स्याङ्गे हाइड्रोपावरको आईपीओ खुल्ला, उठेको सबै रकम ऋण तिरिने
काठमाडौ । अप्पर स्याङ्गे हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुल्ला गरिएको छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित ६ करोड ५० हजार रूपैयाँ बराबरको आईपीओ खुलाएको हो ।
यसमा १० प्रतिशत ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ भने ५ प्रतिशत ( ३२ हजार ५ सय कित्ता ) सामूहिक लगानी कोषका लागि निष्कासन भइसकेको छ । यस्तै २ प्रतिशत ( १३ हजार कित्ता) कर्मचारीलाई छुट्याइएको छ । बाँकी ५ लाख ३९ हजार ५ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार १३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ । रेटिङ एजेन्सी केयर नेपालले अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिमको संकेत गर्छ ।
१३ गतेसम्म सबै शेयर बिक्री नभएमा असार २४ गतेसम्म आवेदन दिन पाइनेछ । सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ ।
कम्पनीको विवरणपत्र अनुसार आईपीओ निष्कासनको मूख्य उद्देश्य बैंकबाट लिएको कर्जा भुक्तानी गर्नु रहेको छ । आईपीओमार्फत यस कम्पनीले कुल ८ करोड ७० लाख रूपैयाँ संकलन गर्नेछ । पुस मसान्तसम्मको विवरण अनुसार यस कम्पनीले प्राइम कमर्सियल बैंकलाई ३४ करोड ९४ लाख रूपैयाँ ऋण तिर्न बाँकी छ ।
अप्पर स्याङ्गे हाइड्रोपावरको अधिकृत र जारी पूँजी दुवै २२-२२ करोड रूपैयाँ छ । यसमध्ये संस्थापक शेयरधनीको हिस्सा ६०.४५ प्रतिशत र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा १० प्रतिशत र सर्वसाधारण शेयरधनी समूहको हिस्सा २९.५५ प्रतिशत रहनेछ ।