मधेशको बजेटः दलित बालबालिकाको खातामा प्रतिव्यक्ति २ हजार, विपन्न परिवारलाई विद्युतीय चुल्हो – Nepal Press

मधेशको बजेटः दलित बालबालिकाको खातामा प्रतिव्यक्ति २ हजार, विपन्न परिवारलाई विद्युतीय चुल्हो

जनकपुरधाम । मधेश सरकारले दलित बालबालिकाको खातामा २ हजारका दरले शिक्षा बिजक रकम पठाउने भएको छ ।

अर्थमन्त्री सञ्जयकुमार यादवले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

डोम, मुसहर, चमार, दुसाध र हलखोर जातिका बालबालिकालाई विद्यालयमा ल्याउन र टिकाउन दर बढाउन शिक्षा अभियानअन्तर्गत खातामा रकम पठाउने उनले बताए ।

उनले शिक्षा बिजक रकम उपलब्ध गराउन १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।

यस्तै दलित, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुको उच्च शिक्षा (प्राविधिकसहित)मा पहुँच वृद्धि र निरन्तरताका लागि छात्रवृत्तिको व्यवस्था मिलाउन पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।

मधेश सरकारले ‘धुँवामुक्त भान्सा अभियान’ अन्तर्गत आगामी आर्थिक वर्षमा ‘एक परिवार, एक चुल्हो’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

अर्थमन्त्री यादवले आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेटमा ‘एक परिवार, एक चुल्हो’ कार्यक्रमका लागि १२ करोड रकम विनियोजन गरेको बताए ।

उनले विद्युतीय पूर्वाधार भएका स्थानहरुमा अति विपन्न परिवारका लागि प्रदेश सरकारको समन्वय र सहयोगमा स्थानीय तहमार्फत सुधारिएको चुल्हो वितरण गरिने बताए ।

प्रदेशका प्रायः महिलाहरु भान्साको काममा खटिनुपर्ने अवस्था भएको तर गरिब परिवारको भान्सामा इन्धनको लागि गोबरबाट बन्ने गुँइठा (गोर्हा) प्रयोग हुने र महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले धुँवामुक्त भान्सा अभियान सञ्चालन गरिने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *