प्रदेश सांसद कलबारले संसद विकास कोषको रकमबाट २४४ जना छात्रालाई बाँडे साइकल
रुपन्देही । तराई मधेसमा छोरीहरुलाई उच्च शिक्षा पढाउन सहज बनाउन लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ कलबारले २८ लाख रकमको साइकल वितरण गरेका छन् ।
उनले प्रदेश सरकारबाट पाउने कोषअन्तर्गत आफ्नो निर्वाचन क्षेत्रमा ‘बेटी बचाउँ, बेटी पढाउँ’ कार्यक्रम राखेर साइकल वितरणलाई अगाडि सारेका थिए । नवलपरासी निर्वाचन क्षेत्र नं २ (ख) बाट निर्वाचित सांसद कलबारले आफ्नो निर्वाचन क्षेत्रका ७ सामुदायिक विद्यालयमध्ये ५ वटामा २४४ वटा साइकल वितरण गरेका छन् ।
बाँकी दुई विद्यालयमा केही दिनमा वितरण गर्ने तयारी छ रहेको उनले बताए ।
‘चालू आर्थिक वर्षमा २८ लाख बराबरको साइकल बाँड्ने योजनाअनुरुप मैले ५ वटा स्कुलमा बाँडिसकेको छु, २ वटामा केही दिनमा बाँड्ने हो, छनोट र खरिद प्रक्रियामा हामी सहभागी हुँदैनौं, स्कुलले पूरा गरेको हुन्छ’, उनले भने, ‘तराईमा छात्रालाई पढ्न सहज बनाउन यस्तो कार्यक्रम थालेको हुँ, आउने वर्ष पनि निरन्तरता दिने योजना पेश गरेको थिएँ । खै योजना पर्यो कि परेन अझै जानकारी छैन ।’
चालू आर्थिक वर्षको आफ्नो क्षेत्र विकास कोषको रकम छुट्टाएर कक्षा ११ र १२ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण भइरहेको कलबारले जानकारी दिए ।
पवन माध्यमिक विद्यालय परासीका १०४, आदर्श मावि परासीका ६४, जनता मावि डैनहवाका ३९, जनता मावि सुक्रौलीका १९ र सुकदेव मावि सनईका १८ जना छात्रालाई साइकल वितरण गरिएको छ ।
सिद्धार्थ मावि कुस्मा र राजनारायण मावि गेर्मीमा भने केही दिनमा वितरण गरिनेछ । साइकल पाउन मापदण्ड तोकिएको छ । मापदण्डअनुसार कलेजबाट टाढा रहेका विपन्न, दलित, जेहेन्दार छात्राहरुले साइकल पाउनेछन् । तराई मधेसमा छोरीहरुलाई उच्च शिक्षा पढाउन अभिभावकहरुले रुचि देखाउन छाडेकाले शिक्षाप्रति प्रेरित गर्न कार्यक्रम सञ्चालन गरिएको सांसद कलबारको भनाइ छ ।
एउटा साइकल ८ हजार ४ सयदेखि ८ हजार ५ सयसम्म तिरेर विद्यालयले खरिद गरेको छ । एउटा साइकल बढीमा ९ हजारसम्म खरिद गर्न सकिने भएकाले कोटेशनमार्फत खरिद गर्दा कम मूल्य परेको आदर्श मावि परासीका प्रधानाध्यापक दीपक भट्टराईले बताए ।
साइकल खरिदको लागि लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट निकासा हुने रकम सामाजिक डिभिजन कार्यालय भैरहवाबाट सीधै विद्यालयको खातामा पठाएर विद्यालयहरुले साइकल खरिद गरेका हुन् ।