कोशीका सभामुखलाई दलको सदस्यमा गन्न नमिल्ने त्यो लिखित घोषणा, गौतम भन्छन्- कानूनी राय लिन्छु (भिडिओ) – Nepal Press

कोशीका सभामुखलाई दलको सदस्यमा गन्न नमिल्ने त्यो लिखित घोषणा, गौतम भन्छन्- कानूनी राय लिन्छु (भिडिओ)

विराटनगर । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले सरकार गठनका विषयमा आफूलाई दलको सदस्यको रूपमा जोड्न मिल्ने/नमिल्ने भन्ने विषयमा कानूनी सल्लाह गर्न बाँकी रहेको बताएका छन् । सभामुख भएसँगै आफूले दलको सदस्यता त्यागिसकेकाले दलले के गर्छ भन्ने कुरा आफूलाई थाहा नहुने बताए ।

‘म सभामुख भएसँगै आफू आबद्ध दलको संसदीय दलको बैठकमा गएको छैन’, उनले नेपाल प्रेससँग भने,‘दलले पनि मसँग सल्लाह गरेको छैन के गर्छ । म कानूनी सल्लाह गरेर निर्णय लिन्छु ।’

गौतमले २०७९ पुस २८ गते सदनमा दलत्याग गरेको घोषणा गरेका थिए ।

सभामुख गौतमले सरकार गठनका विषयमा प्रदेश प्रमुखकोमा दलहरूले सभामुखसहितको संख्या दाबी गरेर जान्छन् कि जाँदैनन् त्यो दलहरूको कुरा भएको बताए । अहिलेसम्म यस विषयमा कुनै दलले सल्लाह र छलफल नगरेको उनको प्रष्टोक्ति थियो ।

‘यो मेरो विषय होइन मेरो विषय आएपछि म कानूनी सल्लाह गरेर भन्ने नै छु’, गौतमले भने ।

गौतम ओखलढुंगा १ (२ ) बाट माओवादीका तर्फबाट निर्वाचित भएका थिए । कोशी प्रदेशसभामा उनीसहित माओवादीको १३ सदस्य रहेको थियो । सभामुख भएसँगै उनले दल त्यागको घोषणा गरेपछि सदनमा माओवादीको १२ सीट छ । तर, गठबन्धनले सभामुख पनि गनिने बताइरहेको छ ।

‘पहिला पहिला दलहरूले सभामुखसहित संख्या बुझाउने प्रचलन रहेछ । त्यो बेला संख्याका कारण सभामुखसमेत संख्या बुझाउँदा चासो भएन अहिले चासो छ । यही चासोका कारण म कानूनी सल्लाह गरी उपयुक्त निर्णयमा पुग्नेछु’, उनी भन्छन् ।

उनले सरकार गठनको विषय आफ्नो क्षेत्राधिकार र चासोको विषयमा नभएको स्पष्ट पारे । उनले कोशी प्रदेशसभामा सभामुखको संख्या गन्न मिल्ने कि नमिल्ने भन्ने सबैको चासो रहेको बताए । कोशी प्रदेशमा अहिले गठबन्धन दलले कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्रीको रूपमा अघि सारेको छ ।

गठबन्धन दलसँग सभामुखबाहेक ४६ सदस्य रहेका छन् । एमाले-राप्रपासँग पनि ४६ जना नै सांसद छन् । त्योमध्ये गठबन्धनमै रहेको जसपाले सरकार गठनमा सहयोग गर्ने कि तटस्थ बस्ने भन्ने निर्णय गरिसकेको छैन । उसले प्रदेशको नाम फेर्ने विषयमा गठबन्धन दलसँग पनि लिखित प्रतिबद्धता मागेको छ ।

हिक्मत कार्की नेतृत्वको सरकार असार १५ गते शुक्रबार विश्वासको मत पाउन सकेन । विश्वासको मत पाउन नसकेपछि कार्की नेतृत्वको सरकार काम चलाऊ सरकारमा परिणत भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले संविधानको धार १६८ (२) अन्तरगत १७ गते साँझ ५ दिनको समय दिँदै सरकार गठनका लागि आव्हान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर