पुनरावृत्तिको श्रृंखला – Nepal Press
ब्लग

पुनरावृत्तिको श्रृंखला

वर्तमान विगत बन्दै गर्दा र भविष्य पनि वर्तमान हुँदै विगतको दिशातर्फ उन्मुख बनिरहँदा यो क्षणको तत्वबोधले सोधिरहन्छ । यस बीचमा पुनः निरर्थक समय त गुज्रिएन ? समयको यति धेरै बोध विगतदेखि नै हो । यद्यपि समयको उचित प्रयोग गर्न नसक्दा प्रश्नको चाङ बढिरहेको छ ।

प्राप्तिमा जीवन सफल सोच्नेहरुको भीडमा नै कतै हराउँछु कि जस्तो । बितेका र वर्तमान पलको यर्थाथबोधले सोधे तापनि भिन्न हुन सकेन । सोच्नु र गर्नुको बीचमा लामो तादात्म्य हुँदोरहेछ । सोचले विषयवस्तुको बोध गराउन सहयोग गरे तापनि कार्यान्वयन भने टाढाको पाटो रहेछ । विगतका पुनरावृत्ति मस्तिष्कमा घुमिरहँदा सच्चिन र सच्चाउने पर्ने विषयमा माथापच्ची मच्चिरहँदा त्यसले पूर्णता नपाउँदा वर्तमान विगतमा बदलिइरहेछ । जुन फेरि पुनरावृत्तिको थप श्रृंखला बनिरह्यो ।

फेरि उही निरन्तरतामा पलहरु दौडिरहे । मस्तिष्कमा घुम्ने सोचहरु पनि विगतको बारम्बार प्रतीक बनिरहँदा थप पेचिलो बनिदियो । झाँगिएको लम्बेतान श्रृंखलाहरुले मडारिएको बादल माड्ने अथक प्रयासमा सफल हुन सकेन । सायद यो नै समयको चक्र थियो क्यारे ! जुन समयमा गर्नुपर्ने अथाह कर्तव्यहरु पूरा गर्न उचित मान्न सकिएन ।

सधैं हिँड्ने बाटो पनि गहुँगो बनेको छ । लाग्दो हो, धर्ती पनि यी पाइलाहरु थेग्न इच्छुक छैन । विनाउपलब्धिका पाइलाहरु पनि धर्तीलाई बोझ भएको जस्तो । सूर्योदय र सूर्यास्त देख्दा समान र उस्तै देखिए तापनि त्यसमा अलौकिक भिन्नता रहेछ । जुन भिन्नतालाई समान देख्नेहरुको भीडमा हराउँदै जीवनका अमूल्य पलहरु बितिरहे । धर्तीमा देखिने अविच्छिन्न भौतिकवादमा जब सोच र मस्तिष्क बन्धक बन्छन्, हृदयको पुकार अन्यायमा पर्दोरहेछ । यही अन्यायको बीचमा भएको हृदयात्मक द्वन्द्वमा सवै जीवन निरीह बनिदियो । यही निरीहतामा घिस्रिएको जीवनमा विगतको पुनरावृत्ति पीडाको पहाड बनिदियो ।

धर्तीमा देखिने अविच्छिन्न भौतिकवादमा जब सोच र मस्तिष्क बन्धक बन्छन्, हृदयको पुकार अन्यायमा पर्दोरहेछ । यही अन्यायको बीचमा भएको हृदयात्मक द्वन्द्वमा सवै जीवन निरीह बनिदियो । यही निरीहतामा घिस्रिएको जीवनमा विगतको पुनरावृत्ति पीडाको पहाड बनिदियो ।

जीवनको आरोहअवरोह पनि समयको पलसँगै अनियन्त्रित बन्दोरहेछ । सधैं उस्तै लाग्ने पलहरु आज पृथक लागेको छ । सम्भावनाको पलमा असम्भवको चित्र नदेखेको सोचमा आज बिर्को लागेको छ । पक्कै पनि उन्मादको त्यो प्यासमा पल र उमेरको तादात्म्य मिलाउने सोचको कहिल्यै किन विकास भएन ? उपलब्धिविहीन पलहरुले घर गरिरहँदा भविष्यको सोचमा कहिल्यै किन जरो गाडेन ? चिन्तनको यो परिधिमा देखिएको असामान्य खाडलको पूर्ति सायद अब सम्भव नहोला । विगतको पुनरावृत्ति सायद कमैमा होला, कमैभित्रको पात्रमा जुर्मराउने तत्व आफैंमा देखिँदा ग्लानीबोधले साँच्चै नै असहज हुनेरहेछ ।

बगेको नदीमा समेत असमानताको प्रश्न मडारिरहँदा त्यसले ल्याउने पराकम्पले नयन, मस्तिष्क हुँदै कोमल आत्मा गहिरो चोट दिनेरहेछ । लाग्दैछ, फेरि फर्केर आउँदैछ । तर, त्यो कल्पनाभन्दा पृथक हुन सकेन । निरन्तर बगेको छाल जस्तै, अनेक अवस्थामा तौरिँदै, उत्रँदै र डुब्दै विनागन्तव्य अस्तित्व रक्षामा लाग्दा गुमेका क्रियाशीलता शून्यमा भए जस्तो, शून्य नै मिठासपूर्ण लाग्दोरहेछ । एकान्तमा सुस्ताएको पुष्पमा पनि असमानता देखिरहेछ । वायुमण्डलको त्यो क्रियाले कहिले सुस्तरी त कहिले बेस्सरी प्रतिप्रहार गरिरहेछ । त्यसको अवगत पुष्पमा देखिएको भौतिक हलचलले पुष्टि गरिरहेछ । संसारको सबैमा प्रहार र प्रतिप्रहार निरन्तरको खेल रहेछ । कहिले झुलिरहने पलहरु त कहिले अस्तित्व रक्षाका लागि गरिने अडान ।

लामो समयदेखि देखिँदै आएको पात्र देखिन छाडेको छ । लाग्थ्यो सबै उसैको हो । ऊविना संसार नै नचल्ने जस्तो । यस्तो सोचले मस्तिष्कमा घर गरेपछि सधैं समान लाग्ने सोच व्याप्त नै हुनेरहेछ । कमजोरीको मुख्य विषय नै यही रहेछ । विगतको पुनरावृत्ति पनि निश्चित अवधिमा नै हटाइदिन पाए पनि हुने नि ! जसले वर्तमानमा बाँच्न दिँदैन, विगतलाई सच्चाउन सकिँदैन, मात्र भविष्य नै अन्धकार बनाइदिन्छ । साँच्चै यस्तो आभास क-कसलाई होला ?

पृथक खोज्ने, पहिचान र उपलबधतामा जीवन सोच्ने सोचले अन्ततः महत्वाकांक्षाको भारीले कहिल्यै उठ्न नसक्ने गरी बजार्‍यो । कहिलेकाहीं त लाग्छ, यो पल नै रोकौं, जहाँबाट शिथिल जीवनमा उमंग छरौं । तर, त्यो त केही समयको दिवासपनामात्र बनिदियो ।

फुलेको कपाल, चाउरिएको गाला र धुमिल देखिने आँखाका बीचमा भएको विगतको पुनरावृत्तिले कहिले छोड्ला ? आफैंमा हुने हीनताबोध र ग्लानीले जीवन कहिलेसम्म रहला ? पृथक खोज्ने, पहिचान र उपलबधतामा जीवन सोच्ने सोचले अन्ततः महत्वाकांक्षाको भारीले कहिल्यै उठ्न नसक्ने गरी बजार्‍यो । कहिलेकाहीं त लाग्छ, यो पल नै रोकौं, जहाँबाट शिथिल जीवनमा उमंग छरौं । तर, त्यो त केही समयको दिवासपनामात्र बनिदियो । आत्मानुभूतिले यथार्थबोध गराए तापनि जुर्मराएको इच्छाशक्ति केही पलमा नै धूलिसात बनिदियो । विगतको जस्तो महत्वाकांक्षाको उन्माद जस्तो थिएन । शिथिलताको पहाडले पाइला नै नचालू जस्तै ।

अवशेषको परिभाषा पनि कस्तो ? कहिल्यै शेष नहुने, मस्तिष्कमा पुनरावृत्ति भइरहने । हरेक कुरा अर्थहीन र गतिहीन । टाल्दाटाल्दै नसकिने प्वालहरुले कति समय नयाँ पुस्ताहरुलाई पिरोल्ने होला ? दिनको प्रकाशमा पनि असमानता देख्ने सोचको हावी भएपछि पीडा स्वाभाविक हुनेरहेछ । देखिने मुहारमा पनि अस्पष्टता, अनुहारको भावले सिङ्गो जीवन नै चित्रण गरिदियो । लाग्छ, त्यो अनुहार नै सिंगो सृष्टि हो । जहाँ पूर्णता पाइन्छ । त्यही गन्तव्य, त्यही बाटो, बाटोमा देखिएको धूलोले पनि प्रश्न सोधे जस्तो । गिज्जाइरहे जस्तो । हिजो देखिएको पात्र, नदेखिँदा असंख्य प्रश्नहरु तेस्रिरह्यो । लाग्थ्यो, सधैं देखिरहुँ जस्तो, नियतिको अगाडि लाचार हुनुको विकल्प रहेनछ । त्यही विकल्पविहीन यात्राको यात्रु बनेर खिया लागेको लगेसको आड लिएर कुटीतर्फ अनवरत रुपमा पाइलाहरु लम्किरहे ।

सत्यभित्र पनि अनुकूल खोज्ने सोच जीवनमा सबैभन्दा घातक रहेछ । बुझाइको अस्पष्टतामा पूर्णता खोज्ने सोचहरु निर्लज्जताका साथ पलपल प्रकट भइरहे । धिमा गतिमा सुस्त बगेको हावाले पनि कानमा आएर सोधिदियो, मैले लाचारी प्रकट गरिरहें । लाचारीको पनि हद हुँदोरहेछ, लाचारी नै लजायो ।

भीडको जीवन छाडेर एकान्त नै मीठो लाग्न थालेको छ । मिठासको परिभाषा पनि अनुकूलको खोजिरहेको छु । अनुकूल खोज्ने क्रममा आइपरेका समस्याभित्र पनि महत्वाकांक्षाको पहाड । घरको डिलमा आएर कराउने काग पनि हिजोको थिएन, भौतिक रुप र स्वभावमा नै फरक । लाग्थ्यो, उसले पनि निरन्तरताका अथक प्रयास गरिरहेछ । त्यही अथक लाइनमा लामबद्ध बनिरहेछु, जहाँ महत्वाकांक्षाको पर्खालभित्र असंख्य पूरा नहुने पीडा मिश्रित सपना नयनमा लिपिबद्ध छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *