संसदमा सभामुखकाे मात्रै फाेटाे राखेकाे भन्दै उपसभामुख रानाले जनाइन् असन्तुष्टि (भिडिओ)
काठमाडौं । उपसभामुख इन्दिरा रानाले संसदमा उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरेकी छन् । ६५ औं संसद दिवसको अवसर पारेर शनिवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
उनले आफूले केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको र सो क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् । उनले नेपालको संसदमा सभामुखको मात्रै फोटो राख्ने गरेको तर उपसभामुखको फोटो नराखेकोप्रति असन्तुष्टि व्यक्त गरिन् ।
उनले संसदमा उपभासमुखलाई हेपाहा प्रवृत्ति देखाएको आरोप लगाइन्। उनले भनिन्,‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पाल्र्यामेण्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्युले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्युले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ? भित्र पस्ने बित्तिकै त्यहाँ सम्माननीय सभामुखज्युको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।’
उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेको बताइन् ।