काठमाडौं महानगरको निर्णय अवज्ञा गर्दै अरनिकोले चढायो जडिबुटीबाटै यात्रु
काठमाडौं । काठमाडौं महानगरपालिकाको निर्णय अवज्ञा गर्दै अरनिको यातायात प्रालि लगायत केही व्यवसायीहरुले बसपार्क बाहिरबाटै यात्रु चढाएको छ ।
काठमाडौंभित्रबाट उपत्यका बाहिरका विभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक बस जीप तथा माइक्रोबस शुक्रबारदेखि नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने नियमको उल्लघंन गर्दै जडीबुटीबाटै यात्रु चढाएको हो ।
दोलखा, चाैतरा जाने बस जीपहरु जडिबुटीबाट चलिरहेका छन् । अरनिको यातायातले महानगरले जबरजस्ती गरे र फोर्स गरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ ।
काठमाडौँ महानगरपालिकाले उपत्यकाको सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाउनका गत जेठ १९ गते एक सूचना जारी गरी असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट लामो, मध्यम तथा छोटो दूरीका सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन गर्दै शुक्रबारदेखि बस,जीप तथा माइक्रोबस नयाँ बसपार्कभित्रबाट सञ्चालन भइरहेका थिए ।
तर अरनिकाे यातायातले सर्वसाधारण तथा यातायात व्यवसायी मजदुरहरुलाई लगाइएको निर्णयविरुद्धआन्दोलन स्वरुप जडिबुटीबाट यात्रु चढाएको जनाएको छ ।
काठमाडौंभित्रको बल्खु, कलङ्की, बालाजु, माछापोखरी, गोङ्गबु, कोटेश्वरलगायत क्षेत्रमा काउण्टर राखेर सञ्चालन हुँदै आएका बस तथा माइक्रोबस पनि हिजोदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन भएका छन् । महानगरले हिजो बिहानैदेखि चक्रपथ क्षेत्रमा अव्यवस्थितरुपमा सञ्चालित टिकट काउण्टर हटाएको थियो ।