नीरफूल : सिस्टम भर्सेस भुईंमान्छे
काठमाडौं । अहिले हलमा चलिरहेको ‘नीरफूल’को क्लाइमेक्समा एउटा दृश्य छ । चेन्जारोङ (दयाहाङ राई)ले नीलो फूल पानीमा बगाउँछन् । तर, छोरीलाई आमा स्यरल्हामो (शान्ति वाइबा)ले नीलो फूल भगवानलाई चढाउनु हुन्न भनेर सिकाएकी हुन्छिन् । चेन्जारोङले भन्छन्, ‘अब नीलो फूल चल्ने बनाउनुपर्छ ।’
धादिङ, रुबी भ्यालीका तामाङ समुदायले भगवानलाई प्रायः सेतो फूल चढाउने गर्छ । नीलो फूललाई अशुभको संकेतको रुपमा लिइन्छ । तर, निर्देशक फूलमान बलले नीलो फूल चलाएर राजनीतिक रुपमा गहिरो प्रश्न तेर्स्याएका छन् ।
यसै पनि तामाङ समुदाय राज्यको उपेक्षामा सधैं परिरह्यो । मुलुकी ऐनले नै ‘मासिन्या मतवली’ भनेर यो समुदायलाई ‘नीलो फूल’ बनाइदियो । राणा प्रधानमन्त्री भीम शमशेरको पालामा विसं १९८७ मात्रै तामाङहरुले आफ्नो जात र थर लेख्न पाए । राज्यद्वारा ऐन-कानून नै बनाएर सीमान्तमा पारिएको समुदायको कथा टिपिएको ‘नीरफूल’ले नीलो फूल ‘भगवानलाई चल्ने’ बनाएर राज्यमाथि यक्ष प्रश्न तेर्स्याएको छ ।
जब नीलो फूल पानीमा बग्दै जान्छ तब दुइटा फूल चाहिँ सरर अगाडि बढ्छन् । एउटा फूल भने पानीमा पछाडि नै छोडिन्छ । छोडिएको नीलो फूल स्यरल्हामो हुन्, जो शहरमा छुटिन् । शहरबाट बाबुछोरीमात्रै घर फिरेको कथा भन्न निर्देशक बलले एउटा फूललाई पानीमा कतै बीचमै अड्काइदिएका छन् ।
‘नीरफूल’ भूकम्पको त्रासदीमा धुजाधुजा भएका तीन निर्दोष नीला फूलहरुको कथा हो । भेडी गोठालो चेन्जारोङ छोरीलाई स्कुल पढाउन भएको भेडीगोठ बेचेर मलेसिया हानिन्छन् । गाउँमा श्रीमती र छोरीलाई छाडेर मलेसिया पुगेका चेन्जारोङको जीवनमा दुःख र संघर्षको आँधीबेहरी लिएर २०७२ सालको भूकम्प आइदिन्छ । भूकम्पमा परेर चेन्जारोङको घरमात्रै ध्वस्त हुँदैन । घाइते भएका श्रीमती र छोरी बेपत्ता हुन्छन् ।
गाउँमा सानो अप्ठ्यारोमात्रै आइपर्दा सबै गाउँलेको काँध पाएकी स्यरल्हामो छोरी खोज्न शहर छिरेको पहिलो पाइलादेखि नै मान्छेका स्वार्थहरुको एम्बुसमा पर्छिन् । चाहे उनलाई गाडीमा काठमाडौंसम्म ल्याइदिने ड्राइभर हुन् या रेस्टुरेन्टमा जबरजस्ती सँगै बस्न तान्ने र कपडा च्यातिदिने ग्राहक, ती सबैले स्यरल्हामोको छोरी भेट्टाउने चाहनामा तेजाबमात्रै छ्यापिदिन्छन् ।
छोरीलाई उपचारका लागि काठमाडौं ल्याइएको हुन्छ । छोरी खोज्न स्यरल्हामो काठमाडाैं आउँछिन् । तर, गाउँमा घोडा चराएर बसेकी स्यरल्हामोले छोरी खोज्न काठमाडौं आइपुग्दा हण्डर र ठक्करमात्रै खानुपर्छ ।
स्यरल्हामोले भोगेका दुःख र अप्ठ्यारालाई केन्द्रमा राखेर निर्देशक बलले गाउँ र शहरको मानवीयतामा कति गहिरो खाडल छ, देखाउन खोजेका छन् । गाउँमा सानो अप्ठ्यारोमात्रै आइपर्दा सबै गाउँलेको काँध पाएकी स्यरल्हामो छोरी खोज्न शहर छिरेको पहिलो पाइलादेखि नै मान्छेका स्वार्थहरुको एम्बुसमा पर्छिन् । चाहे उनलाई गाडीमा काठमाडौंसम्म ल्याइदिने ड्राइभर हुन् या रेस्टुरेन्टमा जबरजस्ती सँगै बस्न तान्ने र कपडा च्यातिदिने ग्राहक, ती सबैले स्यरल्हामोको छोरी भेट्टाउने चाहनामा तेजाबमात्रै छ्यापिदिन्छन् ।
चेन्जारोङ छोरी र श्रीमती खोज्न काठमाडौं आइपुग्दा उसले झेल्ने अप्ठ्यारा र उल्झनहरुको श्रृंखला कति लामो छ, त्यसका लागि त फिल्म नै हेर्नुपर्छ । चाहे टेलिभिजनको अफिस अगाडि दुई दिनसम्म कुरेको दृश्य होस् या छोरीलाई बेच्ने ठाउँमा पुग्दा उनलाई गरिएको अवहेलना ! यी दृश्यले हाम्रो सिस्टम कति खराब छ भनेरमात्रै देखाउँदैन । एउटा भुईंमान्छेलाई राज्य र उसको सिस्टमले कुन नजरियाले हेर्छ, त्यो देखाउँछ ।
आम मान्छेको कथा भन्ने भनिएको मिडियाको अफिसमा चेन्जारोङ पुग्दा गरिने व्यवहारले नै प्रस्ट्याउँछ, मिडिया कसका लागि हो ? चेन्जारोङले परिवार भेट्न सिस्टम गुहार्दै जाँदा देखिने दृश्य हो यो ।
चेन्जारोङकी छोरी गाउँमा छोरी नै थिइन् । तर, हेलिकोप्टरले काठमाडौं ल्याएपछि उनी वस्तुमा परिणत हुन्छिन् । उनलाई समाजसेवी वा नेता भनाउँदाले चिठ्ठा पाए जस्तो व्यवहार गर्छन् । उनको लिलामीको लागि बोलकबोल सुरु हुन्छ ।
टेलिभिजनको अफिस अगाडि दुई दिनसम्म कुरेको दृश्य होस् या छोरीलाई बेच्ने ठाउँमा पुग्दा उनलाई गरिएको अवहेलना ! यी दृश्यले हाम्रो सिस्टम कति खराब छ भनेरमात्रै देखाउँदैन । एउटा भुईंमान्छेलाई राज्य र उसको सिस्टमले कुन नजरियाले हेर्छ, त्यो देखाउँछ ।
रुबी भ्यालीमा हुर्केकी उनलाई नेपाली भाषा नै बोल्न आउँदैन । मातृभाषा बोलेर हुर्केकी उनी सधैं ‘आमा निभा’ मात्रै भनिरहन्छिन् । अर्थात् ‘आमा जाने’ । तर, उनको भाषा कसैले बुझ्दैनन् । भाषाकै कारण उनी अप्ठ्यारोमा पर्छिन् । आफ्नो मातृभाषा बोलेकै कारण राम्रोसँग उपचार नपाउनु, राज्य र सिस्टमले मातृभाषा नबुझिदिनु जतिको ठूलो पीडा भोग्नेहरुलाई मात्रै थाहा होला । जसको भाषा, संस्कृतिमा राज्यले डढेलो लगाइदिएको हुन्छ ।
फिल्ममा मुख्यतया भुईंमान्छे भर्सेस राज्यलाई देखाइएको छ । भूकम्पले तहसनहस बनाएको परिवारको कथालाई उनेर राज्य आममान्छेप्रति कति अनुदार छ भनेर देखाउन खोजिएको छ । फिल्ममा २७-२८ मिनेट त तामाङ भाषा नै छ । नेपाली भाषालाई सबटाइटलमा राखिएको छ । यसले आम दर्शकलाई अलि अप्ठ्यारोमा पार्ला । तर, बलले आफ्नो मातृभाषालाई झण्डै आधा घण्टा समय दिएर जोखिम मोलेकै हुन् ।
‘नीरफूल’ मा मनोरञ्जन लिन भनेर हलभित्र छिर्ने दर्शकलाई थोरै गाह्रो हुनसक्छ । मातृभाषाको संवाद हुँदा सबटाइटल हेर्नुपर्दा दर्शकलाई सकस हुनसक्छ । फिल्मको मेरुदण्ड कथा हो । तर, उक्त कथाको प्रस्तुतीकरण कति गज्जबले भयो, दृश्यभाषा भएकाले त्यसले अर्थ राख्ने नै भयो । त्यसमा ‘नीरफूल’ चुकेको छ ।
फिल्मको छायांकन त्यति दमदार छैन । रुबी भ्यालीको हरिया चौर, भेडा र गोठहरु खिच्नमा क्यामेरा बढी दौडिएको छ । तर, खिच्नुपर्ने त रुबी भ्यालीका रुबी जस्ता ती तामाङ समुदायका मानिसको कथा थियो । केन्द्रीय तीन पात्रबाहेक रुबी भ्यालीमा देखिने अन्य पात्रहरुलाई क्यामेराको फ्रेममा अटाइएको मात्रै छ । तर, उनीहरु पनि चेन्जारोङ र स्यरल्हामो जस्तै नै त हुन् । थोरै भए पनि उनीहरुको कथालाई पटकथामा स्पेस दिएको भए फिल्मले बोकेको केन्द्रीय मुद्दालाई अझै बलियो बनाउँथ्यो सायद !
केन्द्रीय कथालाई बलियो बनाउने मसिना उपकथाहरु बुन्नमा निर्देशक बल चुकेका छन् । भन्न धेरै खोजेका छन् । गर्न धेरै खोजेका छन् । तर, पूर्ण रुपमा सकेका छैनन् ।
छोरीलाई अमेरिका लाने मान्छेले नलाने भएपछि भारत लगेर बेच्ने तयारी गरिन्छ । जसका लागि भारतीय दलाललाई ढाका टोपी लगाइदिएका छन् । सायद यसको सार भनेको ढाका टोपी लगाउनेहरुले यो मुलुकमा आदिवासी, पिछडिएका, सीमान्तमा पारिएका नागरिकलाई कसरी र कस्तो तरिकाले शासन गर्यो भन्ने देखाउन खोजेका होलान् । तर, त्यसको पुष्टि ढाका टोपी लगाइदिँदामात्रै हुन्छ कि हुँदैन ? बलले फिल्ममार्फत् भन्न चाहेको कुरा दर्शकसँग कति सहजै सञ्चार भयो त ? सवाल अनेक छन् ।
तर, बलले तामाङ समुदायको कथा टिपेर राज्यमाथि जसरी सवाल सोधेका छन्, त्यो सराहनीय छ । पछिल्लो समय मातृभाषी समुदायको कथा टिपेर मूलधारका फिल्महरु बनिरहेका छन् । त्यही मेसोमा ‘नीरफूल’ आउनुले पक्कै पनि नेपाली फिल्म क्षेत्रमा अर्थ त राख्छ नै ।