पाटन क्याम्पसमा भूकम्पपछि टाँसिएका रातो स्टिकर अझै हटेनन्
ललितपुर । २०११ मा स्थापना भएको ललितपुरको पाटन क्याम्पसको भौतिक संरचना झन नाजुक बन्दै गएको छ ।
२०७२ को भूकम्पले पाटन क्याम्पसका भवनमा क्षति पुर्याएपछि प्रयोग गर्न नमिल्ने गरी रातो स्टिकर टाँसिएको भए पनि आजसम्म तिनै भवनमा पठनपाठन भइरहेको छ । रातो स्टिकर हटाएर नयाँ भवन निर्माण भएका छैनन् ।
दिनप्रतिदिन जीर्ण बन्दै गएका भवनमा नै पठनपाठन भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको आङ्गीक क्याम्पसका रुपमा रहेको यस क्याम्पसका विज्ञान विभाग, समाजशास्त्र र मानवशास्त्र विभागको भवनमा त पानी नै चुहिन्छ ।
प्रत्येक पुराना भवनको झ्यालका सिसा फुटेका छन् । भवन छेउछाउमा फोहरसँगै घाँस उम्रेको छ । भवनमा विसं २०७२ को भूकम्पले क्षति पुर्याएपछि नौ वटा भवन प्रयोग गर्न नमिल्ने भनी रातो स्टिकर टाँसेको पाटन संयुक्त क्याम्पसका क्याम्पस प्रमुख डा लक्ष्मणसिंह कुँवरले जानकारी दिए ।
उनले भने,‘पुनर्निर्माणको लागि पुनर्निर्माण प्राधिकरणलाई भेटेरै पत्राचार गर्यौँ । रातो स्टिकर टाँसेको भवनमा अध्ययन गर्नुबाहेक अर्को विकल्प हामीसँग थिएन । अहिलेसम्म नयाँ भवन निर्माण नहुँदा रातो स्टिकर टाँसेकै भवन प्रयोगमा छन् ।’
क्याम्पस प्रमुख कुँवरका अनुसार भूकम्पपछि ताइवानको चुजी फाउन्डेसनले सहयोगस्वरुप १५ वटा अस्थायी टहरा निर्माणका लागि सहयोग गरेको थियो । फाउन्डेसनले पाटन क्याम्पसलाई अन्तर्राष्ट्रिय लेबलको सुविधा सम्पन्न क्याम्पस निर्माण गर्न करिब रु दुई अर्ब रकम लगानी गर्ने प्रस्ताव गरेको थियो ।
तर नेपाल सरकारकोे कूटनीतिक पहल पुग्न नसक्दा त्यो काम अगाडि बढ्न सकेन । विसं २०३३ मा केही समयका लागि अस्थायीरुपमा निर्माण गरेका टिनले छाएका तीन वटा टहरामा अहिलेसम्म पनि विद्यार्थी अध्ययनरत छन् ।
लक्ष्मणसिंह कुँवरले भने, ‘हाम्रो आन्तरिक स्रोतबाट केही भवन निर्माण गरेका छौँ । हाल पाटन क्याम्पसमा २८ वटा विभाग छन् भने करिब १० हजार बढी विद्यार्थी अध्ययनरत छन् । विद्यार्थीलाई भवनकै कारण सहजसाथ अध्ययन गर्ने गरेका छौं ।’
क्याम्पस प्रमुख कुँवरका अनुसार क्याम्पसको भवन निर्माणका लागि शिक्षा मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले २०७८ सालमा जिम्मा लिएपछि बोलपत्र प्रक्रियामा छ । तर यी भवनलाई भत्काएर नयाँ भवन कहिले निर्माण हुन्छन् भन्ने अझै थाह छैन ।
क्याम्पसको प्रशासनिक भवन नै जीर्ण अवस्थामा छ । आन्तरिक स्रोतबाट निर्माण भएका केहीबाहेक अरु सबै भवन जीर्ण अवस्थामा छन् ।