गण्डकी बोर्डिङमा मनपरी : उत्तरपुस्तिकामा केरमेट गरी विद्यार्थीकाे सिम्बोल नम्बर हेरफेर, नियुक्तिमा जालझेल – Nepal Press

गण्डकी बोर्डिङमा मनपरी : उत्तरपुस्तिकामा केरमेट गरी विद्यार्थीकाे सिम्बोल नम्बर हेरफेर, नियुक्तिमा जालझेल

पोखरा । गण्डकी बोर्डिङ स्कुलबाट दीपेश ढकालले २०७८ सालमा कक्षा १२ को परीक्षा दिए । त्यतिबेला कोभिड १९ को त्रास जारी थियो । सोही त्रासका कारण ढकालले आफू पढ्ने स्कुल (होम सेन्टर)मा कक्षा १२ को परीक्षा दिने अवसर पाए । परीक्षा राम्रै दिएका दीपेशको नतिजा भने सोचेअनुरुप आएन । उनलाई आएको नतिजा चित्त बुझेन । उनी पुनः परीक्षादेखि रिचेक गर्ने अवस्थासम्म पुगे ।

उनले राष्ट्रिय परीक्षा बोर्डमै पुगेर आफ्नो उत्तरपुस्तिका हेरे । उत्तरपुस्तिका हेरेपछि उनलाई छाँगाबाट खसे जस्तो भयो । किनकि उनको सिम्बोल नम्बर (२४००००४६) भएको उत्तरपुस्तिका उनको थिएन । पछि खोज्दै जाँदा उनको उत्तरपुस्तिका त भेटियो । तर, उनले लेखेको सिम्बोल नम्बर मेटेर अरुकै सिम्बोल नम्बर उक्त उत्तरपुस्तिकामा देखियो । उनको सिम्बोल नम्बर मेटेर दीपज्वल श्रेष्ठको सिम्बोल नम्बर लेखिएको थियो । दीपज्वल गण्डकी बोर्डिङ स्कुलमा कार्यरत कर्मचारीका आफन्त थिए ।

दीपेशका परिवारले उत्तरपुस्तिका साटफेर गर्ने सोही समयमा परीक्षाको केन्द्राध्यक्ष बोर्डिङकै प्राचार्य वीरेन्द्र खड्का र सहायक केन्द्राध्यक्ष झपेन्द्र अधिकारीलाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिए । अख्तियारले पनि २०७९ वैशाख ४ गते उजुरीमा आवश्यक कारबाहीका लागि आयोगको सम्बन्धित महाशाखाबाट उच्च माध्यमिक शिक्षा परिषद्मा लेखी पठाउने निर्णयसमेत गरेको थियो । तर, उक्त घटनाका दोषीलाई अझै पनि कारबाही नभएको दीपेशको परिवार बताउँछ ।

‘हामीमाथि भएको अन्यायमाथि कारबाही हुनुपर्छ, पाँचै वर्षपछि भए पनि उनीहरुमाथि कारबाही हुनुपर्छ’, परिवारका एक सदस्यले भने । घटना बाहिरिएपछि सहायक केन्द्राध्यक्ष अधिकारी राजीनामा दिएर फरार भएका थिए ।

स्कुलका सहायक प्राचार्य कृष्णबहादुर थापाले उत्तरपुस्तिकामा कमजोरी भएको स्वीकार गरे । ‘त्यो विषयमा गल्ती चाहिँ भएकै हो । तर, गल्ती कसले गर्‍यो भन्नेबारे अझै थाहा पाउन सकिएन’, उनले भने, ‘परीक्षा बोर्डले समिति बनाएरै छानबिन गरेको हो । के प्रतिवेदन बुझायो, अख्तियारमा पनि यो विषय पुग्यो । कारबाही के भो भन्नेबारे केही थाहा भएन ।’

उत्तरपुस्तिका साटफेर स्कुलबाट नभएको तत्कालीन परीक्षाका केन्द्राध्यक्ष तथा स्कुलका प्राचार्य वीरेन्द्र खड्काले बताए । ‘विद्यार्थी नतिजामा गल्ती भएकै हो, गल्ती नभएको भए सच्चिएर आउने थिएन । तर, गल्ती स्कुलबाट भएको होइन, स्कुलबाट सबै प्रक्रिया पूरा गरेर सुरक्षित पठाएका हौं’, उनले भने ।

व्यवस्था लत्याएर आफ्नालाई नियुक्त

गण्डकी बोर्डिङले २०७८ असार १६ गते छात्रावास निरीक्षकको विज्ञापन खुलायो । पहिलो विज्ञापनमा होस्टेल अभिभावक भएको हुनुपर्ने उल्लेख गरेको थियो । केही दिनपछि सोही विज्ञापनमा सोही मिति राखेर पूर्व होस्टेल अभिभावक भए पनि हुने भन्ने उल्लेख गर्‍यो । अनुभवको तेस्रो नम्बरमा ५ देखि १० वर्ष असिस्टेन्ट होस्टेल अभिभावक भएको हुनुपर्ने उल्लेख छ ।

तर, प्राचार्य खड्काले छात्रावास निरीक्षकको रुपमा राजकुमार ढकाललाई नियुक्त गरे । ढकाल तत्कालीन समयमा न होस्टेल अभिभावक नै थिए न त ५ देखि १० वर्ष असिस्टेन्ट होस्टेल अभिभावक नै भएका थिए ।

स्कुलका शिक्षक तथा कर्मचारीले पनि प्राचार्यले विनियमविपरीत काम गरेकोमा असन्तुष्टि जनाएका थिए । सहायक प्राचार्य कृष्णबहादुर थापाले त्यसअघि स्कुलका आन्तरिक पदपूर्ति बढुवाका आधारमा हुने गरेको बताए ।

‘यसअघि पदपूर्ति बढुवाका आधारमा हुन्थ्यो, छात्रावास निरीक्षकको विषयमा प्राचार्यज्यूले के सोचेर गर्नुभएको हो । उहाँलाई नै थाहा होला’, उनले भने ।

स्कुलका तत्कालीन सहायक प्राचार्य यज्ञराज शर्माले प्राचार्यको कदममा अवरोध नगरेको प्रतिक्रिया दिए । उनले भने, ‘परम्परागत रुपमा वरिष्ठताका आधारमा नियुक्त गर्ने व्यवस्था थियो । तर, प्राचार्यले विज्ञापन खोलेर प्रतिस्पर्धा गराएर लिन्छु भन्दा हामीले नगर्नुस् भन्न पनि मिलेन ।’

प्राचार्य खड्काले योग्यता र प्रतिस्पर्धाका आधारमा छात्रावास निरीक्षक नियुक्ति गरिएको प्रतिक्रिया दिए । उनी भन्छन्, ‘त्यो बेला म आएको धेरै पनि भएको थिएन, सहायक प्राचार्यसँग सल्लाह गरेर अगाडि बढेको थिएँ, ५ जनाको आवेदन आएको थियो, त्योमध्ये प्रिजेन्टेसन गरेर उत्कृष्टलाई छानेका हौं ।’

विनियम मिचेर प्राचार्यले होस्टेल निरीक्षक पदको लागि विज्ञापन निकाली उक्त नियुक्ति गरेको र प्राचार्यको आगमनपछि स्कुलमा बेथिति बढेको भन्दै गणित विभागका प्रमुख केशव उपाध्यायले विद्यालय व्यवस्थापन समिति र एसएमटीलाई विरोधपत्र बुझाए । विद्यालयको भूपू विद्यार्थी संगठनका सबैजसो शाखाका पदाधिकारीहरुलाई पनि उनले विरोधपत्र पठाए । त्यसपछि उनी २०७८ मंसिर ४ गतेदेखि चार महिना प्रत्येक शनिबार बिहान ७ देखि बेलुकी ४ बजेसम्म विद्यालयको गेटसामु अनसन बसेका थिए ।

२०७८ चैत १२ गते विद्यालय र स्थानीय नवआदर्श सामुदायिक विकास समाजबीच ५ बुँदे सम्झौता भयो । सोही सम्झौताको बुँदा नम्बर १ मा अनसनरत उपाध्यायको अनसन अन्त्य गर्ने र छात्रावास निरीक्षक राजकुमार ढकाललाई जिम्मेवारीबाट फिर्ता बोलाउने उल्लेख गरिएको थियो । सम्झौताअनुसार उपाध्यायले अनसन त तोडे तर, छात्रावास निरीक्षक ढकालले अघोषित रुपमा जिम्मेवारी पाइराखे ।

त्यसबीचमा शिक्षक उपाध्यायलाई छात्रावास निरीक्षक बन्न प्रस्ताव गरिएको थियो । तर, शिक्षक उपाध्यायले उक्त प्रस्ताव अस्वीकार गरेका थिए । २०७९ साउन ६ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले ढकाललाई छात्रावास निरीक्षकमा पुनः नियुक्त गर्‍यो ।

निर्णय भएको १ वर्ष ३ महिनासम्म पनि कार्यान्वयन नभएको भन्दै शिक्षक उपाध्यायले असार १६ गतेदेखि पहिलो चरणमा पुनः बिहान ७ बजेदेखि २४ घण्टे सत्याग्रह गर्ने घोषणा गरेका छन् ।


प्रतिक्रिया

3 thoughts on “गण्डकी बोर्डिङमा मनपरी : उत्तरपुस्तिकामा केरमेट गरी विद्यार्थीकाे सिम्बोल नम्बर हेरफेर, नियुक्तिमा जालझेल

  1. विद्यालय विनियम २०६४ को दफा १६.१ (क) विद्यालयको Senior Management Team (SMT) को सिफारिशमा छात्रावास निरीक्षक र विनियममा तोकिएका अन्य पदहरुमा नियुक्ति प्रावधान छ। प्राचार्य वीरेन्द्र खड्काले SMT लाई थाहा समेत नदिइकन रिक्त छात्रावास निरीक्षक पदको लागि विज्ञापन प्रकाशित गरे यसरी विज्ञापन प्रकाशित गर्ने अधिकार विद्यालय विनियमले दिंदैन | वास्तवमा विनियम विपरित नियुक्त भएका राजकुमार ढकाल दश वर्ष भन्दा अगाडि भने साढे २ वर्ष जति लमजुङ्ग होस्टेलको Hostel Parent बनेका थिए। सो अवधिमा ढकाल विद्यार्थीहरुलाई राम्ररी रेखदेख गर्न र सम्हाल्न नसकेकाले शैक्षिक वर्षको बीचैमा सो पद त्याग्न बाध्य भएका थिए र सो जिम्मेवारी मान बहादुर थापाले वहन गर्नु परेको थियो। त्यसैले राजकुमार ढकाल होस्टेल निरीक्षक पदको लागि अयोग्य हुन् र प्राचार्यले भने जस्तो राजकुमार ढकाल उत्कृष्ट आवेदक पटक्कै होइनन् ।

  2. विद्यालय विनियम २०६४ को दफा १६.१ (क) अनुसार वरिष्ठ शिक्षकहरुले बनेको Senior Management Team (SMT) को सिफारिशमा छात्रावास निरीक्षक र विनियममा तोकिएका अन्य पदहरुमा विद्यालय व्यवस्थापन समितिबाट अनुमोदान गराई प्राचार्यले नियुक्ति गर्ने भन्ने छ तर प्राचार्य खड्काले SMT लाई थाहा नदिइकन विज्ञापन प्रकाशित गरेका थिए जुन विनियम विपरित छ। प्राचार्य खड्काले भने जस्तो ले ५ आवेदक मध्ये उत्कृष्टलाई छानेको कुरा पनि सरासर झूट हो । वास्तवमा प्राचार्यको विश्वासपात्र भएकै कारणले विनियम मिचेर छात्रावास निरीक्षक बनाइएका राजकुमार ढकाल दश वर्ष भन्दा अगाडि साढे २ वर्ष जति लमजुङ्ग होस्टेलको Hostel Parent थिए। सो अवधिमा ढकाल विद्यार्थीहरुलाई राम्ररी रेखदेख गर्न र सम्हाल्न नसकेकाले शैक्षिक वर्षको बीचैमा सो पद त्याग्न बाध्य भएका थिए र सो जिम्मेवारी मान बहादुर थापाले वहन गर्नु परेको थियो। यस तथ्यको आधारमा राजकुमार ढकाल होस्टेल निरीक्षक पदको लागि अयोग्य नै हुन् ।

    त्यसै गरी १०+२ उत्तरपुस्तिका काण्डमा पनि केन्द्राध्य एवम् प्राचार्य खड्का र सहायक केन्द्राध्य तथा तत्कालीन हाइअर सेकेण्डरी स्कुल निरीक्षक झपीन्द्र अधिकारी संलग्न थिए । खड्का र अधिकारीको गुटको कर्मचारी, (खाद्य अधिकृत विकास श्रेष्ठ),को आफन्त दीपज्वल श्रेष्ठको अङ्क बढाउन सहायक केन्द्राध्य झपीन्द्र अधिकारीले केन्द्राध्य प्राचार्य वीरेन्द्र खड्काको सहमतिमा विद्यालय भित्रै उत्तरपुस्तिकामा उल्लेखित सिम्बल नम्बर केरमेट गरी एक आपासमा साटेका थिए। यस घटनाको पर्दाफास हुने बितिक्कै झपीन्द्र अधिकारी राजीनामा दिएर फरार भएका छन् ।

  3. Birendra Khadka le Gandaki Boarding School maa corruption gareko ra school laai bigaareko kuraa 1000% sahi ho. Aashaa chha nepalpress unkaa aru pani kaalaa kartut ko bhandaafor garne nai chha. Sambandhit nikaaya le unlaai kaarvaahi garnai parchha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर