सरकार गुरु कुट्नेको संरक्षणमा लाग्नु खेदजनक छ : ओली (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन् ।
मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सवमा बोल्दै उनले आजभोलि गुरु कुट्ने संस्कृति हाबी हुँदै गएको बताए । उनले गुरुलाई देवता समान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद कुरा भएको बताए ।
उनले सभ्यताको दियो बाल्ने देशमा गुरु कुट्नेहरूको संरक्षण र प्रोत्साहन गर्ने सरकारको काम खेदजनक रहेको बताए । उनले कथित विद्यार्थीले आफ्नो तिरको होइन कुट्न पाउनुपर्छ भन्ने संस्कृतिको विकास गर्न सरकार उद्धत भएको बताए ।
उनले भने, ‘आजकाल गुरु कुट्ने संस्कृति छ । बडा दुखद कुरा हो यो । हाम्रो देश जस्तो एउटा सभ्यताको जग, सभ्यता शुरु गर्ने देश, सभ्यताको दियो बाल्ने देश, यस्तो देश गुरुदेवो भव: भन्ने देश आज गुरुको ढाड खुस्काउँछ । टाउको फुटाउँछ, करङ भाँचिदिन्छ, बहादुरी देखाउँछ । त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । प्रोफेसर कुट्न किन विद्यार्थीले नपाउने, मजाले पाउँछ भनेर कुट्छ, गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार । त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन्, विद्यार्थी होइनन् । बाहिर सडकका हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्छ ।’
अध्यक्ष ओलीले प्राध्यापक कुट्नेहरूलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरू हुनै नसक्ने बताए ।