अब्बल आईटी विश्वविद्यालय किन नखाेल्ने ? – Nepal Press

अब्बल आईटी विश्वविद्यालय किन नखाेल्ने ?

भनिन्छ, यो शताब्दी विज्ञान र प्रविधिको हो । प्रविधिलाई पर राखेर जीवन कल्पना गर्न नसकिने अवस्थामा आइपुग्यो संसार । सूचना प्रविधिको एउटै लक्ष्य, मानव जीवन अझ सहज, सफल र व्यवस्थित बनाउँदै लैजानु हो । आईटी नवप्रवर्तनको मुख्य आयाम हो, आईटीको प्रयोगविना कुनै उद्योग, संस्था वा कम्पनीहरू बाँच्न नसक्ने भइसके । हाम्रो दैनिक जीवनको साथी हुन आर्टिफिसियल इन्टेलिजेन्स आइपुग्न लाग्यो । यो प्रक्रिया कुन रुपमा बढेर जाला, प्रविधिले कुन रुप धारण गर्दै जाला नयाँ पुस्ताको हातमा छ ।

आईटी अथवा सूचना प्रविधि भनेको के हो त ? सामान्यतः आईटी अथवा सूचना प्रविधि भन्नाले कुनै पनि कम्प्युटर तथा अन्य भौतिक उपकरणहरूको प्रयोग गरी सबै प्रकारका इलेक्ट्रोनिक डाटाहरू सिर्जना गर्ने, प्रशोधन गर्ने, भण्डारण गर्ने, सुरक्षित गर्ने र आदानप्रदान गर्ने प्रक्रिया हो भनेर बुझ्ने गरिन्छ । आईटीले कुनै किसिमको डाटा (कुनै सिम्बोल, आवाज वा भिडियो आदि)लाई हार्डवेयर र सफ्टवेयरको प्रयोग गरेर जानकारी व्यवस्थापन वा वितरण छिटो, छरितो र विश्वासिलो तरिकाले गर्ने गर्छ । जसले मानव जीवन अझ सहज बनाउँदै लगेको छ । सरल भाषामा आईटी भन्नाले सफ्टवेयर र हार्डवेयरको संयुक्त प्रयोग भनेर बुझ्दा पनि हुन्छ ।

संसारका केही प्रसिद्ध हार्डवेयर कम्पनीहरूमा एप्पल, डेल, एलजी, एचपी, इन्टेल, सामसङ, सोनी आदि पर्छन् भने सफ्टवेयर कम्पनीहरूमा माइक्रोसफ्ट, ओरेकल, एप्पल, फेसबुक, गुगल, सेल्सफोर्स आदि हुन् । सफ्टवेयरले हार्डवेयरको मद्दतले काम गर्ने हुनाले तिनीहरु एक-अर्काका परिपूरक हुन्छन् । हार्डवेयर वा सफ्टवेयरसँग सम्बन्धित कम्पनीहरुमात्र हैन, एयरस्पेसदेखि रक्षासम्म, अटोमोटिभदेखि रसायनसम्म, कृषि, उद्योग, व्यापारदेखि वित्तीय सेवासम्म अहिले सञ्चालनमा रहेका जुनसुकै सफल कम्पनीको सफलताको लागि आईटीको प्रयोग प्रमुख हुँदै गएको छ । जसका कारण अहिले संसारभर क्षमतावान आईटी प्रोफेशनलहरुको माग थामिनसक्नु छ । यो माग दिन प्रतिदिन बढ्दो छ र कुनै नजिकको समयमा घट्नेवाला छैन ।

हार्डवेयर वा सफ्टवेयरसँग सम्बन्धित कम्पनीहरुमात्र हैन, एयरस्पेसदेखि रक्षासम्म, अटोमोटिभदेखि रसायनसम्म, कृषि, उद्योग, व्यापारदेखि वित्तीय सेवासम्म अहिले सञ्चालनमा रहेका जुनसुकै सफल कम्पनीको सफलताको लागि आईटीको प्रयोग प्रमुख हुँदै गएको छ ।

साना, मझौला तथा ठूला सबै प्रकारका राष्ट्रिय वा बहुराष्ट्रिय निकायहरुले क्षमतावान आईटी प्रोफेशनल संसारको जुनसुकै ठाउँबाट ‘अफ-शोर वर्कर’ वा ‘वर्क फ्रम होम’ का रुपमा नियुक्ति गरिरहेका छन् । सँगसँगै अमेरिकालगायतका विकसित देशहरुले लाखौंको संख्यामा दक्ष कामदारको रुपमा आईटी प्रोफेशनलहरु ‘एच-१ बी’ वा अन्य भिसामार्फत लैजाने गरेका छन् । भारतले ‘एच-१ बी’ भिसाको भरपुर फाइदा उठाएको छ । प्रत्येक वर्ष ५०औं हजारको संख्यामा दक्ष आईटी प्रोफेशनलहरु संसारभर पुग्ने गरेका छन् । केही अनुभव भएका दक्ष आईटी प्रोफेशनलहरुले वार्षिक अन्य सुविधाबाहेकको तलब १ देखि ३ लाख डलरसम्म छ । उनीहरु देशको आर्थिक प्रगति सेतु बनिरहेका छन् ।

सँगै विदेशमा रहेका आईटी मेनेजर र निर्देशकहरुले लाखौंको संख्यामा ‘अफ-शोर वर्कर’ का रुपमा भारतबाट कामदार नियुक्त गरी रोजगारी सृजना गरिरहेका छन् । उनीहरुको वार्षिक तलब सुविधा भारतीय कम्पनीहरुले दिनेभन्दा धेरै गुणा बढी हुने गरेको छ । विदेशमा अहिले धेरै नेपालीहरु पनि आईटी हायरिङ मेनेजरको रुपमा काम गरिरहेका छन्, नयाँ हायरिङ मेनेजर वा आईटी निर्देशक हुने लाइनमा धेरै नेपालीहरु छन् । भारतीयहरुले गरे जस्तो ठूलो संख्यामा ‘एच-१ बी’ भिसाको वा ‘अफ-शोर वर्कर’ को फाइदा किन नलिने नेपाली युवाहरुले ? दक्ष जनशक्ति उत्पादन गर्नेतिर अझै किन नसोच्ने, वातावरण किन नबनाउने ?

आईटी प्रोफेशनलको रूपमा काम गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यता सम्बन्धित विषयको स्नातक डिग्री हो । सम्बन्धित विषयमा सही डिग्री प्राप्त गर्नु पहिलो सर्त हो । स्नातक डिग्रीले तपाईंको जरा बलियो बनाउन सहयोग गर्छ । स्नातक गरेपछि कम तलबमै भए पनि केही काम गर्नु वा इन्टर्न वा स्वयंसेवकको रूपमा काम गर्नाले सम्बन्धित विषयको विशेषज्ञ हुन सहयोग गर्छ । इन्टर्न वा स्वयंसेवकको काम गर्न पनि स्नातक डिग्री हुनु आवश्यक छ । एउटा सफल आईटी विशेषज्ञको हुन सही शैक्षिक योग्यता र केही अनुभव प्राप्त गरेपछि तपाईंले मान्यता प्राप्त निकायबाट सम्बन्धित विषयको प्रमाणपत्र (सर्टिफिकेशन) लिन महत्त्वपूर्ण हुन्छ । मोबाइल कम्प्युटिङ र डाटा नेटवर्किङ वा माइक्रोसफ्ट, सिस्को, गुगल, अमेजन वा एप्पल जस्ता ब्रान्डबाट विशेषज्ञ सर्टिफिकेशन लिनु प्रभावकारी हुन्छ । स्नातक डिग्री र केही वर्षको अनुभव र विषयगत प्रमाणपत्र प्राप्त गरिसकेपछि आईटी प्रोफेशनलको रुपमा काम गर्न योग्य मानिन्छ ।

विदेशतिर केही वर्षको अनुभव भएका दक्ष आईटी विशेषज्ञहरुले सुविधाबाहेक १ देखि ३ लाख डलरसम्म तलब लिने गर्छन् । संसारभर क्षमतावान आईटी प्रोफेशनलहरुको थामी नसक्नुको माग छ ।

अमेरिकासँग एमआईटी छ, भारतसँग आईआईटी छ र त उनीहरुसँग उद्योग, संस्था र व्यवसायहरु छन् । उनीहरुका व्यवसायहरु फुर्तिलो, चुस्त, गतिशील छन् र त सफल छन् । राम्रा र ठूला कम्पनीहरु एमआईटी र आईआईटीका विद्यार्थी नियुक्त गर्न मरिहत्ते गर्छन् । हामीसँग पनि एमआईटी र आईआईटीको प्रतिस्पर्धा विश्वविद्यालय भए अनि क्षमतावान उत्पादनहरु छन् भनेर संसारलाई देखाउन सके, हाम्रो सानो सुन्दर देशले नयाँ आशा पाउने थियो । जसरी एमआईटी र आईआईटीका विद्यार्थी नियुक्ति गर्न पाउँदा कम्पनीहरु हर्षित हुन्छन्, त्यसैगरी नेपाली आईटी विश्वविद्यालयको विद्यार्थी नियुक्ति गर्न पाउँदा कम्पनीहरु हर्षित बन्ने वातावरण बनाउन सके के नै बिग्रिन्थ्यो र ? यदि संसारभर रहेका नेपाली हायरिङ मेनेजरले संसारकै शीर्षमध्येको एक नेपालकै आईटी विश्वविद्यालयको विद्यार्थी नियुक्ति गर्न पाएमा कसको के नै बैगुन हुन्थ्यो र ? उता फेरि तपाईंले बनाएको आईटी विश्वविद्यालयका विद्यार्थीले गुगल, फेसबुक, टिक-टकलाई प्रतिस्थापन गर्ने कुनै सफ्टवेयर बनाए भने कस्तो हुन्थ्यो होला ?

आईटीले समेट्ने क्षेत्रहरुको न कुनै सीमा छ न त यसले नवप्रवर्तनमा खेल्ने भूमिकामा कुनै सीमा राख्छ । हामी फलानाले फलानो उद्योग बन्द गर्‍यो, फलानो उद्योग बेच्यो भनेर तर्क बितर्क गरेर बसेका छौं । तर, फलानो उद्योग बन्द गर्नुपर्ने वा बेच्नुपर्ने अवस्था किन आयो भन्नेतर्फ कहिल्यै तर्क गर्दैनौं । हाम्रा पुराना उद्योग समयसँगै प्रतिस्पर्धी हुँदै गएका थिए थिएनन् भन्नेतर्फ कहिल्यै सोच्दैनौं । अर्थात् पुरानै कुरामा तर्क गरिरहने कि विश्वव्यापीकरणको युगमा प्रतिस्पर्धी उद्योग, संस्था वा व्यवसायको रचनातिर पनि ध्यान दिने ? प्रविधि यति अगाडि दौडिरहेको छ कि अझै पनि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को मान्यतामा खोलिएका संस्थानहरुकै भरमा परे हाम्रो नयाँ पुस्ता पनि नयाँ प्रविधिको उपभोक्ताबाहेक केही हुनेछैन । हाम्रो अभूतपूर्व योग्य युवा जनशक्ति आईटीको उपभोक्तामात्र बनिरहनुपर्ने कस्तो विडम्बना !

जगत रुपान्तरणको तागत बोकेको यो क्षेत्रमा हामीभित्रका सम्भावनाहरुको केही रसास्वादन लिन हामीलाई पूर्ण रूपमा समर्पित गैरराजनीतिक स्वतन्त्र विश्वविद्यालय चाहिएको छ । जसले आईटीका अवयवहरुका छिद्र केलाओस्, नवप्रवर्तनको शंखघोष गरोस् । वर्षमा १०० जना राम्रा क्षमतावान आईटी प्रोफेशनल उत्पादन गर्न सक्यौं भने मात्र केही दशकमा हाम्रो परिचय बदल्न सक्थ्यौं । हामीमा नयाँ आशा पलाउन सक्थ्यो । हाम्रा नयाँ युवा पुस्ताले हामीलाई धन्यवाद दिने वातावरण बन्न सक्थ्यो । एमआईटी र आईआईटीको प्रतिस्पर्धी आईटी विश्वविद्यालय खोलौं भन्ने हामी धेरै आईटीप्रेमीहरुको हुटहुटी छ । के गर्ने, रहरले मात्र नहुने, सम्पूर्ण प्रयासले मात्र नपुग्ने । हामीबीच अर्को सुरेशराज शर्मा चाहिएको छ । हाम्रो हृदयको कामना चाँडै पूरा होस् । हामी सबैको जय होस् ।

(लेखक चापागाईं सफ्टवेयर इञ्जिनियर हुन् ।)

[email protected]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *