असार महिनामा कर्णाली सरकारको २ अर्ब ५४ करोड खर्च
सुर्खेत । कर्णाली प्रदेश सरकारले असार महिनामा २ अर्ब ५४ करोड बढी बजेट खर्च गरेको छ । प्रदेश सरकारले असार महिनाको १७ गते सम्ममा मात्र २ अर्ब ५४ करोड ३६ लाख ५९ हजार ८३२ रुपैयाँ ३१ पैसा बजेट खर्च गरेको हो ।
प्रदेश सरकारले यसअघि जेष्ठ मसान्तसम्ममा कूल बजेट मध्ये १३ अर्ब नौं करोड ६६ लाख १७ हजार ८३२ रुपैयाँ ६२ पैसा खर्च गरेको थियो ।
हाल असार १७ गतेसम्ममा प्रदेश सरकारको कुल बजेटबाट १५ अर्ब ६४ करोड २ लाख ७७ हजार ६६४ रुपैयाँ ९३ पैसा बजेट खर्च पुगेको छ ।
असारको महिनामा सबैभन्दा धेरै रकम भुक्तानी गर्नेमा भौतिक पूर्वाधार विकास मन्त्रालय रहेको छ । यस मन्त्रालयले १७ दिनमा मात्र ६५ करोड ४४ लाख ९८ हजार ९३० रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले ५३ करोड ९६ लाख ९३ हजार ६७९ रुपैयाँ बजेट खर्च गरेको छ ।
सामाजिक विकास मन्त्रालयले २५ करोड ७४ लाख ७६ हजार चार सय १६ रुपैयाँ भुक्तानी दिएको प्रदेश लेखा नियन्त्रक कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले २३ करोड १५ लाख पाँच हजार पाँच सय ७७ रुपैयाँ भुक्तानी दिएको छ भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले १० करोड ९२ लाख ६१ हजार चार सय ७८ रुपैयाँ भुक्तानी गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत मिलनकुमार शर्माले जनाए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दुई करोड २२ लाख ९० हजार नौं सय ८७ रुपैयाँ र आर्थिक मामिला तथा योजना मन्त्रालयले एक करोड, १४ लाख ४३ हजार ३७ रुपैयाँ भुक्तानी दिएका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले भने असार महिनाको १७ दिनमा ४३ लाख ३८ हजार तीन सय ३५ रुपैयाँ भुक्तानी गरेको छ ।
प्रदेशले स्थानीय तहहरुलाई पठाएको बजेटबाट असार महिनाको १७ दिनसम्ममा कुल ६९ करोड ७५ लाख २९ हजार पाँच सय ६४ रुपैयाँ बजेट खर्च भएको छ ।
प्रदेश व्यवस्थापिकाले ९३ लाख ४१ हजार पाँच सय ९२ रुपैयाँ, प्रदेश लोक सेवा आयोगले ३४ लाख ४६ हजार एक सय ५५ रुपैयाँ, मुख्य न्यायाधिवक्ताको कार्यालयले ११ लाख ११ हजार सात सय ८४ रुपैयाँ र कर्णाली प्रदेश योजना आयोगले १७ लाख २२ हजार दुई सय ९१ रुपैयाँ खर्च गरेका छन् ।