कर्णालीका अर्थमन्त्री भन्छन्- बजेटमा विचौलिया हाबी भयो, आवश्यक परे प्रमाण सार्वजनिक गर्छु
सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री बेदराज सिंहले बजेट निर्माणमा दबाब र बार्गेनिङ भएको खुलासा गरेका छन् । योजना आयोगका व्यक्तिबाट बजेट निर्माणमा दबाब आएको र विचौलियासमेत हाबी भएको उनले बताए ।
शुक्रबार संसदमा प्रस्तुत बजेटबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री सिंहले विचौलियाहरूका सबै प्रमाण आफूले सुरक्षित राखेको र आवश्यक परे सार्वजनिक गर्ने दाबी गरे ।
बजेट निर्माण गर्दा योजना हाल्नका लागि सरकारी निकायकै मतहतका व्यक्तिहरुबाट बार्गेनिङ र दबाब आएको उनको भनाइ थियो ।
अर्थमन्त्री सिंहले भने,`सचिवालयमा म्यासेज, टेलिफोन, विभिन्न किसिमका आग्रह, प्रलोभन र बजेट निर्माणलाई प्रभाव पार्ने धम्की समेतसमेत आएको थियो । मैले त्यस्तो बिचौलियाहरूलाई रोक्नका लागि प्रयास गरिरहेको छु ।’
आफू कसैको प्रलोभनका भने नपरेको उनको दाबी थियो ।
अन्तिम समयसम्म मुख्यमन्त्री राजकुमार शर्माले समेत बजेटमा अनावश्यक दबाब दिएको भन्दै कांग्रेसका नेताहरूले असन्तुष्टि जनाएको थियो ।