धान रोप्नमात्रै चितवन आएका थिए ओली ?
चितवन । असार १५ दिनभर चितवनमा पानी दर्किरह्यो । दर्किएको पानीसँग रुझ्दै भिज्दै काठमाडौं बस्ने हाइप्रोफाइल नेताहरु चितवनका किसानका खेतखलिहानमा रोपाहार बनेका थिए ।
नेकपा एमाले अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, चितवन २ का सांसद रवि लामिछानेलगायतले चितवन ३ का खेतहरुमा बिहान धान रोपे । फोटा खिचाए । समाचार पोर्टल र सामाजिक सञ्जालभरि छाए ।
के नेताहरु लोकरिझ्याइँका लागि असार १५ मनाउन चितवन आएका थिए ? सञ्जालहरुमा आजसम्म चलिरहेको बहस देख्दा त्यस्तै पनि लाग्छ । दर्किरहेको पानीमा बिहानी प्रहर पार्टी संगठन र खेतमा बिताएपछि रवि लामिछाने हुँइकिएर नारायणगढ मुग्लिन सडक खण्डको पहिरोमा मान्छे कुँदाउन पुगेका थिए ।
जबकि त्यहाँ दुई दिनअघिदेखि डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर, सब इञ्जिनियर, अपरेटरसहित २३ जना जनशक्ति र ३ वटा इञ्जिन (एक्साभेटर, लोडर) निरन्तर काम गरिरहेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनबाट पनि सुरक्षाकर्मीहरु यात्रुको सुरक्षा र ट्राफिक व्यवस्थापनमा खटिरहेका छन् ।
रवि लामिछानेले माथिबाट खसेको ढुंगाबीच आउनुस् र नआउनुस् भन्दै आफ्ना सहयोगीलाई भिडिओ खिचाए । रवि पुगेपछि मुग्लिन नारायणगढको सडक खुल्यो भन्दै सामाजिक सञ्जालमा उक्त भिडिओ भाइरल भइरहँदा एमाले अध्यक्ष केपी ओली भने कृषि विश्वविद्यालयका युवा विद्यार्थीहरुलाई उत्साह जगाउँदै थिए ।
हुन त उनको उमेर, स्वास्थ्य अवस्थालाई लिएर सहयोगीले हिलोमा समाइदिएको विषयलाई सामाजिक सञ्जालमा टिप्पणी गर्नेहरुको लाइन उत्तिकै थियो । हिलोमा प्रविधि र हाते सीप दुबै प्रयोग गरेपछि केपी ओली त्यत्तिकै काठमाडौं फर्किए कि चितवनमा उनले केही नयाँ बहस गरे ? चर्चा र चासो कतै देखिएन ।
अहिले हामी सबैमा नेपाली राजनीति गर्ने नेतृत्वप्रति वितृष्णा पक्कै छ । हरेक नेतामा सकारात्मक र नकारात्मक गुण पनि छ । केपी ओली पनि सबै गुणमा अब्बल छैनन् । तर, उनले चितवन आएर सामाजिक सञ्जालको लोकरिझ्याइँ मोहमा रमाए कि ३ दिनको बसाइमा केही छुट्टै सन्देश दिए भन्नमात्रै चाहेको हो ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा दुई क्षेत्र एमाले र ३ नम्बरमा नेकपाकै तर्फबाट उम्मेदवार बनेर माओवादी अध्यक्ष तथा हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जितेको जिल्ला हो चितवन । तर, अहिले यहाँ न कम्युनिष्ट न कांग्रेस, प्रतिनिधिसभामा शून्य सहभागिता छ ।
पार्टीको प्रतिनिधिसभामा शून्य सहभागितालाई सुधार्न अहिलेदेखि योजना बनाइरहेका हुन् त ओली ? रणनीतिक हिसाबले पार्टीको संगठन सुदृढीकरण एउटा योजना पनि होला ।
तर, यसपटक ओलीको चितवन बसाइमा पार्टीको कार्यक्रम भएन । न कुनै राजनीतिक दललाई टिप्पणी गरेर सभा हँसाउने अभिव्यक्ति नै दिए । चितवन आएर उनले युवा र किसानसँग मात्रै समय बिताए ।
चितवन आएकै दिन साँझ जिल्लाका युवा उद्यमीका कुरा सुने । उनीहरुलाई नेपालमै गर्न सके सम्भावना छ भन्ने कुराको उत्साह जगाए । १५ गते बिहानै गेष्ट हाउसको चौरमा किसानहरुको मनोबल जगाउन भन्दै र्यालीमा हिँडे । त्यसपछि भरतपुर- २३ मा युवाले लगाएको केरा खेती अवलोकन गरे र वडा नम्बर २४ मा युवाको समूहले नै सुरु गरेको कृषि फार्ममा पुगेर खेत रोपे ।
दिउँसो ३ बजेपछि कृषि तथा वन विश्वविद्यालयको हलमा भरिएका कृषि, भेटेनरीका विद्यार्थीहरुसँग बातचित गरे । उनको कुराकानी परम्परागत थिएन । फरक फरक विचार बोकेका युवाहरुले भरिएको हलमा सुरुमा त गोरखादेखि काठमाडौंसम्मका किसानका कुरा भिडियोमार्फत सुनाए । विदेशमा दुःख गरेर, हण्डर खाएर आफ्नै देशमा कृषि कर्ममा रमाएकाहरुका कथा विश्वविद्यालयका विद्यार्थीलाई देखाएपछि कृषिमै रमाएका युवाका कुरा एउटै मञ्चबाट उनले सुने ।
कपिलवस्तु बसेर कृषि उद्यम थालेका दुई दिदीबहिनी सृष्टि र रचनाका कुरा, चितवनको गर्मीमा स्ट्रबेरी फलाएका सनद देवकोटाका कुरा सुनिसकेपछि ओलीले केही आफ्ना विचार राखे । उनले आफ्ना विचार पनि एकतर्फी राखेनन्, युवा विद्यार्थीका कुरामा, जिज्ञासामा अनि प्रश्नमा आफ्ना विचार थपे ।
उनले उत्पादन सीपको कुरा गरे, बजार प्रवर्द्धनका आइडिया बाँडे । अनि कृषि लगानीमा सहुलियतका कुरा पनि सुनाए ।
‘अब तपाईंहरुले अवसर खोज्ने होइन, सिर्जना गर्ने हो’, ओली थप्दै थिए, ‘हाम्रो देश नै कृषिको वरिपरि घुमेको छ, हाम्रो हरियाली खोलानाला जीवनमय छ, त्यसैले कृषि कर्ममा विश्वास गरौं ।’
उनले सहभागी युवाहरुलाई समय दिएर आधा दिनै विश्वविद्यालयको हलमा बिताए । उनीहरुसँगै फोटो खिचे । कुराकानी गरे ।
के थियो चितवन आउनुको उद्देश्य ?
चितवन हरेकजसो परिवर्तनमा देशलाई नै सन्देश दिने जिल्ला हो । देशभरका मानिसहरुका बसाइ भएर पनि होला यहाँ सकारात्मक वा नकारात्मक सबै परिवर्तन चाँडो चाख्न खोज्ने नागरिक छन् ।
पछिल्लो निर्वाचनमा पुराना दलहरु चितवनबाट अस्वीकृत भएर जिल्लाका दुई क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जित्नु पनि यहाँ परिवर्तनलाई चाँडो स्वीकार गर्ने जनता छन् भन्ने बुझ्न सजिलो हुन्छ ।
गएको प्रतिनिधिसभा निर्वाचनले चितवनमा कम्युनिष्ट संगठन कमजोर भएको संकेत दिइसकेको छ । त्यसमाथि मंसिर ४ को निर्वाचनमा चितवन ३ बाट उम्मेदवारी दर्ता गराएका जिल्ला अध्यक्ष राम न्यौपानेको उम्मेदवारी आफैंले फिर्ता गर्नु गलत भएको पनि ओलीले महसुस गरिसकेको जिल्ला पार्टीका नेतृत्वले बताउँदै आएका छन् ।
के ओलीले पनि यही कुरा बुझे होलान् ? त्यसमाथि पनि चितवनका युवामाझ जाँदा कस्तो सन्देश जान सक्ला पक्कै पनि उनले विश्लेषण गरेर आएका होलान् । हुन त नेकपा एमालेका जिल्लास्तरका नेताहरु कृषिप्रति एमालेको कस्तो दृष्टिकोण र योजना छ भन्ने कुरा युवालाई बुझाउन ओली चितवन आएको बताउँछन् ।
नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने भन्छन्, ‘अहिले युवालाई देशमा राख्नसक्ने रोजगारीले हो, रोजगारी सिर्जना गर्न कृषि उद्यमले मद्दत गर्छ । त्यसैले पार्टी अध्यक्षले कृषिलाई युवासँग जोडेर छलफल गर्न चाहनुभएको हो ।’
उनका अनुसार कृषि विश्वविद्यालय नै चितवनमा भएकाले उनले चितवन नै रोजेका हुन् । यद्यपि ओलीको पूर्वप्रधानमन्त्रीको मात्रै हैसियतमा चितवन बसाइ रह्यो । यहाँको बसाइमा भएको राजनीतिक गतिविधिले पनि प्रस्ट हुन्छ कि अब युवामाझ पार्टीलाई भिजाउने सर्वस्वीकार्य बाटो खोज्दैछन् ओली ।
किसानको लागि केहि नगर्ने अनि धान रोपेर जन्तालइ उल्लु बनाउन सिपालु बा लाइ के भन्ने लाल सलाम कति सक्छौ भेडा बाख्रा चराउ राज गर।