जिल्लाको जन्मकैद फैसला सर्वोच्चमा आइपुग्दा २ वर्षमा झर्यो
शिशु हत्यामा दोषी ठहर ‘जोडी’ ३ वर्ष बढी जेल बसेर छुटे
काठमाडौं । नवजात शिशु ‘जातक’ हत्यामा जिल्ला अदालतले जन्मकैद गर्ने फैसला सर्वोच्च अदालतसम्म आइपुग्दा २ वर्षमा झरेको छ । पर्वतमा २०७४ सालमा भएको एक घटनामा जिल्ला अदालत, उच्च अदालत हुँदै गत फागुनमा सर्वोच्च अदालतले फैसला गरेको छ ।
हरिप्रसाद फुयाँल र कुमार चुडालको संयुक्त इजलासले अम्बिका कँडेल र दुर्गाबहादुर विकलाई २÷२ वर्ष जेल सजाय गरेको हो । घटनालगत्तै पक्राउ परेका उनीहरु ५ वर्षदेखि थुनामा थिए । इजलासले दोषि ठहर भएका दुवै जनाले सजाय काटिसकेको भन्दै तत्काल छाड्न भनेको थियो ।
यसअघि पर्वत जिल्ला अदालतले अम्बिकालाई सर्वस्वसहित जन्मकैद ठहर्याए पनि घटना हुँदा १६ वर्षमात्र उमेर, कच्चा उमेरको अवस्था, साविती बयान गरी अदालतको प्रकृयामा समेत सहयोग गरेको र लोकलज्जाबाट बच्नको लागि अवैध सम्बन्धबाट जन्मिएको शिशु हत्या गरेको अवस्था देखिएको भन्दै तत्कालीन मुलुकी ऐनमा सजाय घटाउन राय दिने व्यवस्थाअनुसार १० वर्ष मात्र जेल सजाय हुने रायसमेत साधक जाहेर गर्ने फैसला भएको थियो । यता दुर्गालाई भने जन्मकैद सजाय भएको थियो ।
उच्च अदालत पोखराले भने दुर्गालाई १० वर्षमात्र कैद सजाय गर्ने फैसला गरेको थियो। अम्बिकाको हकमा चालु कानूनमा सर्वस्वसहित जन्मकैदको व्यवस्था नभएको भन्दै त्यसलाई जन्मकैदमा मात्र सीमित गर्दै मुलुकी ऐनको सजाय घटाउन राय दिने व्यवस्थाअनुसार ७ वर्ष मात्र कैद सजाय गर्न साधक जाँचका लागि सर्वोच्च अदालत पेश गर्ने फैसला भएको थियो ।
सर्वोच्च अदालतले दुर्गाले जिल्ला अदालतमा इन्कारी बयान गरेको, घटनाको प्रत्यक्षदर्शी साक्षी नभएको, सहप्रतिवादीले पोलसम्म गरेको, अन्य तथ्यगत आधार प्रमाण नभएकाले जातक मार्नमा निजको संलग्नता रहेको भन्ने नदेखिएकाले उनको कारण गर्भ रहन गएको, गर्भ रहि जातक बच्चाको जन्म भई भएको हुँदा ज्यान मार्नमा मतलवी मात्र भन्ने देखिएकाले २ वर्ष कैद सजाय हुने ठहर गरेको थियो ।
यस्तै, अम्बिकाको हकमा ‘उनले अनुसन्धान अधिकारी समक्ष बयान गर्दा साविती बयान दिई न्यायिक प्रकृयामा सहयोग गरेको देखिएको, निज प्रतिवादी १८ वर्ष उमेर नपुगेको नाबालिका रहेको, निजको गर्भ रही लोकलज्जाबाट बच्न जातक मारेको देखिँदा प्रचलित कानुनी व्यवस्था, प्रतिवादीको कसुर गर्दाको उमेर, कसुर गर्दाको परिस्थिति, सामाजिक आर्थिक परिस्थिती र न्यायको रोहमा फौजदारी न्यायको मकसद पुरा हुने नै हुँदा’ आधार र कारण देखाएर २ वर्ष कैद सजाय हुने फैसला भएको थियो। दुर्गा र अम्बिका २०७४ भदौ १६ गते पक्राउ परेका थिए ।
जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि उनीहरुलाई कारागार पठाएको थियो । पर्वतको तत्कालिन पाङ गाविस–८ का दुर्गा र अम्बिका छिमेकी हुन्। घटना हुँदा अम्बिका १६ र दुर्गा २५ वर्षका थिए । दुर्गासँग प्रेम गर्ने क्रममा गर्भ बसेको र दुवै जनाको सल्लाहमा जन्माएर हत्या गरी फ्याँकिएको उनले बयान दिएकी थिइन् ।
बुबाले कान्छी श्रीमती ल्याएपछि अम्बिका बहिनी र आमासँग बस्दै आएकी थिइन् । यता प्रहरीमा अम्बिकासँग शारीरिक सम्पर्क भएको स्वीकार गरेका दुर्गाले अदालतमा गरेको बयानमा भने आफू अपाङ्ग भएकै कारण झुटा आरोप लगाइएको दाबी गरेका थिए ।