सुविधाको गाडी हुँदाहुँदै राप्तीका उपमेयर लामाले लिए भाडा गाडी, मेयरले राेके भुक्तानी
चितवन । चितवनको राप्ती नगरपालिकाका उपमेयर देवेन्द्र लामाले नगरकै सुविधाको गाडी हुँदाहुँदै हुँदाहुँदै आफूखुशी भाडामा गाडी लिएका छन् । मेयरलाई जानकारी नै नदिई भाडामा गाडी लिएर चलाएपछि नगरपालिकाभित्र विवाद बढेको छ ।
उपमेयर लामाले मासिक १ लाख ६० हजार रुपैयाँ भाडा दिने गरी निजी गाडी भाडामा लिएका हुन् । लामाले आफूखुशी टेण्डर आह्वान गरेर अधिकृतस्तरको कर्मचारीको हस्ताक्षरमा गाडी भाडामा लिएको राप्तीका मेयर शमशेर लामाको आरोप छ ।
आफूलाई जानकारी नै नदिइ तत्कालीन कार्यकारी प्रमुख सुकदेव लम्साल र उपप्रमुख लामाको मिलेमतोमा गाडी भाडामा लिएको मेयर लामाले आरोप लगाएका छन् ।
यसअघि कार्यालयमा दशौं तहका उपसचिव शम्भु पौडेल कार्यरत रहँदा उनको सुविधाको लागि नगरपालिकाले कार्यपालिकामा सहमति गरेरै गाडी भाडामा लिएको थियो । तर, पौडेल गत मंसिरमा नियमित अवकाश भए । त्यसपछि गाडी फिर्ता गर्नुपर्नेमा उपमेयर लामाले आफूखुशी टेण्डर आह्वान गरेर अधिकृतस्तरको कर्मचारीको हस्ताक्षरमा गाडी लिएको मेयर शमशेरको आरोप छ ।
कार्यकारी प्रमुख निलमकुमार न्यौपानेले गाडी भाडामा लिएकोबारे आफूलाई केही जानकारी नभएको प्रतिक्रिया दिए । ‘म सरुवा भएर आएको दुई महिनामात्रै पुग्यो’, न्यौपाने भन्छन्, ‘मेरो पालामा त्यस्तो सम्झौता पनि भएको छैन । मैले गाडी भाडामा लिएको भन्ने फाइल पनि हेरेको छैन ।’
२०७९ मंसिर २६ गते लेखबहादुर गुरुङको नामबाट परेको आवेदनअनुसार बा २० च २२७२ नम्बरको हुन्डाइ गाडी भाडामा लिने सम्झौतामा राप्ती नगरपालिकाकी शिक्षा अधिकृत रविना देउजाले प्रथम पक्षको रुपमा हस्ताक्षर गरेकी छन् । उपमेयर देवेन्द्र लामा साक्षी बसेर गएको माघ २९ गतेदेखि इन्धनबाहेक मासिक १ लाख ६० हजार रुपैयाँ भाडा सम्झौतामा यही असार मसान्तसम्मको लागि भाडामा लिइएको छ ।
कार्यकारी प्रमुख न्यौपानेका अनुसार नगरपालिकाले कुनै साधन भाडामा लिन सम्झौता गर्नुपर्यो भने मेयर वा कार्यकारी प्रमुख सम्झौताको पक्ष हुने व्यवस्था छ । यदि उनीहरु भएनन् भने लिखित वा कुनै माध्यमबाट अधिकार प्रत्यायोजन गर्नुपर्छ ।
तर, मेयर लामा भने उपमेयरले मनलाग्दी रुपमा कानून मिचेर गाडी भाडामा लिएको दाबी गर्छन् । उनले विधि विपरीत गाडी भाडामा लिएको भन्दै भाडा रकम रोकेका छन् । बैशाखसम्मको ४ लाख ८० हजार र असार मसान्तसम्म कुल ८ लाख ५८ हजार ६६७ रुपैयाँ भाडा तिनुपर्ने रकम नियमविपरीत भएकाले भुक्तानी पास नगर्ने मेयर लामा बताउँछन् ।
उपमेयर देवेन्द्र भने राप्तीमा कच्ची सडक धेरै भएकाले शिक्षाको अनुगमन गर्न गाडी लिइएको दाबी गर्छन् । उनले गत बैशाखमा नगर कार्यपालिकाको बैठकले गाडी भाडामा लिने प्रस्ताव पास गरेको दाबी गरे । तर, प्रमुख कार्यकारी अधिकृत न्यौपाने आफूले नगरपालिकामा कार्यभार सम्हालेपछि कुनै खालको गाडी भाडामा लिने सम्झौता नभएको बताउँछन् ।
राप्तीका मेयर र उपमेयर गठबन्धनबाट निर्वाचित भएका हुन् । मेयर शमशेर नेकपा एकीकृत समाजवादीका हुन् भने उपमेयर देवेन्द्र नेपाली कांग्रेसका नगर सभापति हुन् ।