जलहरीबारेको प्रश्नमा ओलीको प्रतिप्रश्न- त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? (भिडिओ) – Nepal Press

जलहरीबारेको प्रश्नमा ओलीको प्रतिप्रश्न- त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? (भिडिओ)

‘मैले लगेर नाम टाँसेको हो र मलाई सोध्नुहुन्छ ?'

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरीका विषयमा आफूलाई जोडिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सरकारी खर्चमा बनेका संरचनाहरूमा उद्घाटन/शिलान्यास गर्नेहरुको नाम राखिनु नौलो कुरा नभएको उनले टिप्पणी गरे ।

भोलि रोपाईं दिवसको कार्यक्रममा भाग लिन चितवन पुगेका ओली आज स्थानीय पत्रकारहरूसँग केहीबेर सवालजवाफ गरेका थिए । पत्रकारहरुले उनलाई राजनीतिदेखि जलहरीका प्रश्नहरु सोधे । जलहरीको विषयमा प्रश्न गरिँदा ओली केही आक्रोशमा देखिन्थे ।

पत्रकारले सोधेका थिए, ‘पशुपतिको जलहरीका विषयमा तपाईंको के छ ?

ओलीले प्रतिप्रश्न गरे, ‘जलहरीबारे तपाईं जान्न खोजेको चाहीँ के ?’

पत्रकार: त्यो विषय बाहिर आयो, जलहरी निकालियो…

ओलीः एकजना मान्छेले भनेको सुनियो । सुन होइन पित्तल चढाएको हो, भ्रष्टाचार गरेको हो भनेर । एक दुई दिन त त्यसले पनि मार्केट पायो । ओहो, क्या गज्जब भेटियो भनेर सञ्चारमाध्यमलाई पनि राम्रै मौका मिलेको थियो । पछि त्यो सुनै रहेछ भन्ने थाहा भयो । त्यसपछि ११ किलो सुन कहाँ गयो ? भनेर कुरा उठ्यो । त्यो पनि तौलिएपछि थाहा भयो होला । (आफैं रोक्किएर) यो मेरो विषय हो र मलाई सोध्नुभएको ?

पत्रकार : राष्ट्रपतिज्यू, प्रधानमन्त्रीज्यूको नाम कुँदिएको भन्ने पनि छ नि ?

ओलीः शिलान्यास/उद्घाटन गरेको ठाउँमा उद्घाटन गर्नेको नाम लेखेको हुन्छ कि हुँदैन ? सरकारी सम्पत्तिमा बनाएका भवन आदि-इत्यादि कसका नाममा छन् ? त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? वीरेन्द्र अस्पताल वीरेन्द्रको निजी खर्चबाट बनाएको हो ? अरु विभिन्न त्यस्तै… त्यो त मलाई थाहा हुने कुरा भएन । मैले थाहा पाउने कुरा हो त्यो ? कसकसको नाम थियो ? अर्को कुरा पशुपति विकास कोषको मान्छे थियो होला…

पत्रकारः त्यसो भए यसो गर्नु स्वाभाविक हो भन्न खोज्नुभएको ?

ओलीः स्वाभाविक-अस्वाभाविकको कुरा नै होइन । आफैं छानबिन गर्नुस् न । मसित किन सोध्नुहुन्छ ? मैले लगेर टाँसेको हो नाम ? मलाई सोधेर टाँस्या हुन् ? हल्लाका पछाडि हल्काफुल्का तरिकाले नकुद्नुस् । देश अप्ठेरोमा छ । गम्भीर अवस्थामा गम्भीरतापूर्वक गम्भीर विषय उठाउनुहोला । जलहरीको सम्बन्धमा भएको के रहेछ ? पित्तल चढाएको रहेछ ? ११ किलो सुन खाएको रहेछ ? खाएको भए पनि मसित सम्बन्धित हो ? मैले त पैसा दिने हो, पशुपति विकास कोषलाई ।

पत्रकारः तर, त्यसो भनेर सरकार प्रमुख पन्छिन पाइन्छ र ?

अच्छा, अनि यहाँ रिक्सा दुर्घटना भयो भने प्रचण्ड जिम्मेवार हुने ?


प्रतिक्रिया

2 thoughts on “जलहरीबारेको प्रश्नमा ओलीको प्रतिप्रश्न- त्रिभुवन विश्वविद्यालय त्रिभुवनको निजी खर्चबाट बनाएको हो ? (भिडिओ)

  1. त्रिभुवन विश्वविद्यालय उनका दुई पत्नीहरूले आफ्ना गहना बेचेको निजी खर्चबाट बनाएको कुरामा इतिहास साक्षी छ । यस्ता ऐतिहासिक तथ्यहरू मेटाउने प्रयास नगरियोस् । े ्

  2. ओलीजी, तपाईसित मेरो व्यक्तिगत कैहि छैन, समर्थन वा विरोध। तर तपाईले त्रिभुवन र वीरेन्द्रसंग आफुलाई नदाजेको राम्रो। राजाहरूलाई त आसेपासेले अन्धो बनाएका थिए, तर तपाई त कोईलीको फूल चोर्न सक्ने, सबै विषयको पारखी। के नाप्नु भयो त? कस्लाई सोधेर मेरो नाम कुदिस भनेर सोधूनु भयो त? अनि कुद्ने व्यक्तिलाई सजाय दिनु भयो त? कि तपाईलाई धूप वत्ती गर्ने र तपाईको आरती उतारेको हुनाले माफि दिनु भयो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर