कोशी प्रदेशको नीति तथा कार्यक्रम पास नहुने विपक्षीको दाबी, एमाले पास हुनेमा विश्वस्त
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नहुने विपक्षीहरुले बताएका छन् ।
अल्पमतमा रहेको सरकारले ल्याएको नीति तथा कार्यक्रम पास नहुने भन्दै यस्तो कार्यक्रममा कुनै प्रतिक्रिया वा टिप्पणी गर्नुको अर्थ नभएको कोशी प्रदेश सरकार बाहिर रहेका दलका नेताहरूले बताएका छन् ।
नेपाली काँग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयन नै नहुने दाबी गरे । उनले भने, यो सरकार अल्पमतमा छ । अल्पमतमा रहेको सरकारले कसरी नीति तथा कार्यक्रम पास गर्छ ? उनले सरकारले १५ दिनका लागि नीति तथा कार्यक्रम ल्याएको बताए ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आंवोले संविधानलाई छल्नका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको बताए ।
उनले कोशी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेको आङ्बोले संविधानको धारा १८४ लाई छल्नका लागि मात्रै नीति तथा कार्यक्रम ल्याइएको जिकिर गरे ।
यस खालको नीति तथा कार्यक्रमले प्रदेशवासीको अपेक्षा पनि पुरा गर्न नसक्ने बताए । नेकपा (एकीकृत समाजवादी)का संसदीय दलका नेता राजेन्द्रकुमार राईले अल्पमतमा परेको सरकार रहेकोले यो कार्यक्रम पास नहुने बताए ।
एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बजेट नीति तथा कार्यक्रम पास हुने विश्वास व्यक्त गरे । उनले सरकारले संसद्को अधिवेशन अन्त्य गर्नेतिर भन्दा पनि स्वाभाविक ढङ्गले नीति तथा कार्यक्रम ल्याएको बताए ।