भरतपुर महानगरकाे कुल बजेट ६ अर्ब, अधुरो रंगशालालाई ३ कराेड (पूर्णपाठ)
चितवन । चितवनको भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ ।
आइतबार बसेको नगरसभा बैठकमा महानगर उपप्रमुख चित्रसेन अधिकारीले आर्थिक वर्ष २०८०/८१ को लागि ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको हो ।
यसका लागि आन्तरिक आय १ अर्ब ७५ करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट प्राप्त १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा बागमती प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५४ करोड ८० लाख १५ हजार जनसहभागिताबाट ५० करोड, बैंक मौज्दात १ अर्ब ६५ करोड र सडक बोर्डबाट ३ करोड रहने बजेटले स्रोतको रुपमा लिएको छ ।
भरतपुर – पोखरा-लुम्बिनी (गोल्डेन ट्रयांगल) पर्यटन प्रवर्द्धन कार्यक्रम अन्तर्गत महानगरपालिकाले पहिचान गरेका ३० वटा प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रवर्धन तथा विकास, पर्यटन सूचना नक्सा तयार गरी कार्यान्वयनमा ल्याउने, पर्यटन क्षेत्रको विकास र विस्तारको लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना तर्जुमा लगायतको पर्यटन तथा उद्योग बाणिज्य सम्बन्धि नीति कार्यान्वयन गर्नको लागि २ करोड रुपैयाँ छुट्याइएको छ ।
यस्तै पर्यटन वर्ष सन् २०२४ कार्यान्वयनको लागि संघ तथा बागमती प्रदेश सरकारसँग साझेदारी गरिने महमानगरले बताएको छ । जसको लागि २ करोड बजेट प्रस्ताव गरिएको छ ।
यस्तै संघ तथा बागमती प्रदेश सरकार एवम् निजी तथा अन्य क्षेत्रको सहकार्यमार्फत लगानी सम्मेलन आयोजना गर्ने महानगरको योजना छ यसका लागि
२० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । विपद् सामग्री खरीद, उचित भण्डारण, जनशक्ति परिचालन, जोखिम न्यूनीकरण कार्यक्रम सञ्चालन, राहत वितरण, पुनर्स्थापना जस्ता कार्यहरु गर्न ५५ लाख तथा विपद तथा प्रकोप व्यवस्थापन कोषमा ९४ लाख बजेट थप गरिएको छ ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य पुरा गर्नको लागि संघीय सरकार, बागमती प्रदेश सरकारसँग साझेदारी र सहकार्य गरिनेछ जसको लागि ३ करोड विनियोजन गरिएको छ ।
धुर्मुस-सुन्तलीले सुरू गरेर अधुराे रहेको गाैतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि ३ कराेड बजेट विनियोजन गरिएको छ ।