वडाध्यक्षले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
पोखरा । वडाध्यक्ष्ले उपभोक्ता समितिका अध्यक्षलाई हातपात गरेको भन्दै नेकपा एमालेले कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ को वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
वडाध्यक्ष रामबहादुर गुरुङले उपभोक्ता समितिको अध्यक्ष अमृत भण्डारीलाई हातपात गरेको भन्दै एमाले माछापुच्छ«े ७ र ८ वडा कमिटीले मंगलबार वडा कार्यालयमा तालाबन्दी गरेको हो ।
एमालेले वडा कार्यालयमा व्यानर झुण्ड्याएर वडाध्यक्षलाई कारवाहीको माग गरेको छ । व्यानरमा पटके वडाध्यक्ष राजिनामा दे लगायतका नारा लेखेका छन् ।
वडाध्यक्ष गुरुङले संघीय सरकारको योजना खोरामुख उपल्लो इदिखोला सडकको स्तरउन्नतीको विषयमा उपभोक्ता समितिका अध्यक्ष अमृत भण्डारीले निर्माण कार्यमा ढिलाई गरेपछि सो विषयमा भनाभन मात्र भएको प्रतिक्रिया दिए ।
माछापुच्छ्रे गाउँपालिकाका निवर्तमान अध्यक्ष कर्णबहादुर गुरुङले वडाध्यक्षलाई कानूनी दायरामा ल्याए मात्र तालबन्दी खुलाउने बताए ।
‘यसभन्दा अगाडि पनि कर्मचारीलाई हातपात गर्नुभयो, हामीले क्षमा पनि दियौं । फेरि पुनः उपभोक्ता समितिका अध्यक्षलाई हातपात गर्नुभयो, पिडितले न्याय नपाएसम्म तालबन्दी जारी रहन्छ,’ गुरुङले भने ।