बजेटले रोजीरोटी खोसिएका भन्सार प्रतिनिधि सिट्टी र मादल बजाएर लाइसेन्स माग्दै (भिडिओ) – Nepal Press

बजेटले रोजीरोटी खोसिएका भन्सार प्रतिनिधि सिट्टी र मादल बजाएर लाइसेन्स माग्दै (भिडिओ)

काठमाडौं । भन्सार विभागमा भन्सार एजेन्टले नियुक्त गरेका भन्सार प्रतिनिधिहरु सरकारले बजेटमार्फत हटाएपछि विरोधमा उत्रिएका छन् ।

नेपाल सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका ३०० जना प्रतिनिधिहरू हटाउने निर्णय गरेको हो । नेपाल सरकारद्वारा भन्सार एजेन्टले नियुक्त गरेका प्रतिनिधि खारेज गरेको हो । अहिले आर्थिक विधेयक पास भएर प्रमाणीकरणको प्रक्रियामा रहेको छ ।

तर, अहिले भन्सार एजेन्टका प्रतिनिधिले १० दिनदेखि भन्सार विभागमा धर्ना दिरहेका छन् । आफ्नो रोजिरोटी खोसिएको भन्दै उनीहरु धर्नामा बसेका हुन ।

धर्नामा मादल र सिट्टी बजाएर पुराना भन्सार एजेन्टका प्रतिनिधिहरुले विरोध गरिरहेका छन् । धर्नामा मादल र सिठिठ् बजाउँदै ‘प्रतिनिधिलाई लाइसेन्स दे, रोजीरोटी खोस्न पाइदैन, अन्धो सरकार चाहिदैन र सरकारबाट हट लगायतका नारा प्रस्तुत भएका छन् ।’

धर्नामा सहभागी तथा संर्घष समितिका सदस्य शंकर थापाले विगत १० दिनदेखि केन्द्रीय भन्सार कार्यलयमा शान्तिपूर्ण गरिरहेका बताए ।

उनले भने, ‘राज्यले भन्सार एजेन्टका प्रतिनिधिलाई तलब वा भत्ता दिनुपर्ने होइन । तर, के कारणले हामीले गरिरहेको काम राज्यले खोस्यो थाहा भएन । अहिले सरकारको ल्याएको नयाँ ऐनको विरुद्धमा हामीले धर्ना जारी राखेका हौं । हामीले प्रधानमन्त्री र अर्थमन्त्री लगायतलाई भेटेर भन्सार प्रतिनिधि हटाउने निर्णय फिर्ता लिन भनेका छौं । प्रधानमन्त्री र अर्थमन्त्री पनि हाम्रो कुरामा सकारात्क हुनुहुन्छ ।’

३ सय प्रतिनिधिहरुको काममा रोक्का भएको थियो । भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले भन्सार विभागका प्रमुख र मन्त्रीबीच पुराना भन्सार एजेन्टले नियुक्ति गरेको भन्सार प्रतिनिधिको विषयमा छलफल भइरहेको बताए ।

उनले भने, ‘अहिले कानूनले नै भन्सार एजेन्ट चिन्दैन । नयाँ भन्सार एजेन्टको परीक्षामा पुराना भन्सार एजेन्टका प्रतिनिधिलाई पनि शैक्षिक योग्यताभन्दा पनि काम गरेको आधारमा परीक्षामा भाग लिन गराएका थियौं । कानूनभन्दा माथि कोही पनि हुँदैन । पुराना भन्सार एजेन्टका प्रतिनिधिलाई भन्सार एजेन्टको लाइसेन्स दिने भए नयाँ एजेन्टको लोकसेवाले परीक्षा लिएको कुनै अर्थ भएन । नयाँ भन्सार एजेन्टले पनि पुराना भन्सार एजेन्टका प्रतिनिधि हटाउन माग गरेका थिए । पहिले भन्सार एजेन्टको परीक्षामा विवाद हुँदा अख्तियारले नै शैक्षिक योग्यता तोकेको छ ।’

भन्सार ऐनमा के छ नयाँ व्यवस्था ?

भन्सार ऐन २०६४ को दफा ५१ मा भन्सार एजेन्टको इजाजत पत्र सम्बन्धी व्यवस्थाको उपदफा १ मा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्ट वा प्रतिनिधिको रूपमा काम गर्न चाहने व्यक्तिले विभाग वा भन्सार कार्यालयबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ’ भन्ने व्यवस्थालाई व्यवस्था थियो ।

संशोधन गरी सो को सट्टा ‘निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रूपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजत पत्र लिनु पर्ने छ’ भन्ने व्यवस्था गरेको छ ।

नयाँ ऐनअनुसार भन्सार प्रतिनिधिहरुले भन्सारमा काम गर्न पाउने छैनन् । भन्सार एजेन्टले प्रतिनिधि तोक्न पनि पाउने छैनन् । यसभन्दा अघि भन्सार एजेन्टले नै भन्सार प्रतिनिधि तोक्न पाउने व्यवस्था थियो । एकजना भन्सार एजेन्टले २ जना प्रतिनिधि तोक्न पाउने व्यवस्था थियो ।

संशोधित भन्सार ऐनअनुसार अब भन्सार एजेन्ट स्वयं भन्सार कार्यालयमा उपस्थित भई मालवस्तु जाँच पास गर्नुपर्ने भएको छ । र यो व्यवस्था आर्थिक विधेयक सँगसँगै लागू भएको हो ।

आर्थिक वर्ष २०७९/८० मा भन्सार विभागले ६६० जना नयाँ भन्सार एजेन्ट नियुक्ति गरेको छ ।

भन्सार विभागले २० वर्षअघि ४०० जनाले भन्सार एजेन्टलाई लाइसेन्स दिएको थियो । २०६१ सालमा भन्सार एजेन्टको अनुमति पत्र दिने परीक्षा सञ्चालन गर्न खोज्दा सर्वोच्च अदालतमा मुद्दा परेपछि रोकिएको थियो ।

अदालतले ऐनमा व्यवस्था गरेर मात्रै परीक्षा लिनुपर्ने आदेश दिएको थियो । आर्थिक वर्ष २०७९/८० मा ऐनमा नै व्यवस्था गरेर नै ६६० जनाले नयाँ लाइसेन्स पाएका थिए ।

भन्सार एजेन्टको काम के हो ?

विदेशबाट वस्तु आयात गर्दा वा नेपालबाट नेपाली वस्तु विदेशमा निर्यात गर्दा भन्सार एजेन्टले सहजीकरण गर्ने छन् । विदेशबाट नेपाल आउने सामान र नेपालबाट विदेश जाने वस्तुको आयात–निर्यातमा सहजीकरण गर्ने छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर