व्यवसायिक लागत घटाउन पहल गर्ने मुख्यसचिव अर्यालको आश्वासन
काठमाडौं । नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले व्यवसायिक लागत घटाउन सरकारले विशेष पहल गर्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसंग भएको भेटमा उनले हालको आर्थिक अवस्था सुधारका लागि सरोकारवाला निकायसँग समन्वय गर्नुपर्नेमा जोड दिए ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुख्यसचिव अर्याललाई बधाई दिँदै विद्यमान मन्दीको अवस्थाबाट अर्थतन्त्रलाई बाहिर ल्याउन सरकारले विशेष पहल गर्नुपर्ने बताए । यसैगरी अध्यक्ष ढकालले आर्थिक विधेयकमा गरिएको परिवर्तनले विभिन्न उद्यम व्यवसायमा नकारात्मक प्रभाव देखिएको भन्दै यसको संशोधनका लागि पहल गर्न पनि मुख्यसचिव डा. अर्यालसमक्ष आग्रह गरे ।
यसैगरी जिल्ला नगरमा आयोजना हुने मेला महोत्सव व्यवस्थित बनाउन जिल्ला नगर उद्योग वाणिज्य संघले आयोजना गर्ने गरी व्यवस्था गर्नुपर्ने सुझाव अध्यक्षले राखे ।
वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले सरकारको निजी क्षेत्रबारे प्रष्ट नीति हुनुपर्नेमा जोड दिए । महासंघका उपाध्यक्षहरू सुरकृष्ण वैद्य र हेमराज ढकालले बढ्दो व्याजदरका कारण साना व्यवसायी प्रभावित रहेकाले व्यवसायिक लागत घटाउन सरकारले पहल गनुपर्ने बताए ।