मधेशको बजेट दुई अर्बले घट्यो, संसदीय विकास कोषलाई निरन्तरता
जनकपुरधाम । मधेश सरकारको आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा २ अर्बभन्दा बढीले घटेको छ ।
अर्थमन्त्री सञ्जयकुमार यादवले प्रदेशसभामा शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजारको बजेट प्रस्तुत गरेका हुन् ।
यो चालू आवको बजेटभन्दा करिब २ अर्ब १३ करोड कम हो । चालू आर्थिक वर्षका लागि मधेश सरकारले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
संघीय सरकारले अनुदान घटाएपछि आगामी आर्थिक वर्षको बजेटको आकार पनि घटेको हो ।
अर्थमन्त्री यादवले संघबाट प्राप्त अनुदान पर्याप्त नभएको गुनासो गरे । उनले केन्द्र सरकारले संकलन गरेको राजस्व संघ, प्रदेश र स्थानीय तहलाई न्यायोचित वितरण हुनुपर्ने माग पनि गरे ।
आगामी आर्थिक वर्षको बजेट घटे पनि सरकारले संसदीय विकास कोषलाई निरन्तरता दिएको छ । संसदीय विकास कोषका लागि २ अर्ब ३५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मधेशले संसदीय विकास कोषअन्तर्गत प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।