सेबोनले दियो ४ वटा संस्थागत लगानीकर्तालाई काम गर्ने अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको काम गर्न थप ४ कम्पनीलाई अनुमति दिएको छ । ती ४ कम्पनीले वैशाख १० गते स्वीकृति पाएको सेबोनले जनाएको छ । योसँगै अब संस्थागत लगानीकर्ताको संख्या १३५ पुगेको छ ।
पछिल्लो पटक बोर्डले एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड–२, लागत इन्भेष्टमेन्ट प्रालि, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालिलाई स्वीकृति दिएको छ । यसअघि गत १५ गते एकै पटक ७ वटा कम्पनीलाई स्वीकृति दिएको थियो ।
संस्थागत लगानीकर्ता त्यस्ता कम्पनी वा संस्था हुन्, जसले अन्य व्यक्तिको तर्फबाट पैसा लगानी गर्छ ।
म्युचुअल फन्ड, पेन्सन कोष, हेज फन्ड र बिमा कम्पनीहरू, ठूला इन्भेष्टमेन्ट कम्पनीहरू यसमा पर्दछन् । यिनीहरूले प्रायः स्टक, बन्ड वा अन्य सेक्युरिटिजहरु किनबेच गर्छन् । यिनीहरूसँग ठूलो लगानीयोग्य रकम हुन्छ । यदि बजार धेरै बढ्यो वा घट्यो भने यिनीहरूले माग वा आपूर्ति दिएर त्यसलाई स्थिर बनाउन सक्छन् ।तर यिनीहरूले नियामकले तोकेको क्षेत्रमा सीमित रकम मात्र लगानी गर्न पाउँछन् ।