प्रदेश सांसदले गुट बदल्न थाले, काठमाडौं पुगेपछि पद्मा खड्का ओली पक्षमा
एक मन्त्रीसहित तीन सांसद बुधवारको संसदीय दल बैठकमा सहभागी हुने दावी
सुर्खेत । नेकपा एमाले पुनःस्थापनासँगै कर्णालीका सांसदहरुले गुट बदल्ने क्रम शुरु भएको छ । नेकपा विभाजनकै बेलादेखि प्रचण्ड–माधव पक्षमा खुलेकी प्रदेश सांसद पद्मा खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गुट बदलेकी छन् ।
संसदीय दलका नेता यामलाल कंडेलले नेपाल पक्षले राष्ट्रिय भेला बोलाएकै दिन पारेर चैत ४ गते दिउसो एक बजे कर्णाली प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् । बैठकको पूर्वसन्ध्यामा खड्का ओली पक्षमा लागेकी हुन्
यसअघि प्रकाश ज्वाला पक्षमा भनेर खुलेकी सांसद पदमा खड्काले आइतबार प्रधानमन्त्री एवम् अध्यक्ष ओलीसँग बालुवाटारमा भेट गरेकी थिइन् । नेता यामलाल कंडेल र पदमा खड्काले प्रधानमन्त्री ओलीसँग संयुक्त रुपमा भेटेकाा थिए
असोज २५ पछिको अवस्थामा प्रदेश सभामा नेपाल पक्ष बलियो थियो । २० सदस्यमा ११ जना सांसद नेपाल पक्षमा थिए । एमाले स्रोतका अनुसार सांसद पदम बहादुर रोकायासहित थप तीन जना माधव नेपाल पक्षधर सांसदले चैत चार गतेको संसदीय दलको वैठकमा सहभागिता जनाउने भएका छन् ।
हाल काठमाडौंमा रहेका सांसद सुशील थापाले आफूहरु दुवै पक्षलाई मिलाउने भूमिका रहेको बताए । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्तावमा सर्मथन गरेका सांसद थापाले नेकपा एमाले मिल्नुको विकल्प नभएको बताए ।
‘म अहिले काठमाडौंमा नै छु । दलको वैठक बस्नुअघि सहमति र सहकार्य गरेर जानुपर्छ र त्यसकालागि शीर्ष नेताहरु एमालेलाई जोगाई राख्न लाग्नुपर्छ भन्ने अभियानमा म लागेको छु ।’ उनले भने, ‘त्यसका लागि आवश्यक दबाव दिइरहेको छु ।’
उनले दलको वैठकमा सहभागी हुने वा नहुने बारेमा अहिले कुनै निष्कर्ष ननिकालिएको दावी गरे ।
यता, एमालेकै अर्की सांसद एवम सामाजिक विकास समितिका अध्यक्ष देवी ओलीले २०७५ जेठ तीन गते अघिको अवस्थाको एमालेको बैठक भएका कारण सबैको सहभागितामा बस्नुपर्ने बताइन् ।
‘एमालेको इन्चार्जको रुपमा दुई जना हुनुहुन्छ । उपाध्यक्ष युवराज ज्ञवाली र यामलाल कंडेलले यसबारेमा आवश्यक छलफल गर्ने अपेक्षा हाम्रो छ ।’ उनी भन्छिन्, ‘अहिले सबै साथीहरु काठमाडौंमा छौं । सबै गए भने म पनि वैठकमा जान्छु ।’ उनी नेपाल निकट मानिन्छिन् ।
कँडेल निकट स्रोतले भने बुधबारको वैठकमा एक मन्त्री र दुई सांसदले सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरिसकेको बताएको छ । यदि बुधबार बस्ने दलको वैठकमा नेपाल पक्षका चार जना सांसद उपस्थित खण्डमा ओली पक्षमा सभामुखसहित १३ जना पुग्नेछन् भने नेपाल पक्षमा सात जना रहनेछन् ।