काठमाडौं महानगरका सामुदायिक विद्यालयको प्रधानाध्यापकको भत्ता वृद्धि
शिक्षकको तलबभत्ता मासिरूमै भुक्तानी गरिने
काठमाडौ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयका प्राधानाध्यापको भत्ता बढाएको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपमेयर सुनिता ढंगोलले महानगरभित्रका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकको भत्ता वृद्धिको घोषणा गरेकी हुन् ।
महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूको तलबभत्ता मासिक रूपमा भुक्तानी गर्न ३० करोडको छुट्टै सोधभर्ना कोषको व्यवस्था गरेको उनले बताइन् । सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको लागि मासिक भत्ता वृद्धि गरिएको र आवश्यक रकम प्रबन्ध गरिएको डंगोलले प्रस्तुत गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ मा महानगरपालिकाको समग्र शिक्षा क्षेत्रतर्फको विभिन्न कार्यक्रम संचालन गर्न तथा नियमित क्रियाकलापको लागि आन्तरिक श्रोतबाट १ अर्ब ३२ करोड ९ लाख ३३ हजार रकम विनियोजन गरिएको छ ।
सामुदायिक विद्यालय परिसरभित्रको सरसफाइ र सौन्दर्यीकरणलाई नियमित र स्वचालित बनाइ विद्यालय क्षेत्र हराभरा र सुन्दर बनाउनको लागि ५ करोड रकम विनियोजन गरिएको छ । सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक विद्यालय एक सामाजिक सहजकर्ता राखिने भएको छ ।
बजेटमार्फत ‘गरिखाने शिक्षा महानगरको इच्छा’ नारामार्फत शिक्षालाई प्राथमिकता दिएको छ । जसका लागि ५० करोड बजेट छुट्याइएको छ ।