तीन कम्पनीले पाए आईपीओ निष्काशनको अनुमति, कुनको मूल्य कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ३ वटा कम्पनीलाई आईपीओ बिक्री गर्न अनुमति दिएको छ । बोर्डले ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड, माण्डु हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरलाई आईपीओ बिक्री गर्न अनुमति दिएको हो ।
बिक्री अनुमति पाएको हाथवेले भने ५० रुपैयाँ प्रतिकित्ता दरमै आईपीओ जारी गर्ने भएको छ । बोर्डले ह्याथवेलाई प्रतिकित्ता ५० रुपैयाँको दरले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख २५ हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
तर माण्डु हाइड्रोपावरले भने १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँको दरमा कूल १६ लाख ३६ हजार ३७० कित्ता आईपीओ बिक्री गर्ने भएको छ ।
आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि प्रिमियम भाउमा आईपीओ बिक्री गर्न माण्डुले अनुमति पाएको हो । यसमा प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
यस्तै, मिड-सोलु हाइड्रोपावरले भने प्रतिकित्ता १०० रुपैयाँको दरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कूल १४ लाख ९६ हजार ८०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । यसमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।