ग्रिसमा डुंगा पल्टिदा ८३ जनाको मृत्यु, सयौँ बेपत्ता
रोम । ग्रीसको तटीय क्षेत्रमा सयौँ आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।
सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।
मिडिया रिपोर्टका अनुसार घटना बुधवार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ ।
कालामाटाका मेयरले उद्धार गरिएका सबै १६ देखि ४१ वर्षका रहेको बताए । डुंगामा महिला र बालबालिका पनि सवार रहेको उनले बताए ।
राति अन्धकारका कारण खोजी तथा उद्धार कार्य स्थगित गर्नुपरेको तट रक्षकले जनाएको छ । डुबेकाहरूको खोजी कार्य बिहीबारबाट पुनः सुरु गरिने छ ।
सञ्चारमाध्यमका अनुसार दुर्घटना हुँदा डुङ्गामा कति जना सवार थिए भन्ने खुलाइएको छैन । बाँचेकाहरूका अनुसार डुङ्गामा ७५० यात्रु सवार हुन सक्छन्। ग्रीसका अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने सम्भावना व्यक्त गरेका छन् । अधिकारीहरूका अनुसार डुङ्गा लिबियाको टोब्रुकबाट गएको थियो ।
यसअघि संयुक्त राष्ट्रसंघले ग्रीसको पाइलोसमा डुङ्गा पल्टिएपछि ३२ जनाको शव निकालिएको ट्विट गरेको थियो । खोजी र उद्धार प्रयास जारी छ र धेरै हताहत भएको आशंका छ।
प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा ४ सय जना सवार थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले डुङ्गा डुबेको घटनालाई भयानक भएको बताएका छन् ।