पक्राउ परेपछि सहकारी सञ्चालक यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत
जनकपुरधाम । धनुषाको सबैला नगरपालिका- ७ स्थित श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रामबाबु यादव बचतकर्ताको रकम फिर्ता गर्न सहमत भएका छन् ।
बचतकर्ताको रकम लिएर सहकारी संचालक यादव एक वर्षदेखि फरार थिए । पटक पटक आन्दोलन गरेका पीडितहरुले बुधवार उनलाई जनकपुरधाम ९ बाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
पक्राउ परेपछि सहकारी संचालक यादव सबै बचतकर्ताको रकम फिर्ता गर्न सहमत भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयमै पीडितहरुसँग भएको छलफलमा सहकारी सञ्चालक यादवले रकम फिर्ता गर्न सहमत भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार सहकारी सञ्चालक यादवले १० हजार रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम नगद नै फिर्ता गरे । अन्य बचतकर्ताको रकम साउन मसान्तभित्र फिर्ता गर्ने लिखित प्रतिवद्धता जनाएका छन् ।