रघुजी पन्तको प्रश्न- त्रेता युगमा रामले कलियुगमा हरामले ठोकेका ठोकै छन्, दलितले अधिकार कहिले पाउने ? (भिडिओ)
काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले दलितमाथिको भेदभाव समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै दलितले गैरदलितसँग प्रेम गरेकै कारण जेल जानुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए ।
उनले भने, ‘त्रेतायुगमा तपस्या गरेकै कारण शम्भुक मारिएजस्तै अहिले प्रेम गरेकै कारण दलितहरू मारिने र जेल जानुपर्ने अवस्था छ । सप्तरीमा गैरदलितसँग प्रेम गरेकै कारण दलित युवक जेल गएका छन् । सप्तरीमा गैरदलितसँग प्रेम र भागी विवाह गरेकै कारण २१ वर्षीय मनोजराम अपहरण तथा शरीरबन्धक मुद्दामा जेल चलान भए । कपिलवस्तुको अदालतमा विवाह भएको तर आफ्नी छोरी दलित युवकसँग विवाह गरेको कुरा मन नपराएका केटीकी बाबुले वडाध्यक्षसँग मिलेमतोमा नक्कली जन्मदर्ता बनाएर केटीलाई नाबालिग बनाएर केटालाई जेल हालिएको छ ।’
उनले नक्कली जन्मदर्ता बनाउने वडाध्यक्षलाई पनि कारबाहीको माग गरेका छन् । अदालदतले पनि अवस्था हेरेर मुद्दाको फैसला गर्नुपर्ने पन्तको माग छ ।
उनले थपे, ‘दलितले समान अधिकार कहिले पाउने ? त्रेतायुगमा रामहरूले ठोक्ने, कलियुगमा हरामहरूले ठोक्ने त्यो युगदेखि यो युगसम्म दलितहरू पीडितका पीडित, मारिएको मारियै हुने ?’