एक दिवसीयमा नेदरल्यान्ड्सलाई हराएर पहिलो जीत निकालेको नेपाल, फेरि हराए पुग्नेछ सुपर सिक्समा – Nepal Press

एक दिवसीयमा नेदरल्यान्ड्सलाई हराएर पहिलो जीत निकालेको नेपाल, फेरि हराए पुग्नेछ सुपर सिक्समा

काठमाडौं । सन् २०१८ अगष्ट ३, नेपाली क्रिकेटले यो मिति सायदै बिर्सेको हुनुपर्छ । आर्म्सटेलभिनमा त्यस दिन भएको एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्सलाई १ रनले हराएको थियो । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको त्यो पहिलो जीत थियो ।

पहिला ब्याटिङ गरेको नेपालले सबै विकेट गुमाएर २१६ रन जोडेको थियो । तत्कालीन कप्तान पारस खड्काले ५१ र तल्लोक्रमका सोमपाल कामीले ६१ रन जोडेका थिए । ८८ रनमै ५ विकेट गुमाएर नेपाल संकटमा परेको थियो । तर कुनै समय बलियो रहेर पनि नेदरल्यान्ड्सले यो खेल जित्न सकेन ।

दुई विकेट गुमाएर ११४ रनको स्थितिमा देखिएको घरेलु टोली त्यसपछि विकेट गुमाएर लगातार दबाबमा आएको थियो । नेदरल्यान्ड्सलाई अन्तिम ओभरमा ६ रनमात्र चाहिएको थियो । त्यसमाथि अन्तिम बलमा २ रन आवश्यक थियो ।

सुरुका ५ बलमा केवल ४ रन खर्चिएका पारसले अन्तिम बलमा फ्रेड क्लासेनलाई रन आउट गर्दै नेपाललाई ऐतिहासिक जीत दिलाएका थिए । नेदरल्यान्ड्समाथि रोमाञ्चक जीत हात पार्ने क्रममा सन्दीप लामिछानेले ३, ललित भण्डारीले २ तथा सोमपाल कामी, पारस, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट हात पारेका थिए । यो जीतमा नेपालले २ खेलको शृंखला १-१ ले बराबरी गरेको थियो ।

एक महिनाअघि मात्र जिम्बावेमा भएको विश्वकप छनोटमा एक दिवसीय मान्यता पाएपछि नेपाल पहिलो श्रृंखला खेल्न नेदरल्यान्ड्स पुगेको थियो । सन् २०१५ देखि २०१७ सम्म आयोजना भएको वर्ल्ड क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र नेदरल्यान्ड्स दुईपटक भिडेका थिए ।

नेदरल्यान्ड्समा भएका दुवै खेलमा नेपालले एक जीत र एक हारको नतिजा निकालेको थियो । उक्त प्रतियोगितामा विजेता बनेको नेदरल्यान्ड्स सोझै विश्वकपमा छनोट भएको थियो । पछिल्ला चार वर्ष डच टोलीले सुपर लिग खेलेको थियो भने नेपालले विश्वकप लिग– २ । यी दुवै प्रतियोगिताबाट विश्वकप छनोटमा पुग्ने टोली तय भएका हुन् ।

नेपाल आएर निरीह बनेको नेदरल्यान्ड्स

सन् २०२१ अप्रिलमा नेदरल्यान्ड्स नेपाल आएको थियो । त्रिकोणात्मक टी- २० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपालसँग खेल्न नेदरल्यान्ड्स र मलेसिया आएका थिए ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई १३६ रनमा समेटेर पछि ९ विकेटले विजयी भएको नेपालले सोही टोलीसँगको दोस्रो खेलमा २०७ रनको लक्ष्य दिएर पनि हार व्यहोरेको थियो ।

त्यसपछि श्रृंखलाको अन्तिम खेल र फाइनलमा लगातार २ सयभन्दा बढी योगफल बनायो । फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले ऐतिहासिक २३८ रन जोडेको थियो । डच टोली केवल ९६ रनमा समेटिएको थियो ।

यही श्रृंखलामार्फत आसिफ शेख र कुशल भुर्तेलले अन्तर्राष्ट्रिय क्रिकेटमा डेव्यु गरेका थिए । यो प्रारम्भिक जोडी अहिले पनि निकै प्रभावशाली रहँदै आएको छ । त्यतिबेला आसिफ र कुशलले लिग चरणमा नेदरल्यान्ड्सविरुद्ध ११६ रनको साझेदारी गरेका थिए ।

अहिले नेपाल विश्वकप छनोट खेल्न जिम्बावे पुगेको छ । नेपालले गत विश्वकप लिग- २ बाटै आगामी चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने पक्का गरेको थियो ।

जिम्बावेमा जारी विश्वकप छनोटमा सहभागी १० टोलीमध्ये शीर्ष दुई टोली विश्वकपमा छनोट हुनेछन् । ५ टोली रहेको समूहबाट शीर्ष तीन टोली छनोटको दोस्रो चरणका रुपमा रहेको सुपर सिक्समा पुग्नेछन् ।

समूहको आफ्नो अन्तिम खेलमा नेपालले शनिबार नेदरल्यान्ड्ससँग खेल्दैछ । यो खेलमा नेपाल विजयी भएमा सुपर सिक्स पुग्ने सम्भावना बलियो हुनेछ भने पराजित भएमा समाप्त हुनेछ । नेदरल्यान्ड्सले दुई खेल खेल्ने क्रममा अमेरिकालाई हराएको छ भने जिम्बावेसँग पराजित भएको छ । अब उसले नेपालबाहेक वेस्ट इन्डिजसँग पनि खेल्न बाँकी छ ।

नेपालले जिम्बावेलाई २९१ रनको लक्ष्य दिएको थियो भने वेस्ट इन्डिजसँग ३४० रनको लक्ष्य पछ्याएर १०१ रनले पराजित भएको थियो । अमेरिकालाई २०७ रनमा समेटेर ६ विकेटले विजयी भएको थियो ।

यता नेदरल्यान्ड्सले जिम्बावेलाई ३१६ रनको लक्ष्य दिएर पनि ५ विकेटको हार ब्यहोरेको थियो भने अमेरिकालाई २११ रनमा सीमित गर्दै ५ विकेटको जीत निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर