म कुनै शो पिस हिरोइन होइन : सृजना सुब्बा
अवार्ड दिँदै एक नायिकाले भनेकी थिइन्- सृजनाको अनुहार एकपटक हेर्न मन छ मलाई
काठमाडौं । हङकङ जान मोरङबाट दुई वर्ष उमेर बढाएको नागरिकता बनाएर काठमाडौं हान्निएकी अभिनेत्री सृजना सुब्बा गएको १७/१८ वर्षमा के बनिन्, फर्केर हेर्दा उनी आफैं चकित हुन्छिन् । काठमाडौंबाट पनि झण्डै तीन हजार किलोमिटर पर हङकङ उड्न किशोर पखेटा फटफटाइरहेकी सृजना काठमाडौंमै रोकिइन् । यतै कतै रंगमञ्चको स्टेजतिर, फिल्मको दृश्यतिर उडान भरिरहिन् ।
फिल्म ‘लुट’ प्रदर्शन भएको पनि एघार वर्ष भइसक्यो । साथीहरुसँग मिलेर सृजनाले मण्डला थिएटर सुरु गरेको पनि १५ वर्ष भइसक्यो । सृजना समय सम्झेर आफैं चकित हुन्छिन्, ‘ओहो ! यत्रो वर्ष भयो है ? हत्तेरिका ! मलाई त भर्खर दुई वर्ष जस्तो पो लाग्छ ।’
‘लुट’ प्रदर्शनताका नेपाली फिल्म क्षेत्र राजेश हमालको ह्याङबाट उत्रिसकेको थिएन । उस्तै मसला, उस्तै संरचना, उस्तै कथा । पचासको दशकमा जस्तो थियो, त्यस्तै थियो । फिल्मको त्यो संरचनामा न सृजना फिट थिइन्, न दयाहाङ न त सौगात मल्ल नै फिट थिए । निर्देशक निश्चल बस्नेत नयाँ थिए, जोखिम लिए । हाकु हाले, गोफ्ले, पुतली जस्ता पात्रहरु स्थापित भए । अहिले नेपाली फिल्म क्षेत्र तिनै पात्रहरुको संरचना वरिपरि फनफनी घुमिरहेको छ ।
त्यो समय नै यस्तो थियो, सृजनाहरुसँग ऊर्जा र उमेरले साथ दिएको थियो । काम गर्ने इच्छा थियो । काम पायो भने देखाउन सकिन्छ भन्ने जुनुन थियो । तर, अभिनयमै रस चाहिँ कसरी बस्यो त ?
‘अवचेतनमै थिएछ । काठमाडौं आएपछि पनि कुनै बहानामा यतै रहन्छु भन्ने थियो । मैले त्यही बहाना अभिनयमा भेटेकी रहेछु’, सृजना उत्साहित सुनिन्छिन् ।
काठमाडौं आएर मामाकहाँ आश्रय लिएकी थिइन् । गाउँकै काकाको मेनपावरमा केही समय रिसेप्सनिस्टको रुपमा काम गरिन् । त्यही रिसेप्सनिस्टको टेबलबाट सृजनाको करियरको फाइल रंगमञ्चतिर सर्यो । एकजना फुपू सृजनाको अफिसमा आउँदा उनैले ब्युटी पेजेन्टबारे बताइन् । फर्म भर्न पाँच हजार लाग्ने बताइन् । सृजनाले पनि प्रतिस्पर्धीको रुपमा भाग लिइन् ।
ब्युटी पेजेन्टमा के गर्ने, उनलाई केही थाहा थिएन । तर, मिस्टर एण्ड मिसेस ओमकार सेकेण्ड रनरअप पो भइन् !
नाटकले मोडेको भविष्यको गोरेटो
ब्युटी पेजेन्ट जितेपछि डान्स पनि सिक्नुपर्छ भनेर राजधानी कलाकेन्द्र गइन् । गाउँमै अंकलका नाटकहरु हेरेर हुर्किएकी सृजनालाई कलाकेन्द्रमै लोकेन्द्र लेखकले नाटक खेल्न अफर गरे । नाटक देखाउने स्टेजको रुपमा जम्मा त्यही नाचघर थियो । सिनेमामा सृजना जस्ता मंगोल अनुहारका लागि स्पेश थिएन । बहुविवाहमा आधारित ‘मैना’ भन्ने नाटक सृजनाले गर्ने भइन् ।
तीन दिन रिहर्सल गरेपछि पोखरामा नाटकको शो भयो । ख्यालख्यालमा अन्धाधुन्ध रंगमञ्च छिरेकी सृजना सुनाउँछिन्, ‘मैले १३ वर्षकी बालिकाको अभिनय गरेकी थिएँ । भोलिपल्ट त म सर्वोत्कृष्ट अभिनेत्री पो भएछु । पुरस्कार पनि १२/१३ हजार थियो त्यो वेला । त्यत्रो पैसाले त्यसवेला धेरैथोक गर्न सकिन्थ्यो ।’
पोखराबाट काठमाडौं फिरेपछि ‘मैना’का लेखक उप्रेतीले सृजनालाई अनुप बरालको एक्टर्स स्टुडियोमा पु¥याए । त्यही भेट भए दयाहाङ राई, आशान्त शर्मालगायत । अलि पछि भेटिए राजन खतिवडा । यसवेलासम्म आर्थिक संकट त झेलिरहेकी नै थिइन् । तर, अभिनयप्रतिको लगावले आर्थिक तनावलाई सधैं कुल्चिएर हिँडिरहेकी थिइन् । वेलावेला सोच्थिन्, ‘हङकङ नै गएको भए पनि हुन्थ्यो होला ।’ तर, हङकङसम्म उड्ने सृजनाको पखेटा ‘मैना’ नाटकको सर्वोत्कृष्ट अभिनेत्रीको अवार्डले काटिदिइसकेको थियो ।
मण्डलाको जगमा फक्रेको अभिनय
दयाहाङ र राजनसँगको भेटले नाटक प्रस्तुत गर्ने समूह नै बनाउने र स्टेज पनि बनाउने निचोडमा सृजनालगायत पुगे । नाचघरमा नाटक मञ्चनका लागि ३५ हजार तिर्नुपर्थ्यो । ३०-५० को टिकट बेचेर ३५ हजारको जोहो कल्पनाभन्दा बाहिरको कुरा थियो । अनि समूहमा बुद्धि तामाङ, विजय बराल, नाजिर हुसेन, सोमनाथ खनाल, उमेश तामाङ, प्रदीप चौधरीलगायत जोडिए ।
‘हामी बिरालोले बच्चा सारे जस्तो अफिस सारिरहन्थ्यौं । झोलामा अफिस थियो हाम्रो । भविष्य कस्तो हुन्छ, कल्पना पनि थिएन । काम गर्ने जुनुन शिवाय अर्थोक केही थिएन’, मण्डला थिएटरकी वर्तमान अध्यक्ष सृजना २०६४/६५ सालतिरको समय सम्झिन्छिन् ।
यसपछि शुभचिन्तक, नाट्यप्रेमीहरुको पाँच-दश हजार साथ, सहयोग र केही ऋण लिएर अनामनगरमा मण्डला थिएटर बन्यो । जसोतसो नाटक मञ्चन सुरु भयो । नाटकबाट अलिअलि पैसा आउन थाल्यो । फिल्महरुमा पनि इंगेज भइन् । पहिलो फिल्म ‘आवाज’मा अडिसन लिएरै पास भएर काम गरिन् । जहाँबाट राम्रै पारिश्रमिक पनि पाइन् ।
‘फिल्ममा जुन दृष्टिकोणले हिरोइन बनाइन्थ्यो, हामी त्यो होइनौं । मलाई लाग्दैन, मान्छे फिल्ममा कसरी युज हुन्छ । अरुकै कारणले पीडित हुन्छ भन्ने लाग्दैन । त्यसमा म विश्वास गर्दिनँ’, सृजना खरो सुनिन्छिन्, ‘आफूभित्रैबाट स्पष्ट भएर लागेमा कतै अल्झनु पर्दैन ।’
सानैदेखि अभिनय, नृत्यमा सुषुप्त रुचि भएकी सृजनालाई फिल्म खेल्ने रहर त थियो । तर, मूलधारको भाष्यले कस्तो अनुहारलाई चाहिँ हिरोइन मान्छ, उनलाई पत्तो थिएन । मोरङमा लिम्बू समाजमा हुर्केकी उनलाई आर्यन समाजले विभेद गरेको थाहा पनि थिएन । त्यो थाहा पाउनलाई सृजनाले कम्तीमा ५-७ वर्ष कुर्नुपर्यो ।
एकपटक उनलाई राष्ट्रिय नाचघरको एक दाइले भनेका थिए, ‘हिरोइन नबन तिमी । मैले अर्को बहिनीलाई पनि सम्झाएर पठाएको छु ।’
‘ती दाइले किन त्यसो भनेर निकै पछि मात्रै थाहा पाएँ । जसरी फिल्म बनाइन्थे, त्यहाँ हाम्रो अनुहारको लागि कुनै खाले पनि स्पेस रहेनछ’, सृजना मुद्दामा छिर्छिन्, ‘यहाँ आदिवासी, जनजातिलाई हेर्ने नजरिया फरक रहेछ । निकै पछाडि मात्रै ती सबै भाष्यहरु बन्नुमा राज्यले कहाँ राखेको रहेछ भनेर थाहा भयो । त्यो दाइले त्यसो भन्दा पनि म निराश भने भएको थिइनँ ।’
‘लुट’की ‘पुतली’
सृजना मण्डलामा थिइन् । निश्चल बस्नेत फिल्म बनाउन लागेका थिए । दया, सौगातलगायत ‘लुट’मा काम गर्न लागेका थिए । सृजना पनि ‘लुट’मा जोडिइन् । तर, उनको भूमिका खासै थिएन । दुई तीन सीनमात्रै थियो ।
‘त्यसवेला त काम पाउनु नै ठूलो कुरा थियो । हिरोइनबारे सोच्ने कुरै रहेन । जनजाति अनुहार मुख्य हिरोइन हुने आशै थिएन’, सृजना खुला सुनिन्छिन्, ‘हामीलाई त अहिले पनि हिरोइन भन्दा पत्याउँदैनन् । हिरोइन हुनलाई लुगा त्यस्तै लगाउनुपर्ने रे, मेकअप त्यस्तै गर्नुपर्ने रे ! फेरि हामी चाहिँ काममा विश्वास गर्ने मान्छे । कतिले त कलाकार हो भन्दा पनि पत्याउँदैनन् अहिले पनि । त्यसवेला कस्तो थियो होला, आफैं सोच्नुस् !’
‘लुट’मा जति भूमिका पाइन्, त्यति गरिन् सृजनाले । तर, त्यस्तो ठूलो आशा र अपेक्षा भने राखेकी थिइनन् । सायद ‘लुट’को टीमले पनि त्यस्तो अपेक्षा राखेको थिएन ।
स्क्रिप्टमा पनि सृजनाको पात्रलाई ‘हाकुको बुढी’ मात्रै भनिएको थियो ।
पहिलो शो कलाकार कसैले पनि हेरेनन् । दोस्रो दिन त्यसवेलाका चल्तापुर्जा समीक्षक दीपेन्द्र लामाले समीक्षा लेखे । लामाको समीक्षामार्फत् पो सृजनाले थाहा पाइन्, उनको नाम त ‘पुतली’ रहेछ । पुतली को रैछ भन्दा हाकुको बूढी ।
फिल्म स्लिपर हिट भयो । सृजनालाई त्यही सानो भूमिका नै काफी भइदियो । हाकु, गोफ्ले र पुतलीले प्रख्याती कमायो । मिमहरु बने । चर्चा भयो । मान्छेले चिने । नाटकका कलाकारप्रति दर्शकको विश्वास बढ्न थाल्यो । दया र सौगातले त यसपछि पछाडि फर्केरै हेर्नु परेन ।
‘लुट’पछि दया र सौगातको तुलनामा सृजना व्यस्त त भइनन् । तर, ‘डाइङ क्याण्डल’ जस्ता फिल्म यही बीचमा गरिन् । राष्ट्रिय अवार्ड पनि आफ्नो पोल्टामा पारिन् । नाटकमा व्यस्त भइन् । सृजना सुनाउँछिन्, ‘यति लामो समय भइसकेछ, कति चाँडै समय सकिएछ । यो १५ वर्ष त दुई वर्ष जस्तो लाग्छ अहिले सम्झँदा ।’
ग्ल्यामर कि अभिनय ?
‘लुट’पछि नेपाली फिल्म क्षेत्र बदलिएको छ भनिन्छ । आदिवासी अनुहारहरु स्टार बनेर गएका छन् । तर, सृजनालाई पनि बाहिरबाट हेर्दा मात्रै धेरै बदलिएको जस्तो देखिने हो कि लाग्छ । भनिन्छ नि, कति कुरा बाहिरबाट फरक देखिन्छ, भित्रबाट फरक देखिन्छ ।
२०५८ सालमा निर्देशक नवीन सुब्बाले ‘नुमाफुङ’ ल्याएर मूलधारको फिल्म क्षेत्रमा मिसाइदिए । यसपछि सुब्बा भोकल भएर गए । नेपाली फिल्ममाथि निरन्तर प्रश्न तेर्साइरहे । ‘नुमाफुङ’ आएको दश वर्षपछि ‘लुट’ आयो । ‘लुट’ले मंगोल अनुहारहरुलाई सुपरस्टार बनायो । तर, पुरुषमात्रै सुपरस्टार किन भए ?
यसको ठ्याक्कै उत्तर सृजनासँग छैन । तर, पुरुष र महिलाको केसमा धेरै फरक हुने अनुभूति भने सृजनासँग छ । पुरुषहरुको ४०-५० सम्म पनि बैंस जाँदैन भन्छन् । ३० काट्नासाथ महिलाको सबै सकियो भन्छन् । या त महिलाले जादु नै गर्नुपर्छ ।
कतिपय महिलाले प्रेग्नेन्सीको समयमा पनि काम गरेका छन् । त्यसमा सृजना स्वयं पनि पर्छिन् । तर, फिल्म क्षेत्र परिवर्तन भए पनि महिलाको विषयमा कुनै बदलाव महसुस गर्दिनन् सृजना ।
‘यहाँ महिलामा अहिले पनि ग्ल्यामर खोजिन्छ । कामको मूल्यांकन होइन, आउटलुक हेरिन्छ । फिगरको व्याख्या गरिन्छ’, सृजना बोल्छिन्, ‘फिगर भन्ने कुरा त देश, जात, भूगोलअनुसार हुँदै जाने हो । हिमालमा जिरो फिगर खोजेर भयो त ? सबैको शारीरिक बनावट फरक हुन्छ, एकै टोकरीमा राख्ने होइन । अहिले हल्का परिवर्तन त भएको हो, तर आशलाग्दो रुपमा होइन ।’
एकदमै सुस्त परिवर्तन देखिनुमा पुरुष मनोविज्ञान नै कारक हो, सृजनाको विश्लेषण यस्तै छ । लेखनदेखि फिल्मको हरेक पाटोमा पुरुष छन् । लेख्ने पुरुषले पनि आफ्नै अनुभव मिसाउँदै लेख्ने हो । त्यहाँ केटी छुस्स आइदिए भयो । त्यो आउन काम पनि चाहिएन । सृजना भन्छिन्, ‘अनि त्यस्तो ठाउँमा छुस्स आउने केटीहरु त सो पिस नै त होलान् !’
‘सृजनालाई एकपटक हेर्न मन छ’
हिजो बिरालोले अफिस सारे जसरी सार्दै दुःखले चलाएको मण्डला अहिले स्टाफमार्फत् चल्ने संरचनामा गइसकेको छ । यस वर्ष मण्डलाले मण्डला बाहिरका निर्देशकहरुसँग काम गर्ने योजना बनाएको छ । सृजना स्वयं विमल सुवेदीको नाटकमा काम गर्दैछिन् ।
सृजनाको बच्चा पनि स्कुल लगाउने भइसकेको छ । घरमा समय पनि दिइरहेकी छन् । सृजना भन्छिन्, ‘बच्चाहरु भएपछि जिम्मेवारीले पनि काममा थोरै असहज बनाएर लैजाँदो रहेछ । कतिलाई त कामै नपाएर यस्तो कुरा गर्छे भन्ने पनि लाग्दो होला । तर, त्यस्तो होइन ।’
फिल्ममा अफर पनि सृजनालाई पातलो आउँछ । यतिकै क्यामेरामा देखिन नै पनि काम गर्ने रहर सृजनालाई छैन । कम्तीमा आफूले गरेको कामले केही अर्थ राखोस् भन्ने चाहन्छिन् । सृजनालाई आफ्नै साथीहरुले पनि काम किन नगरेको भनेर प्रश्न गर्छन् । तर, सृजनालाई भने जुनसुकै समयमा पनि व्यस्त हुनुपर्छ भन्ने लाग्दैन ।
सृजना बोल्ड सुनिन्छिन्, ‘मलाई फेमस भइरहने खालको सफलता चाहिएको छैन । त्यसो भए त काम खोज्थें होला, माग्थें होला र काम पाउँथे पनि होला । तर, मलाई मान्छेको नजरमा छाइरहनु छैन । मुख्य कुरा त मलाई बुझ्न सहयोग गर्ने काममात्रै मेरो प्राथमिकतामा पर्छ । त्यसैले बिजी भइरहनुपर्छ भन्ने लाग्दैन ।’
मान्छेहरुको आफूलाई हेर्ने दृष्टिकोण अहिले सम्झेर सृजनालाई हाँस पनि उठ्छ । उनी कुनै शो पिस हिरोइन होइनन् । शो पिस बनेर भन्दा पनि अभिनयबाटै सुवास छर्न चाहन्छिन् । उनको सबैभन्दा ठूलो तागत पनि अभिनय नै हो । तर, अभिनयलाई एकातिर राखेर अन्य पाटोमा आफूप्रति टीकाटिप्पणी गर्नेहरु सम्झेर भने सृजनालाई हाँस उठ्छ ।
उनले २०७३ सालमा ‘डाइङ क्याण्डल’बाट सर्वोत्कृष्ट अभिनेत्रीतर्फ राष्ट्रिय अवार्ड जितिन् । त्यस वर्षका अन्य अवार्डहरु पनि सृजनाकै पोल्टामा परे । कामना फिल्म्स् अवार्डमा पनि सर्वोत्कृष्ट अवार्ड जितेकी थिइन् । अवार्ड वितरणको वेला काम विशेषले उनी हङकङमा थिइन् । यता अवार्ड लिन बहिनीलाई पठाएकी थिइन् ।
त्यहाँ ‘महानायिका’ भनेर दाबी गरेकी अभिनेत्रीले स्टेजबाटै भनिन् रे, ‘हाम्रो प्रियंका, केकीहरुको के काम, सृजनाले यस्तो अवार्ड पाउँछ भने ।’ यो कुरा सुनेपछि सृजनाको मन खुब अमिलो बनेको थियो । तर, ‘डमी’ बनेको पनि थाहा नपाउनेहरुले जे भन्दा पनि भइगो भनेर चित्त बुझाइन् ।
पछि ती नायिकाले सृजनाकी बहिनीलाई अवार्ड दिँदा पनि भनेकी थिइन् रे, ‘बहिनी मलाई एकपटक सृजनालाई हेर्न मन छ ।’
सृजना बोल्छिन्, ‘रोल मोडल भनिएकाले त्यस्तो बोलेको रे ! जसलाई आफू के हो भनेर आफैंलाई थाहा छैन ।’
यस्ता कुराले सुरुसुरुमा सृजनालाई अलि नराम्रो लाग्थ्यो । अहिले भने आनन्द लाग्ने बताउँछिन् । सृजना हाँस्दै भन्छिन्, ‘म अहिले धेरै परिपक्व हुँदै गएँ । फर्केर हेर्दा आनन्द लाग्छ । अवार्ड पाउँदा पनि मागेर पाएको हो कि जस्तो गर्ने यही समाजका रोलमोडलहरु हुन् । तर, मलाई समाजले कसरी हेर्छ भनेर स्पष्ट भइसकेको छु । तर, म के हुँ, म के होइन, मलाई राम्रैसँग थाहा छ । कसैले मान्छे नगनेर म मान्छे नहुने होइन क्यारे !’