दुई उपमहानगरसहित दाङका १० वटै स्थानीय तहले ल्याए बजेट
दाङ । दाङका १० वटै स्थानीय तहले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरेका छन् ।
घोराही र तुलसीपुर दुई उपमहानगरपालिका, लमही नगरपालिका र ७ वटा गाउँपालिकाले आइतवार बजेट प्रस्तुत गरेका हुन् । तुलसीपुर उपमहानगरपालिकाले १ अर्व ७९ करोडको बजेट ल्याएको छ । यो बजेट गतवर्षको भन्दा ७ करोड कम हो । गतवर्ष ३० करोड १२ लाख आन्तरीक श्रोतको लक्ष्य राखेको तुलसीपुर उपमहानगरपालिकाले यसपटक २१ करोड मात्रै लक्ष्य राखेको छ ।
तुलसीपुरले कृषि, पशु र पर्यटनको विकासका लागि सरकारी निजी र सहकारी क्षेत्रको सहकार्यमा उत्पादन र उत्पादकत्व वृद्धी र वित्तिय क्षेत्रको सुधार गर्दै रोजगारी सृजनालाई प्राथमिकतामा राखेको छ ।
यस्तै घोराही उपमहानगरपालिकाले सामाजिक विकास, कृषि र रोजगारलाई प्राथमितामा राखेर आगामी बजेट ल्याएको छ । उपप्रमुख हुमाकुमारी डिसीले २ अर्ब १५ करोड ५४ लाख ८३ हजार रूपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । कुल बजेटमध्ये चालूतर्फ १ अर्ब २८ करोड ३ लाख रूपैयाँ अर्थात ५९ दशमलव ४० प्रतिशत र पुजिगत तर्फ ८७ करोड ५१ लख ८३ हजार अर्थात ४० दशमलव ६० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागि आन्तरिक आयबाट ३६ करोड, संघिय वित्तीय समानीकरण अनुदानबाट ३१ करोड १४ लाख, संघीय राजश्व बाँडफाँटबाट २५ करोड २४ लाख, प्रदेश समानीकरण अनुदानबाट २ करोड २९ लाख, प्रदेश राजश्व बाँडफाँटबाट २ करोड ८३ लाख, प्रदेश ससर्त अनुदानबाट २ करोड ७८ लाख, प्रदेश समपुरक अनुदानबाट ३२ करोड बेहोरिने छ ।
चालू आर्थिक वर्षकै ३६ करोड रूपैयाँ बचत हुने अनुमान पनि घोराही उपमहानगरपालिकाको बजेटमा उल्लेख छ । घोराही उपमहानगरपालिकाले पूर्वाधार विकासतर्फ ५२ करोड ४८ लाख, सरसफाई वातावरण र विपद व्यवस्थापनतर्फ ५ करोड १ लाख रूपैयाँ विनियोजन गरेको छ ।