कर्णालीमा धान रोपाइँ ४५ प्रतिशत, डोल्पामा सम्पन्न – Nepal Press

कर्णालीमा धान रोपाइँ ४५ प्रतिशत, डोल्पामा सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा हालसम्म ४५.६ प्रतिशतमात्र धान रोपाइँ भएको छ । कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार असार १७ गतेसम्म सुर्खेतमा ३५ र डोल्पामा १०० प्रतिशत रोपाइँ भएको छ ।

यस्तै दैलेखमा २५, रुकुम पश्चिममा ४३, जाजरकोटमा ५६, सल्यानमा ५५, मुगुमा ५२, जुम्लामा ९०, कालिकोटमा ६० र हुम्लामा ६५ प्रतिशत धान रोपाइँ भएको निर्देशनालयका नि. प्रमुख चित्रबहादुर रोकायाले जानकारी दिए ।

उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष सिँचाइ सुविधा नभएका ठाउँमा रोपाइँ हुन सकेको छैन । मनसुन बेलैमा सक्रिय नहुँदा यो वर्ष रोपाइँ केही ढिलो भएको छ ।

सिंचाइ पुगेका स्थान र खोला आसपास क्षेत्रमा भने धान रोपिएको छ । गतवर्षको यही अवधिमा झण्डै ३२ प्रतिशतमात्रै रोपाइँ सकिएको थियो । रोपाइँको जिल्लागत तथ्यांकमा पहिलो स्थानमा डोल्पा परेको छ । डोल्पामा १०० प्रतिशत रोपाइँ भएको छ ।

जुम्लाका सात गाउँपालिकामध्ये एउटा नगरपालिकाको सिञ्जा चन्दननाथ क्षेत्र, तातोपानी, देपालगाउँ, गज्र्याङकोट र विश्वकै उच्च स्थानमा धान फल्ने पातारासी गाउँपालिकाको छुमचौरमा पनि स्थानीय कालीमार्सी र राती मार्सीको रोपाइँ गरिएको छ । चैत २० गतेपछि धानको ब्याड राख्ने र बैशाखको अन्तिम साता धान रोप्न सुरु गरिन्छ । यहाँ असारभित्र रोपाइँ सम्पन्न हुन्छ ।

कर्णालीको ६० प्रतिशत जमिन आकाशे पानीको भरमा छ । प्रदेश सरकारले सिंचाइमा ठूलो लगानी गरे पनि किसानहरू अझै पनि आकाशे पानीको भरमा रोपाइँ गर्न बाध्य छन् ।

कर्णालीको कूल गार्हस्थ उत्पादनको ४५.६ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । प्रदेशमा करिब ४८ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कर्णालीमा २५ लाख २५ हजार २७६ हेक्टर क्षेत्रफल जमिनमध्ये दुई लाख ९९ हजार ३३९ हेक्टर क्षेत्रफल खेतीयोग्य छ । त्यसमध्ये पनि दुई लाख १६ हजार ८८० हेक्टर क्षेत्रफलमा खेती गरिन्छ ।

खेती गरिने कुल जमिनमध्ये ३८ हजार ८८६ हेक्टर क्षेत्रफलमा मात्र धान रोपाइँ हुन्छ । अहिलेसम्म कुल रोपाइँ हुनेमध्ये २० हजार ४५२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको निर्देशनालयले जनाएको छ ।

निर्देशक रोकायाका अनुसार ३८ हजार ३३ हेक्टर क्षेत्रफलमा मात्र वर्षभरि सिंचाइ सुविधा पुग्ने गरेको छ । ३० हजार ३०२ हेक्टर क्षेत्रफलमा आंशिक सिंचाइ सुविधा उपलब्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *