा यो उपधारा लागू हुनेछैन । यसरी संविधानले नै पहिलेदेखि हेरी आएको अधिकार कटौती गरी दाराविनाको बाघ बनाइ कर्मचारीभन्दा बाहिर अनुसन्धान गर्न नसक्ने व्यवस्था संविधानले नै गरेको छ । यसमा संगठित अपराध कसरी अख्तियारको कार्यक्षेत्र हुन पुग्यो ? कुरो बुझ्न सकिएन ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को व्यवस्था हेरौं । भ्रष्टाचारमा के के पर्छ वा अख्तियारको क्षेत्राधिकार २२ वटा (भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २, दफा ३ देखि २४ सम्म) र भ्रष्टाचारको कसुर र सजायसम्बन्धी रहेको प्रस्ट छ ।
- दफा ३ः रिसवत लिने दिने ।
- दफा ४ः विनामूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने राष्ट्रसेवक ।
- दफा ५ः दान दातव्य उपहार वा चन्दा ।
- दफा ६ः कमिसन लिने ।
- दफा ७ः राजस्व चुहावट ।
- दफा ८ः गैरकानूनी लाभ वा हानी बदनियत ।
- दफा ९ः गलत लिखत तयार गर्ने राष्ट्रसेवक ।
- दफा १०ः गलत अनुवाद ।
- दफा ११ः सरकारी कागजात सच्याउने ।
- दफा १२ः सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान ।
- दफा १३ः प्रश्नपत्र गोपनीयता भङ्ग, परीक्षा परिणाम फेरबदल ।
- दफा १४ः गैरकानूनी व्यापार व्यवसाय ।
- दफा १५ः नपाएको ओहोदा पाए भन्ने ।
- दफा १६ः झूटा विवरण दिने ।
- दफा १७ः सार्वजनिक सम्पत्ति हानीनोक्सानी ।
- दफा १८ः गैरकानूनी दबाब ।
- दफा १९ः गलत प्रतिवेदन ।
- दफा २०ः गैरकानूनी सम्पति आर्जन ।
- दफा २१ः उद्योग ।
- दफा २२ः मतियार ।
- दफा २३ः संगठित संस्थाबाट भएको कसुर ।
- दफा २४ः थप सजाय ।
संगठित अपराध अख्तियारले हेरेन भनेर प्रेम राईको बदनाम गर्न भ्याएका छन् केही सञ्चारकर्मी र सञ्चारमाध्यमले । तर, सबै खालका अपराध अख्तियारले हेर्ने भए अरू सबै सरकारी संयन्त्र खारेज गरौं भन्न सकेको चाहिँ देखिएन ।
भष्टाचार निवारण ऐनले गरेको माथिको व्यवस्थामा ठगी व्यवस्था कहींकतै अख्तियारले हेर्ने लेखेको छैन । कानूनबमोजिम सञ्चालित संस्थाले कानूनमा लेखिएको भन्दा बाहिर गएर काम गर्न मिल्छ र ? हरेक सरकारी निकायका काम, कर्तव्य र अधिकार कानूनले नै प्रस्ट पारिदिएको हुन्छ र त्यही कानूनको अधिनमा रही कार्य गर्ने हो सार्वजनिक निकायले । यति कुरा पनि केही मिडिया र मिडियाकर्मीले बुझेको देखिएन । कि बुझ पचाएका हुन् ?
माथि उल्लेखित व्यवस्थामा नक्कली भुटानी शरणार्थी ठगीको कुरा कुन चाहिँ व्यवस्थाले समात्छ ? अख्तियार र यसका प्रमुखलाई आरोप लगाउने पत्रकार र मिडिया आओस् न खुला बहस गरौं ! व्यक्तिको चरित्र हत्या गर्ने हेतु बेतुकमा परिचालित दास हुनुभन्दा तथ्यमा बसेर सत्य समाचार लेखौं न । कुनै पनि काम गरिरहँदा व्यक्तिमाथि प्रहार गरिरहँदा त्यसले राष्ट्रमाथि के असर गर्छ भन्ने पनि ख्याल गरौं न । कुरा प्रेम राईको मात्र होइन, अख्तियारलाई अहिले कमजोर बनाउन थालियो भने उसै त भ्रष्टचारले गाँजेको समाज भोलि कता जाला ? संस्था मजबुत बनायौं भने मात्र लोकतन्त्र फस्टाउन सक्छ । त्यसका लागि सबैले आआफ्नो ठाउँबाट सकारात्मक प्रयास गर्नुपर्ने होइन र ?
शरणार्थी प्रकरणमा भएका ठगी, कीर्ते र संगठित अपराध कसरी अख्तियारको क्षेत्र होइन, यो कसरी नेपाल प्रहरीको क्षेत्राधिकार हो ? मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ मा ठगीसम्बन्धी कसुर र परिच्छेद २५ मा गलत लिखत कीर्तेसम्बन्धी विषय उल्लेख छ । यी दुवै परिच्छेद मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ मा पर्दछ र अनुसूची १ अन्तर्गतको मुद्दा नेपाल प्रहरीले अनुसन्धान तथा तहकिकात गर्ने व्यवस्था दफा ४ मा उल्लेख छ ।
त्यसैगरी संगठित अपराध निवारण ऐन, २०७० को दफा ११ अनुसार संगठित अपराधको मुद्दा पनि प्रहरी अधिकृतले हेर्ने व्यवस्था रहेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रतिवेदन कानूनअनुसार अनुसन्धान तहकिकात गरी नेपाल प्रहरीले सरकारी वकिललाई बुझाएको र सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । तर, आवश्यकताअनुसार छानीछानी बयानको अंश सञ्चारमाध्यमहरुलाई उपलब्ध गराएर कसैको चरित्र हत्या गर्ने र स्वतन्त्रतापूर्वक काम गर्न नदिने धमिलो वातावरण निर्माण गर्न खोजेको देखिँदैछ ।
खास गरी वर्तमान समयमा मिडियाले उचालेका विषय कुनै अमुक दलसँग सम्बन्धितहरूसँग मात्र जोडिएकाहरुलाई बदनाम गर्छ । यो प्रकरणमा पक्राउ परेका केही दल निकटसँग कुनै दलका प्रभावशाली नेताहरुले पटक-पटक जेलमा भेटेका थिए । त्यसले नै स्पष्ट हुन्छ, पूरै संयन्त्र नै कुनै दलका विरुद्ध उसलाई कसरी प्रयोग गरियो ? अर्कोतिर अरु पार्टीसँग जोडिएकाहरुको अडियो बाहिरिँदासमेत छानविन भएन । योजनाबद्ध रुपमा कसैको उक्साहटमा दिएको बयानलाई तथ्य जसरी सार्वजनिक गरेर प्रोपोगान्डा गरिँदैछ र त्यो प्रोपोगान्डाको प्रायोजक सरकारी निकाय नै देखिएका छन् भने मतियार मिडिया जगत बन्दैछ ।
प्रहरीले समेत सस्तो लोकप्रियताका लागि अनुसन्धानका सूचना चुहाउने, कुनै व्यक्तिको बदनाम गराउने र हिरासतमा भएका आरोपितलाई जबरजस्ती बयान गर्न लाउने जुन हर्कत गरेको देखियो, यसले समेत नेपालमा अपराध अनुसन्धानमा कतिसम्म चलखेल हुन्छ भन्ने प्रस्ट पारेको छ ।
अख्तियारको पछिल्लो सक्रियता जनभावनाअनुसार अगाडि बढेको देखिन्छ । ठूल्ठूला भ्रष्टाचारको मुद्दा अगाडि बढाउँदै अदालतमा मुद्दा हालेपछि प्रताडित भएकाहरुले यही मौकामा चौका हान्न सकिन्छ कि भनेर कतिपय अख्तियारविरुद्ध लागेको देखिन्छ । पछिल्लो समय अख्तियारले सयौं भ्रष्टलाई अदालतसमक्ष सत्यतथ्य प्रमाणका आधारमा मुद्दा चलाएको छ । तरल अवस्थाको उपयोग गर्दै भ्रष्टहरु आफू उम्कन पनि सत्यतथ्य बाहिर नआउँदै यस्ता फन्डाहरु ल्याउँछन् र आफूलाई फसाइएको देखाउन ठूलो लगानी गरी गलत सूचना र भ्रम फैलाउँछन् ।
यतिबेला नियत राम्रो राखेर काम गर्ने अख्तियारका प्रमुख प्रेमकुमार राईको काम भ्रष्टाचारीलाई मन परेको छैन । बेला यही हो भनेर अहिले धेरै भ्रष्टहरु सल्बलाउँदैछन् । सत्यतथ्य बाहिर आउनुपर्छ । यो नाममा ठूला भ्रष्टाचारलाई बचाउनुहुन्न । भ्रष्टहरु उम्केलान्, सचेत हुनुपर्छ । आवेग र उत्तेजनामा आई गलत निर्णय लिने बेला होइन । भुटानी शरणार्थी प्रकरणमा समस्या देखिएपछि तत्कालीन गृह प्रशासनले सहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा सुझाव दिन कार्यदल निर्माण गर्यो । कार्यदल निर्माण गर्नु नै समस्या हो भने कुनै पनि समस्यामा कुनै काम नगरी आँखा चिम्लेर बस्ने कि समाधानका लागि पहलकदमी लिने ?
पछिल्लो घटनाक्रमले त समस्यामा पहलकदमी लिने नै दोषी हुन् भन्ने भाष्य निर्माण गर्न खोजिँदैछ । यदि यस्तो प्रोपोगान्डाको शिकार निर्भिक प्रशासक हुँदै जाने हो भने भोलिका दिनमा कुनै प्रशासकले कुनै सुधारको आँट गर्न सक्ला ? कुरोको चुरो बुझ्न नखोजे जस्तो देखिन्छ । गृहमा को को बस्दा के के काम भए घाम झै छर्लङ्ग हुँदा पनि अनावश्यक प्रोपोगान्डा झिकेर बदनाम गराउन केही सिल्पटहरू लागि परेको देखिन्छ ।
केही ठगहरूले तीन करोड पैसा बुझाएको बयान गरे रे ? एक करोडमा करिब १७ केजी रूपैयाँ हुने अनुमान गरिन्छ भने तीन करोड हुन ५१ केजी हुनुपर्यो । आधा क्विन्टल रूपैयाँ पक्कै पनि बोरामा आएको थिएन होला । गृह सचिवको गाडी चौरमा डिक्की खोलेर त राखेको थिएन होला । तीन करोड राखेको गाडीको नम्बर त दिनेले पक्कै टिपेको होला । खै त विवरण ? गृह सचिवको गाडीमा मन्त्रालय अगाडि बोरामा पैसा राख्दा गृह मन्त्रालयको सुरक्षा गर्ने सुरक्षाकर्मी के हेरेर बसेको थियो होला ? कि ती सुरक्षाकर्मीलाई पनि पैसा बाँडिएको थियो ? होइन भने सीसीटीभी क्यामेरा थियो होला, कतै रेकर्ड छ कि खोज्न सकिँदैन ?
गृह मन्त्रालयको सुरक्षा गर्ने भनेर मन्त्रालयमा सर्वसाधारण जाँदा तीन ठाउँमा चेकजाँच गर्ने सुरक्षाकर्मीले गृह सचिवको गाडीमा नचिनेको व्यक्तिले डिक्की खोली पैसाको बोरा राख्दासम्म किन चाल पाएन ? सुरक्षा निकाय के हेरेर बसेको थियो? भनेपछि हाम्रो सुरक्षा निकाय त्यति निकम्मा छ ? जहाँ गृह सचिवको गाडी खोलेर बोराका बोरा संकास्पद सामान राखुञ्जेल चाल नपाउने ? यो घटनाले झन डरलाग्दो अवस्था उजागर भएन र ? यसले त कोही कसैले गृह सचिवको गाडीमा बम राखेर पड्काउन पनि सक्ने रहेछ, हतियार राख्न सक्ने रहेछ भने सुरक्षा निकायको काम चाहिँ के हो ? प्रश्न त्यता उठाउनुपर्ने होइन र ? यो देशमा कोही सुरक्षित रहेनछ भन्ने यसले देखाउँदैन ?
कुरा प्रेम राईको मात्र होइन, अख्तियारलाई अहिले कमजोर बनाउन थालियो भने उसै त भ्रष्टचारले गाँजेको समाज भोलि कता जाला ? संस्था मजबुत बनायौं भने मात्र लोकतन्त्र फस्टाउन सक्छ । त्यसका लागि सबैले आआफ्नो ठाउँबाट सकारात्मक प्रयास गर्नुपर्ने होइन र ?
अनावश्यक हल्ला गर्ने र व्यक्तिको चरित्रहत्या गर्ने काममा केही उरेन्ठ्याउला मिडिया लागेको देखिन्छ । यसले समग्र लोकतान्त्रिक संस्थालाई नै हानी गरिरहेको छ । व्यक्तिको चरित्र हत्या गर्ने योजनामा अख्तियारको समेत मानमर्दन गर्ने हर्कत भइरहेको देखिन्छ । पछिल्लो समय अख्तियार सक्रिय हुन थाले पछि रन्थनियका बिचौलिया, दलालहरू आत्तिएपछि यो खालको चलखेल गरेको प्रस्ट नै बुझिन्छ । हाल बहालमा रहेका वा पूर्वकर्मचारीको गिरोह नै लागेको खबर बाहिरिनुले व्यक्तिमाथि कुन हदसम्मको चलखेल हुन्छ भन्ने देखाएको छ । प्रेम राईलाई हटाउन पाए म नियुक्त हुन पाउँथें भन्ने सपनाले समेत काम गरेको देखिन्छ । नियुक्तिको भ्रम पालेका पूर्वप्रशासकहरुले बुझ्नु पर्ने कुरा के हो भने अहिले अरूमाथि चलाएको हतियार भोलि आफैंमाथि पनि बज्रिन्छ ।
मुख्य ठूला दलका नेता, उपप्रधानमन्त्री, मन्त्री र जिम्मेवार सचिवको संलग्नताको पुष्टिबारे अनुसन्धान हुन थालेपछि अनुसन्धानको सुई अन्य क्षेत्रमा सक्रिय रहेका व्यक्तितिर पनि सोझिएको छ । राज्यद्रोहको कार्यले आफू फसिने र क्यारियर नै समाप्त हुने भएपछि कतिपयले आफ्नो बचाउका लागि पनि अन्धाधुन्ध रुपमा अन्य व्यक्तिको नाम पोल्ने र मुद्दालाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको देखिन्छ । पुष्टि हुन नसक्ने तर तथाकथित रुपमा बोलेर त्यस्ता व्यक्तिहरुको बदनाम गराउने र निर्भिकताका साथ काम गर्न नदिने अनि असक्षम बनाउने चलखेल पनि सुरु भएको देखिन्छ ।
गृह मन्त्रालयसँग सम्बन्धित नक्कली शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रुपमै देशको छविलाई धुमिल बनाइदिएको छ । यसमा संलग्न जोसुकैलाई विनादण्ड छोडिनु हुँदैन । देशको प्रणालीलाई नै भताभुङ्ग पारेर स्वार्थसिद्ध गर्न पल्किने सदाबहार बिचौलियाहरु अहिले प्रेमकुमार राई जस्ता प्रशासकलाई बदनाम गराउन लागिपरेका छन् । उनले गरेका हरेक निर्णय पारदर्शी र प्रभावकारी भएको तथ्यलाई कागजातहरुले पुष्टि गर्दछन् । ती कागज र कानूनको अध्ययनविना हचुकाको भरमा गलत सूचना र तथ्य बाहिरिएका छन् । जसले व्यक्तिको मानमर्दनबाहेक केही गर्दैन ।
पछिल्लो समय अख्तियारले सयौं भ्रष्टलाई अदालतसमक्ष सत्यतथ्य प्रमाणका आधारमा मुद्दा चलाएको छ । तरल अवस्थाको उपयोग गर्दै भ्रष्टहरु आफू उम्कन पनि सत्यतथ्य बाहिर नआउँदै यस्ता फन्डाहरु ल्याउँछन् र आफूलाई फसाइएको देखाउन ठूलो लगानी गरी गलत सूचना र भ्रम फैलाउँछन् ।
उच्च तहमा रहँदा राष्ट्र हितको पक्षमा राईले गरेका कतिपय निर्णय बिचौलिया र उच्च तहका नेताहरुलाई मन नपरेको जगजाहेरै छ । ललिता निवासको जग्गा प्रकरणको छानबिन होस् या गृह मन्त्रालयमा सुशासन कायम गर्ने जस्ता महत्वपूर्ण निर्णय गर्दा तत्कालीन गृहसचिव राई कतिपयको आँखाको कसिङ्गर नै बने । उतिबेलै उनलाई बदनाम गराएर गृहबाट हटाउन चलखेल नभएको पनि होइन । तर, नैतिकता र इमानदारीको कसीले खारिएका राईलाई हल्लाउन सकेनन् ।
गृह सचिवको अवकाशसँगै अख्तियार प्रमुखको जिम्मेवारी पाएका राईलाई त्यहाँ जान नदिन धेरै तत्वहरु सक्रियतापूर्वक लागे । राजनीतिक दलकै प्रमुख नेताले समेत राईको नाममा असहमति गरिरहे । राईको नियुक्ति हुन्छ भन्ने लागेर संवैधानिक परिषद्को बैठकसमेत बस्न दिइएन । कर्मचारीतन्त्रमात्र होइन, निजी क्षेत्र, बिचौलिया र दलका नेताहरु पनि उनलाई अख्तियार जान नदिन हात धोएर लागेको कतै लुकेको छैन ।
अख्तियार पुगिसकेपछि समेत उनलाई हटाउन सर्वोच्च अदालतमा मुद्दा दायर गरेर सुशासन कायम गर्ने उनको हुटहुटीलाई रोक्ने प्रयास नभएको होइन । सर्वोच्चको हतियार घाटीमा झुन्ड्याएर काम गर्न नदिने प्रयास जारी छ । अब थप नयाँ प्रकरण बाहिरिएपछि राईलाई काम गर्नबाट रोक्न सकिन्छ भन्ने कुत्सित मनसाय राखेकाहरू सक्रिय नै छन् । प्रतिकूल वातावरणको बीचमा पनि देशमा भएका भ्रष्टाचार लगायतका बेतिथिलाई निर्मूल पार्ने काममा निरन्तर क्रियाशील छन् । सेक्युरेटी प्रेसलगायतका ठूला मुद्दालाई जनताका बीचमा लैजाने र भ्रष्टलाई अदालतमा लैजाने प्रयास भइरहेकै समयमा प्रोपोगान्डा रचिएको देखिन्छ ।
राजनीतिक संलग्नताका भ्रष्टाचारका काण्ड उजागर हुन्छन् कि भन्ने आस पलाएको बेला र देशमा व्याप्त भ्रष्टाचारको जालोलाई उदाङ्गो पार्ने प्रयास भइरहेको घडीमा राईको नाममा अख्तियारकै हुर्मत लिने गरी केही मिडिया परिचालित गरिएको छ । सेटिङमा देश चलाउँछु भन्ने ठूला विचौलियाहरु राईलाई रोक्ने प्रयास गरिरहेका छन् । यसैबीच नक्कली भुटानी शरणार्थीको मुद्दामा उनको नाम जोडेर अनर्गल प्रचार गर्ने काम ती संगठित गिरोह र विचौलियाहरुले गरिरहेका हुन् । यसका लागि उनीहरुले मिडियामात्र नभई सामाजिक सञ्जालमा करोडौं खर्च गरेर यसको दुरुपयोग गरिरहेका छन् ।
मुख्य ठूला दलका नेता, उपप्रधानमन्त्री, मन्त्री र जिम्मेवार सचिवको संलग्नताको पुष्टिबारे अनुसन्धान हुन थालेपछि अनुसन्धानको सुई अन्य क्षेत्रमा सक्रिय रहेका व्यक्तितिर पनि सोझिएको छ । राज्यद्रोहको कार्यले आफू फसिने र क्यारियर नै समाप्त हुने भएपछि कतिपयले आफ्नो बचाउका लागि पनि अन्धाधुन्ध रुपमा अन्य व्यक्तिको नाम पोल्ने र मुद्दालाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको देखिन्छ ।
मिडियाले उचाल्ने यस्ता प्रोपोगान्डाका विरुद्धमा आममानिस नजाग्ने हो भने देशमा विचौलियाहरुको हालीमुहाली हुने कुरामा दुईमत छैन । राईलाई बदनाम गराएर संवैधानिक निकायको रुपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि कमजोर बनाउने प्रयास हुँदैछ । संवैधानिक निकायलाई धुलिसात बनाउने हत्कण्ठाका विरुद्ध नागरिक समाजका अगुवा र बौद्धिक जमात बोल्न जरुरी देखिन्छ ।
एकातर्फ सर्वोच्च अदालतमा नियुक्तिको मुद्दा विचाराधीन रहेको र अर्कोतिर आरोपितहरुलाई दबाब दिइ नाम पोल्ने अवस्था सृजना गराउनु भनेको दुवैतिर तरबार देखाएर भ्रष्टाचार निवारणको जिम्मेवारी पाएको संवैधानिक अंगलाई निष्प्रभावी एवं थप कमजोर बनाउने षड्यन्त्र रचिएको देखिन्छ । अर्काेतर्फ सदनमा छलफलका लागि प्रस्तुत भएको भ्रष्टाचार निवारण सम्बन्धी विधेयकमा भ्रष्टाचारसम्बन्धी मुद्दा पाँच वर्षपछि छानबिन गर्न नपाइने र मुद्दाको अनुसन्धान गर्नुपूर्व राजपत्रमा सूचना अनिवार्य रुपमा प्रकाशित गर्नुपर्ने जस्ता प्रावधान राख्न खोज्नुले अख्तियारलाई कमजोर बनाउने र राईमाथिको निर्मम प्रहार गर्ने रणनीतिको रुपमा बुझ्न सकिन्छ । कुनै राजनीतिक शक्तिकेन्द्रको आडमा नियुक्त गरिएको भनेर प्रचार गरिए पनि राई आफ्नै दक्षता, योग्यता र क्षमताले संवैधानिक अंगका प्रमुखको रुपमा नियुक्त भएका हुन् । यसमा कसले नियुक्त गरेको भन्दा पनि नियुक्ति पाइने व्यक्तिको पात्रता हेर्नु जरुरी छ ।
सुशासनका साझा सवालमा क्रियाशील रहेका व्यक्तिलाई निरन्तर काम गर्न दिन खबरदारी जरूरी छ । तर, संस्थामाथि नै अविश्वास पैदा गरी शासन व्यवस्तामाथिको आक्रमण गर्न पाइँदैन । संविधान र कानूनबमोजिम स्थापना भएका संस्थाले कानूनबमोजिम काम गर्ने हो । अर्काको कार्य क्षेत्रमा टाङ अड्उाउने होइन । यो कुरा बुझ्ने बित्तिकै सत्यतथ्य उजागर भइहाल्छ होइन र ?
प्रोपोगाण्डा किन फैलाइन्छ ? आफ्नो फाइदा र समाजलाई भड्काउन प्रोपोगाण्डा फैलाउने चलन पहिलेदेखिकै हो । नेपाली समाज त्यसै पनि नकारात्मक सोचले ग्रसित छ । हरेक घटना र हरेक व्यक्तिलाई एउटै देख्नु नेपाली दिमागको साझा रोग हो । यही समाजबाट हुर्केका र दाताको अन्नपानीले पालिएका केही मिडिया र मिडियाकर्मीले समाजमा सकारात्मक सन्देश फैलाउलान भनी सोच्नु मूर्खतामात्र हो । यसरी हरेक समयमा फैलिने अफवाह नेपाली समाजको नकारात्मक सोचको सफल प्रोपोगान्डाबाहेक अरू के हुन सक्छ ? नकारात्मक सोचले दनदनी बलिरहेको समाजको आगोमा घीउ थप्ने काम नगरी त्यसलाई निभाउने काममा नेपाली मिडिया जगत लागोस् । मिसनकारिता, प्रोपोगान्डाकारिता छोडी विशुद्ध पत्रकारितामा लागोस् ! शुभकामना ।
यस्ता छद्म नाममा समाचार लेख्ने पनि मतियार नै हुन ।
धन्यवाद ! सत्यतथ्य बाहिर ल्याउने समाचारलाई
अख्तियारको खुम्चिएको क्षेत्राधिकार, स्थापित भनाउँदा मिडियाहरुको झुठको खेती, राजनीतिक प्रतिशोधले एउटा इमान्दार कर्मचारी वा पदाधिकारीलाई आफ्नो कार्यक्षेत्रबाट विचलित बनाउनको लागि मञ्चन गरिएको प्रपोगाण्डा आम नेपालीले प्रष्ट बुझेकै छन्, केही नबुझ्नेले पनि बुझ्ने छन्।