गण्डकीका ४ स्थानीय तहले ल्याएनन् बजेट – Nepal Press

गण्डकीका ४ स्थानीय तहले ल्याएनन् बजेट

पोखरा । स्थानीय तहले असार १० गतेसम्म आगामी आर्थिक वर्षका लागि बजेट ल्याइसक्नुपर्ने कानूनी प्रावधान छ । तर, गण्डकीका ८५ स्थानीय तहमध्ये ४ वटाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याएका छैनन् ।

गण्डकीकाे पर्वत जिल्लाकाे जलजला गाउँपालिका, फलेवास नगरपालिका, कुश्मा नगरपालिका र स्याङ्जाकाे विरुवा गाउँपालिकाले विभिन्न कारण देखाउँदै समयमै बजेट ल्याउन सकेनन् ।

कुश्मा नगरपालिकाकी उपमेयर स्वस्थानी रिजालले प्रक्रिया पूरा गर्दैगर्दा समयमा बजेट ल्याउन नसकेको बताइन् । ‘हामीले असार १० मै बजेट ल्याउने तयारी गरेका थियौं, सबै प्रक्रिया पूरा गरेर अगाडि जानुपर्ने हुनाले समय लागेको हो, केही दिनमा तयारी पूरा गरेर बजेट ल्याउँछौं’, उनले भनिन् ।

अन्तरसरकारी वित्त हस्तान्तरण ऐनअनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यसरी बजेट पेश भएपछि मात्रै त्यसअनुसार आगामी आवमा खर्च गर्न र कर उठाउन अधिकार प्राप्त हुन्छ । तर, आन्तरिक विवादका कारण गण्डकीका दुईदुई नगरपालिका र गाउँपालिकाले बजेट ल्याउन सकेनन् ।

आइतबार डाकिएको गाउँसभामा गणपूरक संख्या नपुगेर स्थगित गरिएको पर्वतको जलजला गाँउपालिकाका सूचना अधिकारी भेषनाथ आचार्यले बताए ।

‘हाम्रोमा सदस्यको संख्या ४७ हो, गाउँसभामा २० जनामात्रै उपस्थित हुनुभयो, बहुमत पुगेन र स्थगित भयो’, उनले भने, ‘बजेटका लागि मंगलबार गाउँसभा डाकिएको छ ।’

फलेवास नगरपालिकाकी उपमेयर शोभा क्षेत्रीले आन्तरिक तयारी नपुगेकाले बजेट नआएको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘हाम्रो आन्तरिक तयारी नपुग्दा बजेट ल्याउन सकेनौं, केही दिनमा तयारी पूरा गरेर बजेट ल्याउँछौं ।’

स्याङ्जाको विरुवा गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले गाउँसभामा गणपूरक संख्या नपुगेपछि बजेट ल्याउन नसकेको बताए ।

‘हामीले शनिबार गाउँसभा बोलाएका थियौं । तर, विपक्षी साथीहरु आउनुभएन, गणपूरक संख्या पुगेन र स्थगित गरियो’, उनले भने ।

बजेटका लागि मंगलबार गाउँसभा डाकिएको अध्यक्ष कुँवरको भनाइ छ । ‘करार कर्मचारीहरु एकमुष्ट निकाल्न पर्छ भनेर माग राखेपछि अड्किएको हो’, उनले भने, ‘सोमबार उहाँहरुसँग छलफल गर्छौं, मंगलबार गाउँसभा डाकेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर