समस्याग्रस्त १२ सहकारीमध्ये २ वटाको बचत फिर्ता, बाँकीको दायित्व कति ? – Nepal Press

समस्याग्रस्त १२ सहकारीमध्ये २ वटाको बचत फिर्ता, बाँकीको दायित्व कति ?

काठमाडौं । हालसम्म समस्याग्रस्त घोषणा भएका १२ सहकारी संस्थामध्ये २ वटाको मात्रै बचत फिर्ता भएको छ । रकम फिर्ता गर्न नसकेका १० वटा सहकारीमा ५ हजार ५७ जना बचतकर्ताको ३ अर्ब ७८ करोड ९८ लाख २३ हजार रुपैयाँ फसेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार यसबीचमा ९ वटा सहकारीले ४६ करोड ७६ लाख ६५ रुपैयाँ बराबरको बचत रकम फिर्ता गरेका छन् । ५ वर्षअघि १० वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको थियो । जुन सहकारीको व्यवस्थापन गर्न कार्यालयलाई जिम्मा लगाइएको थियो ।

त्यतिबेला ती सहकारीमा १ हजार ६९ जना बचतकर्ताले रकम फिर्ताको दाबी गरेका थिए । तीमध्ये ४०९ जनाले आफ्नो बचत रकम फिर्ता पाएका थिए ।

२०७६ सालमा २४१ जनाको माग दाबीसहित लुनिभा बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्तको सूचीमा थपियो । लुनिभाले गएको बैशाखमा ७६ जनाको बचत फिर्ता गरेको कार्यालयले जनाएको छ ।

२०७९ सालमा ओरेन्टल को-अपरेटिभ पनि समस्याग्रस्त भई सूचीमा थपिएको थियो । समस्याग्रस्त सहकारीमध्ये ओरेन्टलले सबैभन्दा धेरै रकम फिर्ता गर्न बाँकी छ । उसले ४ हजार ३०० बचतकर्ताकोे करिब पौने ३ अर्ब रकम तिर्नुपर्नेछ । ओरेन्टलले आगामी ६ महिनाभित्र सबैको बचत रकम भुक्तानी गर्ने प्रतिबद्धता व्यक्त गरेको कार्यालयले जनाएको छ ।

त्यस्तै २०७५ साल चैत १९ गते समस्याग्रस्त घोषणा भएको सोसाइटल बचत तथा ऋण सहकारी संस्थामा २४० जनाले माग दाबी गरेका छन् । यसमध्ये १३३ बचतकर्ताको रकम फिर्ता गरिसकेको सोसाइटलको अबको दायित्व पौने ७ करोड रुपैयाँ रहेको छ ।

सोसाइटलका उपाध्यक्ष महेश्वर न्यौपानेले ऋण नउठ्दा सहकारी समस्याग्रस्त भएको बताए ।

समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयका सदस्यसचिव केशव पौडलले सोसाइटलका सञ्चालकहरु आफैंले संस्थाको सम्पत्ति बेचेर बचत फिर्ता गर्ने आश्वासन दिएको बताए । उनका अनुसार सोसाइटल सहकारीको नाममा चितवनमा १३ कट्ठा जमिन भेटिएको छ । ‘जग्गा लिलाम गर्दा मुद्दा प¥यो । यसले तत्काल जग्गा बेच्न पाएनौं । तर, पछि मुद्दा जितियो’, पौडेलले भने ।

सोसाइटलका सञ्चालकहरुले जग्गा बिक्री गरेर बचकर्ताको रकम फिर्ता गर्ने लिखित प्रतिबद्धता समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयमा पेश गरिसकेका छन् ।

पाँच वर्षअघि समस्याग्रस्त घोषित चार्टर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडमा १४ बचकर्ताको ३ करोड ५३ लाख ४० हजार १५५ रुपैयाँ दाबी परेको थियो । उसले १२ बचतकर्तालाई ५० लाख बराबर बचत फिर्ता गरिसकेको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालयका अनुसार चार्टरले ८४ लाख रुपैयाँभन्दा बढी बचत फिर्ता गरिसकेको छ । चार्टरले अब २ जना बचतकर्ताको ३५ लाख बढी रकम फिर्ता गर्न बाँकी छ । चार्टरका बचतकर्तालाई यही साउनभित्र सबै बचत रकम भुक्तानी हुने कार्यालयले बताएको छ ।

कार्यालयको तथ्याङ्कअनुसार कुबेर बचत तथा ऋण सहकारी संस्था र स्ट्याण्डर्ड मल्टिपर्पोज को-अपरेटिभमा क्रमशः ५७ लाख र ७५ लाख रुपैयाँ दाबी परेको थियो । तिनीहरुले रकम भुक्तान गरिसकेका छन् ।

कञ्जुमर बचत तथा ऋण सहकारी संस्था, कोहिनुर हिल सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ र भेगास बचत तथा ऋण सहकारी संस्थाको कुनै प्रकारको विवरण अझै प्राप्त हुन नसकेको कार्यालयले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर