कर्णाली योजना आयोगको दाबी- बजेट निर्माणमा दबाब दिने कर्मचारीलाई कारबाही गरियाे
सुर्खेत । कर्णाली प्रदेश योजना आयोगले बजेट निर्माणको समयमा आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहलाई दबाब नदिएको बताएको छ ।
मंगलबार पत्रकार सम्मेलनमा योजना आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आयोगका कुनैपनि कर्मचारीले बजेट निर्माण गर्ने समयमा अर्थमन्त्रीलाई दबाब नदिएको प्रष्ट पारेका छन् ।
उपाध्यक्ष शाहीले बजेट निर्माणका समयमा विचौलियामार्फत अर्थमन्त्रीलाई दबाब दिने कर्मचारीलाई कारबाही गरेको जानकारी दिएका छन् । शाहीले अर्थमन्त्रीलाई बजेट निर्माणमा दबाब दिने उक्त कर्मचारी को थिए भन्ने कुरा भने खुलाएनन् ।
बजेट निर्माणमा आयोगको बार्गेनिङ भन्ने समाचारमा विभिन्न सञ्चार माध्यमबाट प्रकाशित समाचारमा आयोगका जिम्मेवार पदाधिकारी र कर्मचारीहरुको संग्लनता नगरेको प्रष्ट पारे ।
‘आयोगमा हालसम्म प्राप्त सूचना तथा प्रमाण अनुसार मुख्य भूमिकामा नरहेका कुनै कर्मचारीले माननीय मन्त्रीज्यूलाई दबाब र प्रभावमा पार्न खोजेको देखिएको छ’, आयोगको प्रेस विज्ञप्तिमा भनिएको छ, ।
‘निज कर्मचारीले दिएका अभिव्यक्ति र संवादहरु यस आयोगको आधिकारिक नभई निज कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणाको उपज मात्र हो । आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्रीज्यूको अभिव्यक्ति र प्रकाशित समाचारको लागि जिम्मेवार रहेका कर्मचारीलाई कानून वमोजिम कारवाही गरिसकिएको व्यहोरा जानकारीको लागि अनुरोध छ’, विज्ञप्तिमा उल्लेख छ ।
आयोगले आगामी दिनमा कुनै व्यक्तिले गरेको गल्तीलाई आयोगसँग जोडेर अभिव्यक्ति दिनु र समाचार प्रकाशन गर्नु अघि आयोगको आधिकारिक धारणा बुझ्नुहुन सम्वद्ध सबैलाई अनुरोध गरेको छ ।
आयोगसँग सम्बद्ध कुनै व्यक्तिले प्रचलित कानून उल्लंघन गरी गल्ती गरेमा, आचरण विरुद्धको कार्य गरेमा शून्य सहनशीलताको नीति अपनाइने व्यहोरा समेत अनुरोध छ ।