एउटा रद्दी फिल्मले निम्त्याएको कोलाहल ! सेन्सर बोर्डको ‘सेन्स’माथि प्रश्न
बालेनको सचिवालय भन्छ- सेन्सर बोर्डको निर्णयका आधारमा एक्सन लिइएको हो, बोर्ड भन्छः सीतालाई भारतीय छोरी भन्ने सेन्सर लाग्ने संवाद छ
काठमाडौंं । विवादित भारतीय चलचित्र ‘आदिपुरुष’ लाई लिएर नेपालमा ठूलै बबण्डर भइरहेको छ । यही चलचित्रका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरभित्र भारतीय चलचित्रलाई पूर्ण रुपमा प्रतिबन्ध लगाएका छन् ।
चलचित्रमा जानकी अर्थात सीतालाई ‘भारतकी छोरी’ भनिएको जनाएर बालेनले यो संवाद हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए । तर, निर्माण पक्षले संवाद नहटाएको भन्दै उनले काठमाडौंमा कुनै पनि भारतीय फिल्म चल्न नदिने निर्णय लिएका छन् । उनको यो निर्णयले अपार जनसमर्थन प्राप्त गरेको छ ।
नेपालमा भारतीय फिल्मको निर्वाध आयातमा नियन्त्रण गर्नुपर्ने माग विगतदेखि नै उठ्दै आएको थियो । भारतीय चलचित्रले नेपालमा भाषिक र सांस्कृतिक अतिक्रमण गरिरहेको तथा नेपाली चलचित्र उद्योगमाथि हावी भइरहेको यथार्थ पनि हो । त्यसैले बालेनले चालेको कदमले राष्ट्रप्रेमी नागरिकहरु खुशी भएका छन् । तर, उनले जुन विषयको उठान गरेर यो कदम चाले, त्यो चाहिँ तथ्यसंगत नरहेको पाइएको छ ।
बालेनले आफ्नो पहिलो फेसबुक स्टाटसमा लेखेका थिए, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन, तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’
बालेनको यो स्टाटसले सामाजिक सञ्जालमा डढेलो नै लगायो । उनको स्टाटसमा अहिलेसम्म ३ लाख ८३ हजार लाइक आएका छन् भने ४५ हजारले शेयर गरेका छन् । स्टाटसमा ७८ हजार कमेन्ट आएका छन् । यो आफैंमा अभूतपूर्व तथ्यांक हो । यसअघि सायदै नेपालीले लेखेको स्टाटसले यत्रो रियाक्सन पाएको थियो । कमेन्टहरु हेर्दा अधिकांशले बालेनलाई समर्थन जनाएका छन् ।
नेपालमा तीन दिन चलेपछि आदिपुरुषको प्रदर्शन रोकियो । सेन्सर बोर्डले ‘विवादित’ संवादमा कैंची चलाएर प्रदर्शनको अनुमति दिएको थियो । त्यसैले नेपालमा प्रदर्शित चलचित्रमा उक्त संवाद ठ्याक्कै के थियो भन्ने हेर्न मिलेन । तर, ओटीटी एपमा चलचित्र हेर्दा बालेनले उद्धृत गरेको संवाद त्यही रुपमा नभएको पाइयो । जुन संवादमा सेन्सर बोर्डले आपत्ति जनाएर कैंची चलायो, त्यसमा ‘जानकी भारतकी छोरी’ भन्ने स्पष्ट आशय व्यक्त भएको छैन ।
चलचित्रमा राघव (श्रीराम)ले आफ्नो वानर सेनालाई हौसला दिन बोलेको संंवादको एक अंश यस्तो छः
‘आज मेरे लिए मत लड्ना, अपने लिए लड्ना । उस दिनके लिए लड्ना, जब हजारौं वर्षबाद तुम्हारी गाथाएँ सुनाकर माएँ बेटौंको बडा करेगी । उस दिनके लिए लड्ना जब भारतकी किसी बेटी पर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुषको याद करके थर्रा उठेगा । उस दिनके लिए लड्ना, जब इतिहासमे तुम्हारा नाम पढकर सम्मानसे सर झुक जाएँगे ।’
यो संवादमा प्रयुक्त ‘जब भारतकी किसी बेटीपर …..’ बाट ‘भारतकी’ शब्द काट्न लगाएर सेन्सर बोर्डले चलचित्रलाई प्रदर्शनको अनुमति दिएको थियो । चलचित्रको प्रोमोमा ‘भारतकी किसी बेटी’ भन्दा सीतालाई देखाइएको छ । त्यसले गर्दा सीतालाई नै भारतकी बेटी भनिएको भान पर्छ । तर, चलचित्रमा भने यो संवाद आउँदा सीतालाई देखाइएको छैन । ‘उन दिनके लिए लड्ना जब भारतकी किसी बेटीपर हात डाल्ने से पहले….’ भन्ने संवादले भविष्यको कुरा गरेको र ‘भारतकी बेटी’ भनेर सीता नभइ भारतमा जन्मिएका आम छोरीचेलीको कुरा गरेको भन्ने अड्कल लगाउन सकिन्छ ।
नेपालको सेन्सर बोर्डले उल्लेखित संवादबाट ‘भारतकी’ शब्द हटाउन निर्देशन दिएको समाचार मिडियामा आएको थियो । सोही समाचार आएपश्चात बालेनले तीन दिनको अल्टिमेटम दिएका थिए । उनी आफैंले चलचित्र हेरेर अल्टिमेटम दिएका भने होइनन् ।
बालेनको सचिवालयले सेन्सर बोर्डकै निर्णयका आधारमा उक्त अल्टिमेटम दिइएको बतायो ।
‘सेन्सर बोर्डको माइन्युटिङ आफैंले हेरेपछि उहाँले सो स्टाटस लेख्नुभएको हो, चलचित्र हेर्नुभएको होइन’, सचिवालय स्रोतले भन्यो ।
यस विषयमा हामीले सेन्सर बोर्डका सदस्य ऋषि आचार्यसँग प्रश्न गर्यौं । उनले चलचित्रमा जानकीलाई घुमाउरो रुपमा भारतकी छोरी भन्न खोजिएको उल्लेख गरे । ‘शाब्दिक रुपमा भारतकी छोरी भन्ने शब्द त परेको छैन । तर, आशय चाहिँ त्यही नै छ’, उनले भने ।
उक्त संवादमा मात्रै सुन्दा भारतका आम छोरीचेली भन्ने अर्थ लागे पनि चलचित्रको ‘सिक्वेन्स’ सीतालाई इंगित गर्न खोजेको उनको टिप्पणी छ ।
‘राघवले त्यो संवाद बोल्नुभन्दा अगाडि मात्रै रावणका सेनाले जानकीलाई अपहरण गरेको दृश्य छ । त्यसैले सीतालाई नै इंगित गर्न खोजिएको भन्ने हाम्रो बुझाइ हो’, उनले भने ।
नेपालमा उत्पन्न विवादको आगोमा घ्यू छर्किँदै चलचित्रका लेखकले भारतीय मिडियामा अन्तर्वार्ता दिए । उनले सीता भारतकै छोरी भएको तर्क गरे । यतिमात्र होइन, नेपाल देश नै सन् १९०४ सम्म भारतको हिस्सा भएको बकबाससमेत गरे । यसले गर्दा पनि नेपालमा माहोल झन् बिग्रियो ।
काठमाडौंमा अहिले भारतीय चलचित्र प्रतिबन्धित भएको छ । बहाना र कारण जेसुकै भए पनि भारतीय चलचित्रमाथि रोक लाग्दा देशलाई घाटा होइन फाइदा नै हुन्छ । चाहे आर्थिक रुपमा होस् वा सांस्कृतिक रुपमा । तर, यो रोकले निरन्तरता पाउनेमा भने शंका गर्न सकिन्छ । विगतमा पनि विभिन्न बहानामा अल्पकालीन रुपमा भारतीय चलचित्रमा रोक लगाइएको र उताको दबाबपछि खुला गरिएका दृष्टान्तहरु छन् ।
यसपटक बालेनको पक्षमा जनसमर्थन छ । तर, उनले देखाएको कारण बलियो छैन । चाँडै नै उनले नेपालमा प्रदर्शन हुने विदेशी चलचित्रको कोटा निर्धारण वा अन्य कुनै नीतिगत अंकुश लगाउने हो भने त्यो चाहिँ दिगो हुनसक्छ । यसका लागि उनले एकल निर्णयमा होइन, चलचित्र विकास बोर्डसँग समन्वय गर्नुपर्छ ।
बालेनको सचिवालयका एक सदस्य ‘आदिपुरुष’ बाट विवादित संवाद नहटेसम्म रोक यथावत रहने बताउँछन् । उनले भने, ‘संवाद नहटेसम्म प्रतिवन्ध फुकुवा हुँदैन । कसैले अदालत गएर अन्तरिम आदेश लिएर आयो भने बेग्लै कुरा हो ।’
चलचित्रका भारतीय निर्माताले आदिपुरुषसँग कुनै संवाद नगरेको पनि उनले जानकारी दिए । ‘हामीसँग उनीहरुले कुनै सम्पर्क गरेका छैनन् । जुन पत्र पठाइएको भनिएको छ, त्यो महानगर वा मेयरलाई आएको छैन । मिडियामा नै हामीले देखेका हौ’, उनले भने ।
त्यसो त आदिपुरुष नेपालमा मात्रै नभएर भारतमा पनि विवादित छ । रामायणलाई विद्रुपीकरण गरिएको भनेर यसमाथि अदालतमा मुद्दासमेत परेको छ ।
समीक्षकहरुले यसलाई ‘रद्दी’ संज्ञा दिएका छन् । चलचित्र हेरेर ३ घन्टा कटाउन मुस्किल पर्ने आमदर्शकको प्रतिक्रिया छ ।