नरेफाँटमा घरभित्र पसेर किन निकाल्यो महानगर प्रहरीले थन्क्याएर राखेको ठेलागाडा ? (भिडिओ) – Nepal Press

नरेफाँटमा घरभित्र पसेर किन निकाल्यो महानगर प्रहरीले थन्क्याएर राखेको ठेलागाडा ? (भिडिओ)

महानगर प्रहरी प्रमुख राजु पाण्डेको हिरो बन्ने हुटहुटीले आलोचित हुँदै बालेन, गरीब मजदूर बन्दैछन् ज्यादतिको शिकार

काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बढ्दो लोकप्रियताको ग्राफलाई कमजोर बनाउन महानगर प्रहरी बलका प्रमुख (एसपी) राजु पाण्डेका हर्कतले सीमा नाघ्न थालेको छ ।

अंकुत सम्पत्ति आर्जनको मुद्दा खेपेर अख्तियारको निलम्बनमा समेत परिसकेका विवादास्पद छविका पाण्डेलाई महानगर प्रहरीको कमाण्ड सुम्पिएदेखि उनले आफैँलाई सिंघम हुँ भन्दै सर्वसाधारण र आफ्नै मातहत कर्मचारीमाथि समेत ज्यादती गरेको उजुरी मेयर उपमेयरसम्म पुगेको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेका क्लिपहरू अमानवीय मात्र छैनन्,गैरकानूनी समेत छन् । घरभित्र समेत गएर ठेलागाडा खोस्ने,तोडफोड र पोख्नेदेखि साइकलमा फलफूल बेच्नेहरूमाथि समेत ज्यादतीका दृश्यले मेयरको आलोचना भइरहेको छ ।

महानगर प्रहरीका प्रमुख राजु पाण्डेको प्रत्यक्ष निर्देशन र सहभागितामा गरिब र मजदुरहरूमाथि ज्यादती बढेको भन्दै वडाध्यक्षहरुले समेत महानगर नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।

पछिल्लो पटक काठमाडौँको नरेफाँटमा घरको कम्पाउण्डमा छोपेर राखेको ठेला गाडा काठमाडौं महानगरपालिकाले उठाएर लगेको छ । बुधवार दिउँसो घरभित्र थन्काएर राखेको गाडा महानगरको नगर प्रहरीले जबरजस्ती उठाएर लगेको हो ।

व्यक्तिको घरभित्र छिरेर ठेला गाडा लैजाँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडिओमा महानगरको नगर प्रहरी आएर गेट लगाएर राखेको घरमा यो गाडा कसको हो ? भन्दै वरिपरि जम्मा भएको स्थानीयलाई सोधेको देखिन्छ ।

स्थानीयले यो गाडाधनी यहाँ नभएर र गाउँ गएको छ भनेर भनेका थिए । गाडा खोस्ने सुरसारदेखे पछि स्थानीयले अहिले सामान बेच्दैन भनेर गाडा नगरप्रहरीबाट जोगाउन खोजेका पनि थिए ।

तर नगर प्रहरीले स्थानीयको कुरा नसुनी जबरजस्ती घरभित्र प्लास्टिकले छोपेर राखेको ठेला गाडा निकाल्न खोजे । घरभित्र तीन वटा गाडा कपडाले छोपेर राखेको थियो । गाडामा तरकारी र फलफूल बोक्ने क्रेटबाहेक केही सामान थिएन । तर नगर प्रहरीले स्थानीयले रोक्न खोज्दा खोज्दै पनि जबरजस्ती तीनवटै गाडा ट्रकमा हालेर लिएर गएको छ ।

नगर प्रहरीले अरू ठाउँबाट पनि गाडा उठाएर ल्याएको थियो । पछिल्लो केही महिनायता महानगरको नगर प्रहरी सडकमा गाडा, साइकल हटाउने अभियानमा लागेको छ । फुटपाथ तथा सडक खाली गराउने भन्दै महानगरले सडकमा ठेला गाडा साइकलमा हटाउन थालेको हो ।तरकारी फलफूल बेच्ने गाडाहरूलाई लखेटी लखेटी खोसेर महानगरको ट्रकमा हालेर लैजाने गरेको छ ।

यतिसम्म कि घरभित्रको निजी कम्पाउण्डमा राखेको गाडा समेत उठाएर लैजान थालेपछि स्थानीय आक्रोशित भएका छन् । महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले भने सडक जाम हुने गरी गाडा राख्ने गरेको गुनासो गरेपछि लुकाएर राखेको गाडा निकालेको दाबी गरेका छन् ।

उनले नेपालप्रेससँग भने,‘ त्यो नरेफाँटमा भएको घटना हो । त्यहाँ उसले गाडा भगाउँदै लगेर छोप्यो । छोपिसकेपछि स्थानीय मान्छेहरुले बाटोमा डिस्टर्ब गर्ने गाडा यहाँ लुकायो भनेर भनेपछि त्यसलाई गाडीमा हालियो । मान्छे नभएको बेला गाडा उठाइयो भन्ने कुरा गलत भएको उनले बताए ।


प्रतिक्रिया

One thought on “नरेफाँटमा घरभित्र पसेर किन निकाल्यो महानगर प्रहरीले थन्क्याएर राखेको ठेलागाडा ? (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *