आजबाट आईपीओ निष्कासन गरेको आइएमई लाइफ कस्तो कम्पनी हो, आवेदन दिनेकि नदिने ?
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले आज (असार २१ गते) देखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको छ ।
सय रुपैयाँ अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम जोडेर २३६.९१ रुपैयाँ प्रति सेयरका दरले आइपिओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा ल्याएको हो ।
आइएमईले १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्दैछ । यसमध्ये १० प्रतिशत (१२ लाख कित्ता सेयर) वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन भइसकेको छ भने ५ प्रतिशत (६ लाख कित्ता सेयर) कर्मचारी र ५ प्रतिशत (६ लाख कित्ता) सेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
सर्वसाधारण लगानीकर्ताले यसमा असार २५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । यो आईपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनी कस्तो हो, प्रतिसेयर आम्दानी कस्तो छ ?
आइएमई लाइफको गत तिन वर्ष लगातार बढेको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्ष (२०७९/८०) को चैत मसान्तसम्म भने केही घटेको छ । गत वर्ष प्रतिसेयर आम्दानी २३.२४ रुपैयाँ रहेको आइएमई लाइफको चैत मसान्त सम्मको वित्तीय विवरण अनुसार ९ रुपैयाँ २१ पैसा रहेको छ ।
असार मसान्तसम्ममा यस्तो आम्दानी अझै घट्न सक्ने कम्पनीको विवरण पत्रमा उल्लेख छ । यो आर्थिक वर्ष (असार मसान्तसम्म) ७.५७ रुपैयाँ रहने प्रक्षेपण छ । यस्तै आगामी वर्ष २०८०/८१ मा ९.६८ रुपैयाँ र २०८१/८२ मा १२.५१ रुपैयाँ पुग्ने प्रक्षेपण कम्पनीको छ । अहिले यसको प्रति सेयर नेटवर्थ भने १४५ रुपैयाँ रहेको छ ।
असार मसान्तसम्म नेटवर्थ पनि घट्ने अनुमान छ । चैत मसान्तसम्म यसको सञ्चित नाफा १ अर्ब २६ करोड १ लाख रुपैयाँ रहेको छ ।
केयर नेपालले आइएमई लाइफ इन्स्योरेन्सको आईपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।
कम्पनीले चैत्र १५ गतेसम्ममा ८३ वटा शाखा कार्यालय र ५७ वटा उप शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । साथै नेपाल बीमा प्राधिकरणबाट थप १ वटा शाखा कार्यालय र ८ वटा उप शाखा कार्यालय खोल्ने स्वीकृति प्राप्त भएको पनि कम्पनीले जनाएको छ ।
हाल नेपालको बीमा बजारमा जीवन बीमातर्फ १८ वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । आइएमईले २०७४ असार २० गते नेपाल बीमा प्राधिकरणबाट लाइसेन्स पाएको थियो ।
त्यसै साल भदौ १ गतेबाट यसले व्यावसायिक कारोबार शुरु गरेको हो । कम्पनीको अधिकृत पुँजी ५ अर्ब, जारी पुँजी ४ अर्ब र चुक्तापुँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । यो आईपीओ निष्कासन पश्चात् आइएमईको चुक्तापुँजी ४ अर्ब रुपैयाँ पुग्नेछ । यसमा चन्द्रढकाल, हेमराज ढकाल लगायत प्रमुख सेयर धनी रहेका छन् ।