विश्वकप छनोटः बलिङ नचल्दा जिम्बावेसँग नेपालको फराकिलो हार
काठमाडौं । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा उत्कृष्ट बलिङ प्रदर्शन गर्न नसक्दा नेपालले घरेलु टीम जिम्बावेसँग फराकिलो हार व्यहोरेको छ ।
टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९१ रनको लक्ष्य जिम्बावेसामु प्रस्तुत गरेको थियो । दोस्रो ओभरमा जवाफी ब्याटिङमा उत्रिएको जिम्बावेले ४४.१ ओभरमा लक्ष्य पूरा गर्दै नेपालमाथि शानदार ८ विकेटको जीत निकालेको हो ।
नेपालका बलरहरु सोमपाल कामी र गुलशन झाले एक-एक विकेट लिनुबाहेक अरु बलर चल्न सकेनन् ।
जिम्बाबेसामु बलियो योगफल बनाए पनि नेपालका मुख्य बलरहरु नै महँगा साबित भए । स्पिनर सन्दीप लामिछानेले सर्वाधिक ७७ रन खर्चिए । १० ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले ५८ रन खर्चिए ।
जिम्बाबेका ओपनर जोयलर्ड गुम्बी २५ रन र विस्ली मादेभेरे ३२ रन बनाएर आउट हुँदा कप्तान क्रेग इर्भाइनले सर्वाधिक १ सय २१ रनको अविजित इनिङ खेले ।
उनले सिन विलियम्ससँग १ सय ६४ रनको साझेदारि गर्दै १ सय २८ बलमा १५ चौका र एक छक्का प्रहार गरे । विलियम्स ७० बलमा १३ चौका र एक छक्काको मद्दतमा १ सय २ रनमा अविजित रहे ।
पहिलो इनिङमा नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ९९ रन जोडे । आसिफ शेख सँग कीर्तिमनी १ सय ७१ रनको साझेदारि गरेका कुशल आफ्नो करियरमो दोस्रो ओडीआई शतक पुरा गर्न एक रनले चुके ।
कुशलले आउट हुनु अघि ९५ बलमा १३ चौका र २ छक्का प्रहार गरे । आसिफ सय बल खेल्दा ७ चौकाको मद्दतमा ६६ रन बनाएर पभेलियन फर्किए ।
कुशल मल्लले ४२ बलमा २ चौका र ३ छक्कासहित ४१ रन जोडे । कप्तान रोहित पौडेल २९ बलमा ५ चौकाको मद्दतमा ३१ रन जोडे । आरिफ शेख १० र गुलशन झा १३ रनमा आउट भए ।
छनोटको दोस्रो खेल नेपालले जुन २० मा नेपालले अमेरिका, तेस्रो जुन २२ मा वेस्ट इन्डिज र जुन २४ मा नेदरल्यान्ड्ससंग समूह चरणको अन्तिम खेल खेल्नेछ ।
छनोटमा सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र यूएई छन् ।
प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछ्न् र दुई टिमले विश्वकपमा स्थान बनाउनेछन् ।