मुख्यमन्त्रीले बजेटमा हस्तक्षेप गरेको भन्दै कांग्रेस असन्तुष्ट, मन्त्रिपरिषद् बैठक नै बहिष्कार
सुर्खेत । कर्णाली प्रदेश सरकारले दिउँसो ३ बजे आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दैछ ।
आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले दिउँसो ३ बजे झण्डै ३३ अर्व बढीको बजेट प्रदेशसभा बैठकमा पेश गर्दै छन् । तर, नयाँ बजेटको विषयलाई लिएर यहाँ पनि गठबन्धनमा तिक्तता देखिएको छ । बजेट निर्माणमा मुख्यमन्त्री राजकुमार शर्माको ठाडो हस्तक्षेप गरेको भन्दै कांग्रेस असन्तुष्ट बनेको हो ।
अर्थमन्त्रीको प्रत्यक्ष निगरानी र निर्देशनमा अर्थमन्त्रालयको बजेट तर्जुमा समिति र बजेट महाशाखाले बजेट निर्माण गर्नुपर्ने भएपनि यस प्रदेशमा मुख्यमन्त्री शर्माको ठाडो हस्तक्षेपका कारण कांग्रेस नेता जीवनबहादुर शाहीदेखि मन्त्रीहरूले असन्तुष्टि पोख्न थालेका छन् ।
मन्त्रिपरिषद्को बिहीबार दिउँसो बैठक बस्ने र उक्त बैठकले बजेट पारित गर्ने भनिएको थियो । तर, मुख्यमन्त्री शर्माले बजेट निर्माणमा अनावश्यक दबाब दिएपछि कांग्रेसका मन्त्रीहरूले बैठक बहिष्कार गरेको स्रोतले बताएको छ । आज १ बजेका लागि बोलाइएको क्याविनेट पनि अहिलेसम्म बसेको छैन । बजेट प्रस्तुत गर्न एक घण्टा बाँकी रहँदासम्म मन्त्रिपरिषद्ले बजेट पास गर्न सकेको छैन ।
नेता शाहीले बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा बजेटलक्षित टिप्पणी गरेका थिए । जसमा बजेट र मुख्यमन्त्रीको नाम उच्चारण नभएपनि मुख्यमन्त्री शर्माले अर्थमन्त्री सिंहलाई मन्त्री सिंहलाई छायाँमा पार्न खोजेकोप्रति कांग्रेस असन्तुष्ट छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतका अनुसार मुख्यमन्त्री शर्माले रोजगारी सिर्जना गर्ने बहानामा बजेटमा आफ्नो गृहजिल्ला रुकुम पश्चिमका दर्जनौं व्यक्तिगत कम्पनी, सहकारी, संघसंस्थालाई नामै तोकेर बजेट विनियोजन गर्न लगाएका छन् ।
मन्त्रालयका एक अधिकारीले भने, ‘मुख्यमन्त्रीले मन्त्रालयलाई दिएको बजेटको सीमामा हस्तक्षेप गर्दै पूर्वमन्त्री गोपाल शर्मा समेतलाई राखेर छापामार शैलीमा धम्क्याउने काम गर्नुभयो, प्रत्येक मन्त्रालयका मन्त्री र सचिवलाई अनावश्यक तनाव दिदै केवल आफ्नो जिल्लाका प्राइभेट कम्पनीलाई कसरी अनुदान दिन सकिन्छ भनेर चासो राख्नुभयो ।’
अर्थ मन्त्रालयले कार्यक्रमगत र मन्त्रालयगत छलफल भई तयार गरेको अन्तिम प्रारुप अर्थात ‘सिष्टम लक’ गरेपछि मुख्यमन्त्री शर्मालाई बजेटबारे जानकारी गराएको थियो । तर, मुख्यमन्त्रीले दिनैपिच्छे आफै अर्थमन्त्री झैं बजेट खाका केरमेट गर्दा बजेट छपाईमा प्रभावित भएको अर्थ मन्त्रालयका एक उच्च कर्मचारीले बताए ।
उनले नेपाल प्रेससँग भने, ‘हामी रातभरी सुत्न पाएनौं पहिला हेरेर सहमति दिएका विषयमा समेत मुख्यमन्त्रीज्यूले थपघट गर्नुभो, जसले गर्दा हामी कर्मचारीले अनावश्यक तनाव झेल्नुपर्यो ।’
यस विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्रीसँग फोन सम्पर्क हुन सकेन ।