सरकारले ऋण लिनु खराब होइन, तर घाँटी हेरेर हाड निल्नुपर्छः अर्थमन्त्री महत – Nepal Press

सरकारले ऋण लिनु खराब होइन, तर घाँटी हेरेर हाड निल्नुपर्छः अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ऋण लिएपछि सरकारले त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताएका छन् ।

प्रतिनिधिसभामा ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ माथि छलफलको क्रममा ऋण लिनु नै खराब कुरा नभएको उनले दाबी गरे ।

उनले भने, ‘सरकारले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा कस्तो प्रतिफल हासिल गर्ने भन्ने विषय महत्वपूर्ण हुन्छ । यथार्थ धरातलमा उभिएर आवश्यकताको सिद्धान्तमा रही विधेयक तयार पारेका छौं । भविष्यमा अनावश्यक पर्ने बोझप्रति सचेत भएर उत्पादनशील क्षेत्रमा खर्च गर्ने र गम्भीरताका साथ कार्यान्वयन हुन्छ ।’

वैदेशिक ऋणबारे यथार्थ मूल्याङ्कनका आधारमा तयार पारेको उल्लेख गर्दै अर्थमन्त्री महतले आन्तिरक ऋण ४.६ प्रतिशतमात्र लिने निर्णय गरेको जनाए ।

वैदेशिक ऋण पूर्वाधार र विकास निर्माणमा मात्र प्रयोग गर्ने बताउँदै उनले कहिलेकाहीं साधारण खर्च धान्न आन्तरिक स्रोत र राजस्वले धान्न नसकेको बताए ।

अनावश्यक रुपमा साधारण खर्चलाई बढ्न नदिनेतर्फ बजेट उन्मुख रहेको उनको भनाइ छ ।

उनले थपे, ‘घाँटी हेरेर हाड निल्नु भन्ने भनाइ जस्तै आम्दानी र राजस्व थोरै भएका कारण नै थप सामाजिक सुरक्षाको प्रस्ताव गरेनौं । तलब भत्ता बढाउने प्रस्ताव पनि गरेनौं । प्रशासनिक खर्च बढ्न नदिने आधारहरु बजेटमा प्रस्तुत गर्नुको कारण त्यही हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *