प्रतिवादी पक्षकाे बहस सकियाे: जब बहसमा आफ्ना वकिललाई रोक्दै टेकनाथ रिजाल बोले
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत काठमाडौं जिल्ला अदालतमा आज पनि प्रतिवादीहरुको तर्फबाट बहस भइरहेको छ ।
बहसकै क्रममा भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आफ्नै वकिललाई बहस गर्न रोकेर आफैं बोले । करिब १५ मिनेट बोलेका उनले मुद्दाका प्रतिवादीमध्ये २/४ लाई ‘चोर’को संज्ञा दिए । ती २/४ ‘चोर’को कारण आफू पनि फसेको उनले सुनाए ।
आफूले यो प्रकरणबारे तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत सबैलाई जानकारी गराएको शरणार्थी नेता रिजालले दोहोराए ।
त्यसबेला प्रधानमन्त्री देउवाले ठगी भइरहेको आफूले पनि सुनेको बताएको उनको भनाइ थियो ।
‘मैले त्यसैबेला शेरबहादुर देउवा, प्रचण्ड सबैलाई यो ठगीबारे सुनाएको थिएँ । देउवाले त आफूलाई ठगी भइरहेको आफूले पनि सुनेको प्रतिक्रिया दिनुभएको थियो’, रिजालले भने, ‘तर, आज (प्रतिवादीहरुतर्फ फर्केर) दुईचार जना चोरहरुका कारण म फसें ।’
आफ्नो भनाइको सुरुवात नै भुटानमा आफूले पाएको यातनाबारे सविस्तार चर्चा गरेका रिजालले सरकारी वकिलहरुलाई समेत गाली गर्न थाले । सरकारी वकिलहरुले आफूलाई जथानाम गाली गरेको भन्दै उनले आफूलाई गाली गर्ने ती सरकारी वकिलहरु को हुन् भनी प्रश्न गरेका थिए ।
बोल्दाबोल्दै आक्रामक बन्न थालेपछि नजिकैका वकिलहरुले रिजाललाई रोक्न खोजेका थिए । त्यस्तै बहस सुनिरहेका न्यायाधीश प्रेमप्रसाद न्यौपाने पनि ‘भयो श्रीमान भयो’ भन्दै रोक्न खोजेपछि रिजालले भने, ‘म बोल्ने ठाउँ नै यही हो । अन्त कहाँ बोल्ने ?’
आफूले भुटानी शरणार्थी समस्या नेपालको पनि समस्या भन्दै आएको उल्लेख गर्दै उनले नेपाल र भुटानबीच वार्ता हुन्छ भन्दाभन्दै कहिल्यै निर्णायक वार्ता नभएको बताए ।
बिहीबार प्रतिवादीमध्येका हरिकृष्ण महर्जन र लक्ष्मी महर्जन पक्षका वकिलहरुले थुनछेक बहस गरेका छन् । उनीहरुको बहससँगै प्रतिवादी पक्षका वकिलहरुको थु्नेछक बहस सकिएको छ ।
न्यायाधीश न्यौपानेले प्रतिवादीतर्फका वकिलहरुको बहस सकिएपछि वादी पक्षका वकिलहरुलाई जवाफी बहस गर्न शुक्रबार समय छुट्याएका छन् । उनले चिया समयअघिसम्म वादी पक्षको जवाफी बहस सुनेर शुक्रबार नै मुद्दाको प्रारम्भिक आदेश दिने तयारी गरेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, केशव दुलाल र सानु भण्डारीलगायत ३० जनालाई अभियुक्त बनाई अभियोग पत्र दायर गरिएको छ । जसमध्ये १८ जना पक्राउ परेर हिरासतमा छन् भने १२ जना अझै फरार छन् ।