बेरुजु शून्य बनाउन सकिन्छ, तर जनप्रतिनिधिमा कुनै लोभ हुनुभएन : विश्वकर्मा – Nepal Press

बेरुजु शून्य बनाउन सकिन्छ, तर जनप्रतिनिधिमा कुनै लोभ हुनुभएन : विश्वकर्मा

सरुमारानी गाउँपालिका अध्यक्ष झगबहादुर भन्छन्- मैले गर्न सक्ने काममात्र भनेको छु र चुनावी प्रतिबद्धताभन्दा धेरै काम गरेर छाड्छु

रुपन्देही । झगबहादुर विश्वकर्मा बेरुजु फर्छ्योटमा लगातार शून्य राखेर राष्ट्रिय पहिचान बनाएको प्यूठानको सरुमारानी गाउँपालिकामा लगातार दुई पटक निर्वाचित अध्यक्ष हुन् । १० वर्षे शिक्षण पेशा छाडेर उनी संघीय संरचनाअनुसार पहिलो स्थानीय तह निर्वाचनताका राजनीतिमा होमिएका थिए ।

दलित र जनजाति समुदाय बाहुल्य यस पालिकामा छोरीलाई नपढाउने र बाल विवाह बढी हुने समस्या छ । त्यसैले उनीको शिक्षाको लागि ‘छोरी पेवा बचत’का लागि पालिकाले वार्षिक ४० लाख रुपैयाँ खर्च गर्दै आएको छ । समाजमा पछाडि पारिएको समुदायबाट शैक्षिक र राजनीतिक क्षेत्रको जिम्मेवारी लिएर नमुना काम गरेका झगबहादुरको नेतृत्वमा गाउँपालिकाले कसरी काम भइरहेको छ ? अन्य पालिकाभन्दा के कसरी फरक काम भइरहेको छ ? लगायतका विषयमा उनै गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्मासँग नेपालप्रेसकर्मी रामप्रसाद आचार्यले गरेको कुराकानी :

– शिक्षण पेशा छाडेर जनप्रतिनिधि बन्नुभयो, दोस्रो कार्यकालमा पनि बाजी मार्नुभयो । कसरी काम गरिरहनुभएको छ ?

म १० वर्ष ४ महिना शिक्षण गरेर यता आएको हुँ । मलाई मेरो पार्टीबाट निर्विकल्प उम्मेदवारको रुपमा सिफारिस गरेपछि शिक्षण पेशा छाडेको हुँ । पहिलोपटक हामी निर्वाचित भएर आउँदा पालिकाका आफ्नो कुनै कार्यालयहरु थिएनन् । विद्यालयको खाली कोठाबाट कार्यालय सेवा सुरु गरेका थियौं । वडा कार्यालयहरु पनि थिएनन् । भौतिक संरचनाको यस्तो अवस्थामा कोभिड महामारीले अर्को पीडा दियो । पहिलो कार्यकाल साँच्चै नै चुनौतीपूर्ण अवस्थामा बित्यो । अहिले आएर हाम्रो आफ्नै प्रशासकीय भवन बनेको छ । सबै वडाहरुमा वडा कार्यालय बनेका छन् । आफ्नै सभाहल पनि निर्माण भएका छन् । भौतिक पूर्वाधार, सामाजिक विकास, कृषि, पशुपालनको क्षेत्रमा हामीले केही काम आरम्भ गरेका छाैं । लगातारको मेहनतले पालिकावासीलाई स्थानीय सरकारको अनुभूति दिलाएका छौं ।

– पालिकालाई लगातार बेरुजु शून्य बनाउनुभयो । कसरी सम्भव भयो ? यो आइडिया अन्य पालिकाले सोधेका छन् कि छैनन ?

यो हाम्रो पहिचान बनाएको विषय हो । गएको आर्थिक वर्षमा देशका ७५३ स्थानीय तहमध्ये प्यूठानका २ वटाले बेरुजु शून्य पारे । त्यसमध्ये सरुमारानी एक हो । मेरो लक्ष्य भनेको दश वर्षसम्म बेरुजु शून्य गाउँपालिका बनाउने हो । त्यो सफल पनि हुनेछ । तर, मेरो एकल प्रयासले मात्र हुँदैन । सम्पूर्ण उपभोक्ता समिति, कर्मचारी, जनप्रतिनिधि सुशासनमा प्रतिबद्ध हुनुपर्छ । यसको लागि लगातार खटिने पूर्व प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि रेग्मी र उहाँको टीमलाई विशेष धन्यवाद दिन चाहन्छु ।

सिंचाइ तथा खानेपानीमा जोड दिने, पर्यटकीय गन्तव्यस्थलहरुको विकास गर्ने, शिक्षा क्षेत्रमा अनुगमन, मूल्यांकन र निरीक्षणको पद्धतिलाई प्रभावकारी बनाउने योजना मुख्य प्राथमिकतामा रहेको छ ।

जनप्रतिनिधि र कर्मचारीबीच सुशासन कायम हुने हो भने बेरुजु शून्य सम्भव हुन्छ । यो तालमेलका लागि नेतृत्वले समन्वय गर्नुपर्छ । अन्य पालिकाको नेतृत्वले पनि यो विषयमा चासो राख्नुभएको छ । उहाँहरुलाई हामीले गरेको तरिका बताएका छौं । जनप्रतिनिधिमा कुनै लोभ हुनुभएन, कर्मचारीसँग समन्वय गर्न सकियो भने यो सम्भव छ ।

– नयाँ आर्थिक वर्ष सुरु हुँदैछ । कस्ता योजनालाई प्राथमिकता दिनुभएको छ ?

हामीले सुरु गरेको पूर्वाधारका योजनाहरुलाई सम्पन्न गर्नेछौं । खासगरी कृषि, पशुपन्छीको स्रोत केन्द्रको स्थापना गर्नेतर्फ ध्यान केन्द्रित भएको छ । गाउँपालिकाको केन्द्र जोड्ने वडा नं ६ को बुढीचौर मुर्कुटी मोटर बाटोको नयाँ ट्रयाक खोल्ने र कृषि, पशुपन्छीमा हेफर कार्यक्रममा जोडेर पशु क्षेत्रमा उल्लेखनीय परिणाम निकाल्ने योजनामा छौं । सिंचाइ तथा खानेपानीमा जोड दिने, पर्यटकीय गन्तव्यस्थलहरुको विकास गर्ने, शिक्षा क्षेत्रमा अनुगमन, मूल्यांकन र निरीक्षणको पद्धतिलाई प्रभावकारी बनाउने योजना मुख्य प्राथमिकतामा रहेको छ ।

– सरुमारानीलाई फरक र उत्कृष्ट भनेर चिनाउन के के नयाँ योजना ल्याउनुभएको छ ?

स्थानीय सरकारले गर्ने अधिकांश काम त समानै हुन्छ । हामीले ‘किसानसँग गाउँ सरकार’ र ‘छोरी पेवा बचत’ जस्ता केही नयाँ काम सुरु गरेका छौं । यो कार्यक्रमको सोच हामीले अन्य स्थानीय तहहरुको देखेर, सुनेर ल्याएको होइन । हामीले हाम्रो आफ्नै सरुमारानीको विशिष्ट प्रकृतिमा यहाँका छोरीहरुको अवस्थालाई अध्ययन गरेर, यहाँ पशुपालनको अवस्थालाई अध्ययन गरेर, यसबाट हामीले किसानसँग गाउँ सरकार कार्यक्रम र छोरी पेवा बचत कार्यक्रम लागू गर्नुपर्छ भनेर दीर्घकालीन कार्यक्रम सुरु गरेका हाैं । किसानहरुसँग स्थानीय सरकार जोडिने भन्ने हो ।

खासगरी यहाँको समस्या भनेको बाल विवाह हो । पढ्दापढ्दै विद्यालय छोड्ने, विद्यालय नजाने यस्ता समस्याको कारण नै ‘छोरी पेवा बचत कार्यक्रम’को जन्म भएको थियो । नानीहरुको लागि हामीले स्थानीय २ वटा सहकारीमार्फत ‘छोरी पेवा बचत कार्यक्रम’ थालेका हौं । यो हाम्रो नयाँ काम हो । दलित र जनजाति बाहुल्य रहेको पालिकामा शैक्षिक विकासका लागि यो अभियान थालिएको हो । वार्षिक ४० लाख रकम यो शीर्षकमा खर्च भएको छ र नतिजा पनि राम्रो आएको छ । हामीले १० वर्ष यसमा सहयोग गर्ने योजना थालेका हौं । अन्य नागरिकका सेवामूलक काम त चलिरहेका छन् ।

– पालिकामा खानेपानीको समस्या पुरानै हो । यो चुनावी एजेन्डामात्रै बन्यो कि काम पनि भइरहेको छ ?

पालिकामा खानेपानीको समस्या भएको यथार्थ हो । यहाँको हंसपुर गाउँको प्रमुख समस्या भनेको नै खानेपानी हो । मेरो बाल्यकाल र किशोरकालमा डोकोमा पानी बोकेर बिताएको हुनाले यसमा म राम्रोसँग जानकार छु । यहाँ केही मानिसहरुले बस्न दिनसक्ने, खान दिनसक्ने तर पानी दिन नसक्ने अवस्था छ । पानीकै समस्याका कारणले छोरीहरु बाहिर विवाह गरेर जाने तर छोराहरुलाई बिहे गर्न पनि गाह्रो हुने परिस्थिति थियो । हामीले खानेपानी योजनाका लागि सुरुमा ६० लाख बजेट विनियोजन गरेका थियौं । त्यो योजनाको लक्ष्य ५०० भन्दा बढी घरधुरीमा खानेपानी पुर्‍याउने थियो ।

स्थानीय सरकारले गर्ने अधिकांश काम त समानै हुन्छ । हामीले ‘किसानसँग गाउँ सरकार’ र ‘छोरी पेवा बचत’ जस्ता केही नयाँ काम सुरु गरेका छौं । यो कार्यक्रमको सोच हामीले अन्य स्थानीय तहहरुको देखेर, सुनेर ल्याएको होइन ।

पछि प्रदेश सरकारबाट आधाभन्दा कम घरधुरीमा खानेपानी पुर्‍याउने योजना पार्‍यौं र बाँकी ३५० घरधुरीमा हामीले निरन्तरता दियौं । योजनाको रकम ठूलो भएपछि ठेक्का प्रकियामा गयो । ठेकदारले १ वर्षमा हुने काम २ वर्ष लगायो । यसैबीचमा कोभिड सुरु भयो । हामीले ३ वर्षमा सम्पन्न गर्ने अवस्था रहेन र यो योजना छैटौं वर्षमा चलिरहेको छ । माडी नदीबाट लिफ्ट गरेर हंशपुरका अग्ला अग्ला चुचुरोमा पानी परीक्षण गरेर केही घरधुरीहरुमा धारामार्फत खानेपानी वितरण सुरु गरेका छौं । यस आर्थिक वर्ष भरमा सबै घरधुरीमा पानी पुर्‍याउने लक्ष्य छ ।

– धेरै पालिकाले पर्यटन क्षेत्रको विकासबाट लाभ लिएका छन् । तपाईंको पालिकामा के छन् त्यसखालका योजना ?

पर्यटन प्रवर्द्धन गर्न स्वर्गद्वारी घुम्न आउने पर्यटकहरुलाई यस गाउँपालिकामा भएका अन्य पर्यटकीय स्थलहरुको अवलोकन गराउने योजना बनाएका छौं । बड्डाँडादेखि पूर्वतिर १ किलोमिटरमा रहेको शान्तिपार्क, रानीकुवा निर्माण गरेका छौं । जहाँ ३०० जना अट्ने सभाहल निर्माण भएको छ । पार्कभित्र बेन्चहरु छन्, वरपिपल र स्वामीका बोटहरुमा मौलिक रुप झल्कने चौपारी बनाएका छौं । आगामी आर्थिक वर्षमा यो योजनालाई प्रदेश समपूरक योजनाको रुपमा राखेका छौं । आगामी आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाको ५० लाख विनियोजन हुनेछ । यस पार्कमा सभा समारोह, योग र ध्यान गर्न सकिन्छ ।

अन्य विभिन्न कार्यक्रम गर्न सकिने र गाउँपालिकाको केन्द्र नजिक रहेकाले आन्तरिक पर्यटक तथा स्वर्गद्वारी दर्शन गर्न आउने पर्यटकहरुलाई यस ठाउँले अवलोकन गर्न प्रोत्साहन गर्छ । यस पालिकाभित्र रहेका पर्यटकीयस्थल किमिचौर दह, पुठा दरबार, सरुमारानी लेक, सहिद मदन आश्रित पार्क जस्ता ठाउँहरुमा मोटर बाटो स्तरोन्नति गर्ने, सिँढी बनाउने, पानी पुर्‍याउने, चौपारी निर्माण गर्ने र कतिपय काम भइसकेको र पूरा गर्ने तयारीमा छौं । यस पालिकालाई धार्मिकस्थल तथा पर्यटन गन्तव्यको रुपमा विकास गरेका छौं । पर्यटन क्षेत्रको विकासमा हाम्रो ध्यान गएको छ ।

– पहाडी क्षेत्रमा कृषि, शिक्षा, स्वास्थ्य र खेलकुदमा भन्दा भौतिक पूर्वाधारमा बढी लगानी भएको बताइन्छ । तपाईंले कसरी काम गर्नुभएको छ ?

पहिलो कार्यकालमा हामी आउँदा विद्यालयमा दरबन्दी अभाव हुँदा जनताले वार्षिक चन्दा उठाएर निजी स्रोतमा शिक्षक राख्ने धेरै विद्यालयको बाध्यता थियो । त्यसरी कार्यरत निजी स्रोतका शिक्षकहरुलाई हामीले गाउँपालिकाको दरबन्दी कायम गरेर अनुदान शिक्षकका रुपमा व्यवस्थापन गरेका छौं । करिब ७० जनाभन्दा बढी शिक्षकको दरबन्दी कम रहेको छ । १० वटा बाल विकासको स्थापना गरेका छौं । भौतिक पूर्वाधारको काम गरेका छौं । शिक्षा क्षेत्रमा ६२ जना जनशक्ति तयार गरेका छौं । केन्द्र र प्रदेश सरकारबाट आएका कार्यक्रमहरु गरेका छौं । आईसीटीसम्बन्धी तालिम, बाल विकास विद्यालयहरुमा मन्टेश्वरी तालिम सञ्चालन गर्ने, सूचना प्रविधियुक्त भएका छन् । विद्यालयहरुमा ल्यापटप, प्रोजेक्टर र इन्टरनेट प्रक्रिया अघि बढाइएको छ । शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरेका छौं ।

त्यस्तैगरी स्वास्थ्य क्षेत्रमा वडा नं १ को बांगेशालामा एमबीबीएस डाक्टर राखेका छौं । १० शय्याको अस्पतालको लागि १६ रोपनीभन्दा बढी जग्गादाताहरुबाट सहयोग पाएका छौं । अलि विकट ठाउँमा परेकाले लागत धेरै हुने हुँदा टेन्डर प्रक्रियामा रहेको छ । ३ वटा ल्याब सेन्टर स्थापना गरेका छाैं । ६ वटा बर्थिङ सेन्टर बनाएका छौं । नयाँ एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाएका छौं । स्वास्थ्य केन्द्र स्थापना भएका छन् ।

पहाडी जिल्लाको पालिका हो । धेरै आम्दानीको स्रोत नभएकाले काम गर्न अप्ठेरो छ । बजेटको करिब ३ प्रतिशतमात्रै आन्तरिक स्रोतले थेग्नेलाई राम्रो मान्न सकिँदैन । यहाँ खोलानाला पनि पनि छैनन् ।

कृषि क्षेत्रमा हेफर प्रोजेक्ट नेपालको साझेदारीमा कृषि तथा पशु उद्यम परियोजना सञ्चालन गरेका छौं । जसले गर्दा गाउँ-गाउँमा यान्त्रिक मिनिट्रिलर पुर्‍याउने, बाख्राका आधुनिक खोरहरु निर्माण गर्ने, हेफरमार्फत सहयोग भएका २ वटा सहकारी थिए । एउटा थप गरी ३ पुगेको छ । यी महिला सहकारीमार्फत सरुमारानीभित्रका किसानले विनाधितो १० लाख रुपैयाँ सहुलियतमा ऋण पाउनेछन् । यस वर्ष हामी कृषि तथा पशुपन्छी विकास स्रोत केन्द्र स्थापना गर्दैछौं । यस केन्द्र स्थापनापछि किसानहरुले रोजगारी पनि पाउने र कृषि उद्यमशीलता प्रवर्द्धन गर्ने कोसिस गरेका छौं ।

– पालिकाको आन्तरिक स्रोत कस्तो छ र बसाइसराइले समस्या पारेको छ कि छैन ?

पहाडी जिल्लाको पालिका हो । धेरै आम्दानीको स्रोत नभएकाले काम गर्न अप्ठेरो छ । बजेटको करिब ३ प्रतिशतमात्रै आन्तरिक स्रोतले थेग्नेलाई राम्रो मान्न सकिँदैन । यहाँ खोलानाला पनि पनि छैनन् । वनजंगल धेरै भएकाले काठ निकासीमा सहज भए स्रोत बढाउन सकिन्छ भन्ने विषय मैले माथिल्लो तहमा जानकारी गराएको छु ।

बसाइसराइले धेरै प्रभाव परेको छैन । पहिले गाउँ छाडेर गएकाहरु पनि क्रमशः गाउँमै जग्गा किन्ने, फर्कने गर्न थालेको अवस्था छ । यो हाम्रो पालिकाको लागि राम्रो पक्ष हो ।

– ४ वर्षपछि गाउँपालिकाबाट बिदा भएर जाँदा कस्तो बनाएर छोड्छु भन्ने लक्ष्य छ ? के छन् बाँकी प्रतिबद्धता ? कति पूरा भए ?

यो समयमा म केही महत्वाकांक्षी योजना पूरा गर्ने सोचमा छु । खास गरेर सबै बस्तीहरुलाई सडक सञ्जालले जोड्ने, विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार्ने, छोरी पेवा बचत कार्यक्रमलगायत पछाडि परेका जाति तथा वर्ग, समुदायलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउने, १० वर्षमा बेरुजु शून्य बनाउने रहेका छन् ।

त्यस्तै स्वास्थ्य क्षेत्रमा यस गाउँपालिका जनताको पहुँच पुर्‍याउने, खेतीयोग्य जमिनमा आधुनिक खेती प्रणाली विस्तार गर्ने, सरुमारानीलाई जिल्लाको कृषि केन्द्रको हब बनाउने र अन्त्यमा समृद्ध सरुमारानी निर्माण गरेर बिदा हुनेछु । मैले गर्नसक्ने काममात्र भनेको छु र चुनावी प्रतिबद्धताभन्दा धेरै काम गरेर छाड्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर